गोरक्ष समाचारदाता
दाङ, ५ असोज । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा प्रेस युनियनका केन्द्रीय सल्लाहकार विपुल पोख्रेलले जेन–जी आन्दोलनलाई सामाजिक न्यायको लागि भएको आन्दोलन भनेका छन् । उनले यो आन्दोलनलाई राजनीतिक रङ दिएर सामाजिक न्यायका मुद्दाहरू अलपत्र पर्छन् कि भन्ने कुरामा पत्रकारिता क्षेत्र सचेत हुनुपर्ने बताए ।
‘भ्रष्टाचारको विरोध, सुशासन, अवसर तथा वितरणमा समानता, स्रोतसाधनमाथि सीमित वर्ग र समूहको पहुँचको अन्त्य जस्ता सामाजिक न्यायका सवालहरू नै जेन–जी आन्दोलनको अभिष्ट हो’, पोख्रेलले भने, ‘अब यी सवालहरूलाई सम्बोधन गर्नका लागि पत्रकारिता क्षेत्रले निरन्तर खबरदारी गर्नुपर्छ ।’
राजनीतिक शक्तिहरूले यो आन्दोलनको फाइदा उठाउँदै आफ्नो राजनीतिक लाभ लिने खतरातर्फ पनि पोख्रेलले सङ्केत गरे । उनले भने, ‘यो आन्दोलन सामाजिक न्यायका लागि भएको हो भन्नेमा पत्रकारिता क्षेत्र प्रस्ट हुनुपर्छ, अहिले सत्ता उलटपुलटमा मात्र यसलाई सीमित गरी सामाजिक न्यायका मुद्दालाई ओझेल पार्ने खतरा देखिँदै छ ।’
नेपाल प्रेस युनियन दाङको शनिवार घोराहीमा बसेको बैठकलाई सम्बोधन गर्दै पोख्रेलले वर्तमान संविधानको रक्षाका लागि नेपाली पत्रकारिता क्षेत्रले गंभिरताका साथ भूमिका खेल्न पर्ने पनि बताए । यो संविधानको महत्वपूर्ण स्टेकहोल्डर नेपालको पत्रकारिता क्षेत्र भएको चर्चा गर्दै उनले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको सुनिश्चितता सहितको लोकतन्त्रलाई संस्थागत गरेको यो संविधानको रक्षामा उभिन अपिल गरे । पोख्रेलले पत्रकारहरूले विषयम परिस्थितिमा नागरिकलाई सही जानकारीसँगै लोकतन्त्र बचाउनका लागि जिम्मेवार र जनकार हुनुपर्ने पनि बताए । पोख्रेलले भने, ‘पत्रकारहरूको अहिलेका प्रमुख उद्देश्य भनेको फागुन २१ गते नै निर्वाचन हुनुपर्छ भन्ने नै हो । त्यो भएन भने लोकतन्त्रसँगै नागरिक स्वतन्त्रता हराउने छ ।’
बैठकमा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमले प्रेस युनियनको सदस्यता नविकरण कार्यलाई समयमै सम्पन्न गर्ने गरी लाग्नुपर्ने बताइन् । उनले जेन–जी आन्दोलनका क्रममा सरकारी कार्यलयमा भएको तोडफोड र आगजनीका घटनाले सञ्चारकर्मीसँगै सञ्चार माध्यममा समेत असर पर्ने देखिएको बताइन् ।
कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष डा सुदीप गौतमले युनियनको सदस्य नवीकरणलाई समयमै सम्पन्न गर्ने गरी लाग्न निर्देशन दिँदै युनियनलाई संगठित बनाउँदै सदस्यताको क्षमता विकासमा ध्यान दिन आग्रह गरे । त्यसका लागि युनियनले विभिन्न तालिमसँगै क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।
यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष तथा नेपाल प्रेस युनियन दाङका सल्लाहकार सन्तोष सुवेदीले युनियनले नयाँ पत्रकार उत्पादनसँगै सदस्यता नविकरणलाई प्राथमिकता दिन आग्रह गरेका थिए । प्रेस युनियन दाङका पूर्वअध्यक्ष एवम् सल्लाहकार सुशील बस्नेतले प्रेस युनियनलाई चलायमानसँगै सदस्य वृद्धिका लागि जिल्ला तहदेखि जिल्लाका १० वटै स्थानीय तहसम्मै गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।
प्रेस युनियन दाङका पूर्व सचिव आरके शीतलले प्रेस युनियन केन्द्रले थालेको विशेष सदस्यता अभियान अन्तर्गत नविकरण र नयाँ सदस्यता वितरण गर्ने कार्यलाई प्राथमिकता राख्दै नयाँ कार्यसमितिले कार्यक्रमलाई जिल्लालाई व्यापक रूपमा सञ्चालन गर्नुपर्ने बताए ।
यसैबिच नेपाल नेपाल प्रेस युनियन दाङले घोराहीमा दसैँमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । नेपाल प्रेस युनिय दाङको शनिवार घोराहीमा बसेको बैठकले असोज १२ गते आइतवार घोराहीमा दसैँमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।
प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको बैठकले नेपाल प्रेस युनियन केन्द्रको परिपत्र अनुसार प्रेस युनियनको सदस्यता नविकरण दाङमा कात्तिक १५ गतेसम्म गरिसक्ने निर्णय गरेको छ । बैठकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा जिल्लाका सञ्चार माध्यम र सञ्चारकर्मीमाथि भएका घट्नाको प्रतिवेदन तयार गर्ने निर्णय गरेको प्रेस युनियन दाङका सचिव अमरक्षितिज भण्डारीले जानकारी दिएका छन् ।
सचिव भण्डारीका अनुसार बैठकले प्रेस युनियन दाङका कार्यसमिति सदस्य प्रकाश केसीको जेन–जी आन्दोलनका क्रममा मोटरसाइकलमाथि भएको आगजनीप्रति दुःख व्यक्त गर्दै देशभर सञ्चार माध्यम र सञ्चारकर्मीप्रति भएको तोडफोड, आक्रमण र अभद्र व्यवहारका घट्नाको भ्रत्र्सना गरेको छ । जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अपूर्ण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।