को थिए शान्तिपूर्ण आन्दोलनमा ध्वंस रच्नेहरू

के.पी. सुवेदी

फेरि पनि लेख्नलाई उपयुक्त विषय २०८२ भाद्र २३ गतेदेखि सुरु भएर ४८ घण्टा नपुग्दै सत्ताको जरैदेखि उखेल्न र देशलाई धुवाँ र खरानीमा बदल्न सफल भयो । यसलाई नाम दिइएको छ ‘जेन–जी पुस्ताको भ्रष्टाचार विरोधी र सुशासन कायम गर्न माग गर्दै गरिएको आन्दोलन’ ।

अब गम्भीरतापूर्वक प्रश्नैप्रश्नको चाङ लगाएर विश्राम गरेको यो आन्दोलन आफ्नो पूर्वघोषित उद्देश्य पूरा ग¥यो कि गरेन ? यसले आन्दोलन स्थगित गरेको हो कि फिर्ता ल्याएको हो ? बिचैमा तुहाएको हो कि सम्झौतामा टुङ्गिएको हो ? कहीँकतै कुरा आएन । आन्दोलनकारीलाई सेनापतिले वार्तामा आउन भनेको सुनिएको हो तर सरकारको आधिकारिक निकाय कुन हो ?

सरकारले हात उठाएर बाटो छोडे पछिको जिम्मेवार हुनुपर्ने हो ? यी प्रश्नहरु पनि अनुत्तरित छन् । राष्ट्रपतिलाई राजीना माग गर्न दबाब दिइरहेको भन्ने समाचार २४ गते साँझ नै आइसकेको थियो । प्रतिगमनकारीले खुलेर समर्थन गर्दै आफ्नो पनि सहभागिता रहने कुरा गरेका हुँदा संविधान कुल्चेर राष्ट्रपतिलाई नजरबन्दमा राख्ने कसरतमा सेनालाई उक्साइरहेको कुरा सामाजिक सञ्जाल भरिँदै थियो र राष्ट्रपति कार्यालयको पछिल्लो प्रेस विज्ञप्तिको भाषाले यो आशङ्कालाई पुष्टि गरेको छ ।

त्यसैले राष्टपतिको अडान संविधानको अक्षरलाई बेवास्ता गरेर भए पनि मर्म र भावनालाई बचाइएको भन्न सबै बाध्य भए । यही रस्साकस्सी चलिरहँदा नेपाली सेनाप्रति कटु टिप्पणीहरु सार्वजनिक भए । कति जनाले नेपाली सेना जनताको सेना हुन नसकेको टिप्पणी गरेका छन् । यसैबिच नमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले एक कदम अघि बढेर सिंहदरबार जलाउने सेना नै हो भनेर सार्वजनिक कार्यक्रममा भनेका छन् ।

त्यतिले मात्र नभएर विदेशीको खटनपटनमा चल्न थालेको आरोप उनले लगाएका छन् । आशा गरौँ, समयले यसलाई स्पष्ट गरेरै छोड्छ । अहिलेलाई नेपाली सेनाले संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्र बचाउने राष्ट्रपतिको अथक प्रयासलाई सघाएको छ । बिचमा के भयो त्यसलाई गम्भीरतापूर्वक मनन् गर्दै पछिल्लो घटनाले सबैलाई सतर्क रहन सुझाएको छ ।

जेन–जी भनिएको पुस्ताले चलाएको भनिएको आन्दोलन वास्तवमा उनीहरुले नै चलाएका थिए त ? उनीहरुका माग सुरुमै जे थिए, उनै माग पूरा गर्न २४ गतेको विध्वंस गरेका थिय ? कि उनीहरुको भनिएको आन्दोलन अर्कैले अपहरण गरेर कब्जा गरे ? जसरी भिन्न–भिन्न स्वार्थ समूहको सङ्गम बनेर विध्वंसक बन्न पुग्यो, त्यसैगरी क्षेत्रसँग सम्बन्धित राष्ट्रिय सम्पत्तिमा तोडफोड र आगजनी भयो ।

भाद्र २४ गते सडकमा पोखिएको ताण्डव नृत्य साँचै नेपाली मन र मुटुले कल्पना गर्न असम्भव लाग्छ । यस बारेमा धेरै मानिसहरु बोल्न डराइरहेका देखिन्छन् । यो अक्षम्य गल्ती हो र यसका सूत्रधार जोसुकै होस् त्यसलाई आन्दोलनको जामा पहि¥याएर क्षमा गरियो वा परिवर्तनको अदम्य शाहसको उपमा जोडेर नजरअन्दाज गरिएको अवस्थामा यो मुलकको अस्तित्व सङ्कटमा पर्छ । यो भन्न डराइरहेका काँतरहरुको कुरा छोडिदिऔँ ।

डराउनेहरु केही न केही बिराएकाहरु हुन सक्छन् तर ‘नबिराउनु नडराउनु’ भन्ने नेपाली उखान एउटा दिव्योपदेश सम्झिनुपर्छ र गल्ती औल्याएर गल्ती गर्नेलाई न्यायको कठघरामा उभ्याउन राज्यलाई दबाब दिनुपर्छ । हामीले माओवादीको १० वर्षे सशस्त्र विद्रोह व्यहोरेको हो । घरघरमा आतङ्क सिर्जना गर्दा फेरि कहिलै शान्तिले श्वास फेर्न पाइएला कि नपाइएला भन्ने आशङ्काले दिनरात चिमोट्थ्यो । उनीहरुले भन्ने गर्थे ‘पुरानो त भत्काउनैपर्छ हाम्रो सत्ता आयो भने नयाँ र समृद्ध नेपाल बन्छ’, तर भत्काउन जति सजिलो छ बनाउन त्यति सजिलो कहाँ हुन्छ र ?

