गोरक्ष समाचारदाता
दाङ ५ असोज । पूर्वमन्त्री एवम् पूर्व राजदुत हिरयण्लाल श्रेष्ठले आउँदो निर्वाचन राजनीतिक दलहरूका लागि जनअदालत भएको बताएका छन् । जेन–जी आन्दोलनले नयाँ परिस्थिति निर्माण गरेको र अब देशले नयाँ गति र भाव समात्ने विश्वास गर्दै उनले निर्वाचनमार्फत् देश नयाँ मार्गमा हिड्ने बताएका छन् ।
बरिष्ठ पत्रकार एवम् साहित्यकार नारायणप्रसाद शर्माको आत्मकथा ‘जीवन प्रवाह’ विमोचन कार्यक्रममा बोल्दै श्रेष्ठले भने, ‘तर त्यो निर्वाचनमा सबै दलले प्रतिस्पर्धा गर्ने अवसर सुनिश्चितता हुनुपर्छ, त्यो निर्वाचन जनअदालत हो, निर्वाचनमार्फत् अब जनताले छिनोफाने गर्नेछन् ।’ मुलुकमा भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा जेन–जी आन्दोन भएको चर्चा गर्दै उनले अहिलेको निर्वाचन प्रणाली नै भ्रष्टाचारको स्रोत भएको टिप्पणी गरे ।
‘अब निर्वाचन प्रणालीमा सुधार हुनुपर्छ, गरिबको छोरो पनि चुनाव लड्न सक्ने वातावरण बनाउनुपर्छ’, उनले भने, ‘अब पार्टी तथा उम्मेदवारका घोषणापत्र गोरखापत्र, नेपाल टेलिभिजन र रेडियो नेपालजस्ता माध्यमबाट सार्वजनिक गर्ने र वडा, पालिका र जिल्लाले उम्मेदवारलाई आफ्ना कुरा राख्न कार्यक्रम आयोजना गरिदिने हो भने चुनावको खर्च घट्छ ।’
उनले अबको निर्वाचनमा जेन–जी समूहको समेत सहभागिता गराउनका लागि १६ वर्ष उमेरकाले पनि मतदान गर्न पाउनुपर्ने धारणा राखे । ‘यसो गर्दा नयाँ पुस्ताको भावना पनि निर्वाचनमार्फत प्रकट हुने अवसर पाउँछ’, उनले भने । जेन–जी समूहको आन्दोलनबाट उत्साहित देखिएका उनले भने, ‘हामी विचार र भावनामा जेन–जी हौँ । अहिलेको जेन–जी आन्दोलनले छोटो समयमा विश्वमै सफल भएको आन्दोलनको रूपमा रेकर्ड स्थापित गरेको छ । गोली हान्ने आदेश दिने शासकहरूलाई आम हत्याको मुद्दा चलाउनुपर्छ । परिवर्तनलाई संस्थागत गर्ने र राजनीतिमा पुस्तान्तरण गर्ने बेला आएको छ ।’
देशभित्रै बस्न पाउने चाहना राख्ने जेन–जी सच्चा राष्ट्रवादी भएको भन्दै उनले भ्रष्टाचारमुक्त नेपाल बनाउन जेनजीलाई सबैको साथ र सहयोग हुनुपर्ने बताए । शनिवार घोराहीमा भएको पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि स्काइ फाउन्डेसनका अध्यक्ष एवम् विपस्यना साधक दोर्जी छिरिङ शेर्पालगायतका अतिथिहरूले सामूहिक रूपमा कृतिको विमोचन गरेका थिए ।
शर्माद्वारा लिखित पुस्तक उनको जीवनको भोगाइ समेटिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेर्पाले विपश्यनाले मानिसलाई जीवनको यथार्थबोध गराउने उल्लेख गर्दै विपश्यना धर्म नभई सबै धर्मावलम्बीले शान्तिका लागि गर्ने ध्यान भएको बताएका थिए । उनले एक सय वर्षको नजिक पुगेका नारायण गुरुको सक्रियता सबैका लागि प्रेरणादायी रहेको भन्दै दाङमा गुरुकै अग्रसरतामा ध्यान केन्द्र सञ्चालन भइरहेको बताए । समाजमा शान्ति स्थापनाका लागि विपश्यना हरेक नागरिकलाई आवश्यक रहेको बताएका थिए ।
समाजसेवी एकराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तक लेखक एवम् प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, पत्रकार नारायण पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पुस्तकका सम्पादक डा. टीकाराम उदासीले पुस्तकबारे जानकारी गराएका थिए । नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी आचार्यको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण पुस्तक प्रकाशक बिएन पुस्तक संसारका निर्देशक सूर्य बिसीले गरेका थिए ।