मेट्रो कलेजका विद्यार्थीले गाउँगाउँमा सिप सिकाउँदै

गोरक्ष समाचारदाता
तुलसीपुर, ६ असोज । तुलसीपुर मेट्रो कलेजमा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययन गर्ने नरेन्द्र बस्नेत १५ दिन जति रोल्पाको थबाङ बसे । उनले त्यहाँ रहँदा स्थानीय युवालाई विद्युत मर्मतसम्बन्धी आधारभूत तालिम दिए ।

कलेजमा परीक्षा पनि सकिएको र दसैँका लागि समय बचेको हुनाले बस्नेतले थवाङ पुगेर करिब ३० जना जति युवाहरूलाई विद्युत मर्मत सम्बन्धि तालिम दिएका हुन् । ‘स्थानीय युवाहरूले विद्युत मर्मतका लागि चासो दिएको भन्ने थाहा पाएर हामीले त्यहाँ पुगेर तालिम दिएका हौँ’, प्रशिक्षक बस्नेतले भने । उनले तालिम पश्चात् गाउँघरका सानातिना समस्या समाधान गर्न सक्ने जानकारी दिए ।

विद्यार्थीले अध्ययन पूरा गरिसकेपछि आफूले सिकेको सिपलाई विभिन्न ठाउँमा पुगेर सिकाउनु पर्ने गरी कलेजले योजना बनाएको कलेज प्रमुख वसन्त आचार्यले बताए ।

‘हामीले विद्यार्थीलाई स्वतःस्फुर्त रूपमा नै यसरी विभिन्न ठाउँमा सिप सिकाउनका लागि पठाउने गरेका छौँ’, कलेज प्रमुख आचार्यले भने । उनले विभिन्न विषय अध्ययन गरिरहेका विद्यार्थीलाई गाउँगाउँ पठाउने गरी विद्यालयले योजना बनाएको समेत बताए । थवाङका युवाहरूलाई आत्मनिर्भर बनाउन कलेजको पहलमा कार्यक्रमको आयोजना गरिएको हो ।

स्थानीय वीर बलभद्र माविमा अध्ययनरत विद्यार्थीहरू तालिममा सहभागी भएका थिए । तालिमपछि केही गर्न सकिन्छ भन्ने सोच आएको थवाङ गाउँपालिका–१ की महिमा घर्तीले बताइन् । उनले सिकेको सिपलाई गाउँघरमा प्रयोग गरिने बताइन् ।

‘अहिलेको नयाँ प्रविधि आएको छ । हामीले सबै कुरा सिक्यौँ भने मात्रै आत्मनिर्भर हुन सक्छौँ’, भूमे गाउँपालिका–७ पूर्वी रुकुमकी भावना बुढाले बताइन् । अहिलेका लागि आधारभूत तालिम प्रदान गरे पनि विद्यार्थीको आवश्यकता अनुसार थप तालिम प्रदान गरिने प्रशिक्षक सुशान्त परियारले बताए ।