गोरक्ष समाचारदाता
दाङ, ६ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनका क्रममा दाङमा आगजनीबाट प्रभावित कार्यालयहरूको अनुगमन गरेका छन् । आइतवार तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा आगजनीबाट प्रभावित कार्यालयहरूको मुख्यमन्त्री आचार्यले अनुगमन गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका, उच्च अदालतदेखि आगजनीमा परेका सबै सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालयमा पुगेर अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले टेन्ट टाँगेर भए पनि सेवा प्रवाहलाई अगाडि बढाइने बताए । उनले कर्मचारी र सेवाग्राहीको मनोबल उच्च बनाउन अनुगमन सुरु गरेको जानकारी दिए ।
‘जेन–जीको नाममा घुसपैठ गरेर राज्यलाई नै समाप्त गर्ने गरी आगजनी गरियो । यो घटनाले ठुलो नोक्सानी भएको छ’, सञ्चारकर्मी सँगको कुराकानीमा मुख्यमन्त्री आचार्यले भने, ‘प्रत्यक्ष नागरिकको दैनिक कामसँग जोडिएका कार्यालय खरानी भएका छन् । जसबाट सेवा प्रवाह गर्न कठिनाइ हुने निश्चित छ । मालपोत कार्यालय, नापी कार्यालय जलेका छन् । ती कार्यालय जल्दा धेरै महत्वपूर्ण कागजपत्र पनि खरानी बने । अब पुनः कागजपत्र बनाउन दुःख हुने देखिन्छ ।’
राज्यलाई कमजोर पार्ने गरी भएको आगजनीले कसैलाई फाइदा नहुने बताए । ‘टेन्ट टाँगेरै भए पनि सेवा अगाडि बढाउनुपर्छ भनेर हामीले भनिरहेका छौँ । सबै कार्यालयमा पुगेर कर्मचारीहरूको मनोबल उठाउने र सेवाग्राहीलाई कसरी सेवा पु¥याउन सकिन्छ भन्ने छलफललाई पनि केन्द्रित गरेर अघि बढिरहेका छौँ’, उनको भनाइ थियो ।
जेन–जीको नाममा घुसपैठ गरेर सरकारी सम्पत्तिको विनाश मच्चाउने काम भएको भन्दै मुख्यमन्त्री आचार्यले निन्दा गरेका थिए । अनुगमनमा दाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सरोकारवाला पक्षलगायतको उपस्थिति थियो ।
मुख्यमन्त्री आचार्यले तुलसीपुर उपमहानगरपालिका, उच्च अदालत तुलसीपुर, उच्च सरकारी वकिलको कार्यालय, पार्टी कार्यालय, कोमल रिसोर्ट, मालपोत कार्यालय, लोक सेवा आयोग, आन्तरिक राजस्व कार्यालय, भू तथा जलाधारलगायतका कार्यालयको अनुगमन गरेका थिए ।
भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा एक य ३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपात भएको थियो । आन्दोलनका क्रममा ६७ निजी सम्पत्तिमा तोडफोड, ५२ राजनीतिक दलका पार्टी कार्यालय र १४ वटा प्रहरी इकाइमा आगजनी तथा तोडफोड भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आन्दोलनका क्रममा लुम्बिनी प्रदेश अन्तर्गत सबैभन्दा बढी क्षति दाङ जिल्लामा भएको छ । जसमा ७० वटा संरचनामा तोडफोड र आगजनी गरिएको विवरण प्रहरीले यस अघि नै सार्वजनिक गरेको थियो ।