अहिले ध्वंसमा सहभागी भएका र कसैको इष्र्याले त्यसलाई सही हो भनेर आत्मरतीमा रमाइरहेका दुवैथरि यो देशको लागि, समाजका लागि र मानव सभ्यताका लागि कलङ्क हुन् । किनभने त्यो भत्काएर खण्डहर बनाएको वा जलाएर खरानी पारेको सम्पत्ति नेपाली जनताको रगतपसिनाबाट बनेको हो । त्यहाँ हाम्रो इतिहासको बहुमूल्य पहिचान र पुँजी जलेको छ । विदेशी पर्यटकहरु लोभिने अमूल्य रत्न जलेको छ । हाम्रो सहनशीलता, सहिष्णुता र विवेकपूर्ण निर्णय क्षमता खरानी पारिएको छ ।

जेन–जी पुस्ताका केही व्यक्ति र तिनका अन्धानुकरण गरेर आधुनिक विज्ञानवादका अनुयायी भनौन चाहनेले भनिरहेका छन् कि ‘उनीहरु विज्ञान प्रविधिबाट युक्त, चमत्कारिक क्षमताले भरपुर छन् । उनीहरुले निर्माणमा चमत्कार देखाउन सक्छन्’ तर उनीहरुलाई यति त ज्ञान होस् कि बनाउन पुँजी वा भौतिक साधन र किन्नलाई पैसा नभइ हुँदैन । निजी घर र सरसामान, गाडी जलाएर भ्रष्टाचारी निरुत्साहित भए होलान् तर सरकारी घरहरु, न्यायालयहरु, अख्तियारका कार्यालयहरु जलाउँदा अपराधी र भ्रष्टाचारीलाई लाभ भयो ।

व्यक्तिगत सम्पत्ति जलाउने र लुट्ने काम जतिसुकै सफाइ दिए पनि ठिक गरेको ठहर्न सक्तैन । तै पनि लुटेको सामान उपभोग हुने र परिस्थितिले सम्बन्धित हकवालालाई फिर्ता गर्न सकिन्छ भन्ने देखियो पनि तर जलाएर खरानी पारेको सम्पत्तिको क्षतिपूर्ति कसरी हुन्छ र नयाँ जोड्न कसैले सित्तैमा दिनसक्छ ?

भ्रष्टाचारको विरोध गर्ने वहानामा जेल फोडेर गम्भीर अपराधी प्रमाणित कैदीहरुलाई छुटाएर हिंसात्मक प्रदर्शन गराइएको रहस्य पत्ता लाग्दैछन् । त्यस्तै अपराधीहरुको सहयोगमा प्रहरीमाथि साङ्घातिक आक्रमण गरेर हत्या गरिएको, हतियार खोसिएको रहेछ । जसका कारण प्रहरी सुरक्षा दिन असमर्थ भएको भनिन्छ ।

व्यक्तिहरुमाथि अमानवीय घटना गराएको छ । कुनै प्रकारले पनि प्राप्त पदको दुरुपयोग नगरेका इमानदार नागरिक र जनप्रतिनिधिको सम्पत्ति जलाएर घरविहीन बनाएको छ । यस अगाडि भन्ने गरिएको राजनीतिक प्रतिशोध जेन–जीको आडमा उनीहरुको आन्दोलनलाई साथ र समर्थक गर्ने घोषणा गरेका वा नगरिक नै धमिलो पानीमा माछा मार्न पल्केकाबाट गरिएको आततायी कार्यको जति निन्दा गरे पनि कम हुन्छ ।

जेन–जी समूह भनेको असङ्गठित जमात हो र उनीहरुको आन्दोलन असङ्गठित तर सामूहिक सरसल्लाहबाट गरिएको विद्रोह हो । त्यसलाई अपराधी चरित्र भएका राजनीतिक र गैह्रराजनीतिक समूहहरुको घुसपैठद्वारा गराइएका आपराधिक घटनाको निष्पक्ष छानबिन हुनुपर्छ । भदौ २३ पहिलो दिन अत्यधिक बल प्रयोग भएको घटनामा स्वचालित हतियार प्रयोग भएको चर्चा चलेको छ ।

को सँग हुन्छ त्यस्तो हतियार ? त्यहाँ पनि माथिको आदेशमा चलेको हो या त्यहाँबाट षडयन्त्रको सुरुवात भएको हो ? यी सबै कुरा छर्लङ्ग पारिनु आवश्यक छ । यसलाई गम्भीरतापूर्वक लिइएन भने हाम्रो परिचय जेल फोडेर राज्यको हतियार खोस्ने आतङ्ककारीको परिचय संसारभरि छापिने छ र नेपाल सबैभन्दा असुरक्षित मुलुकको रुपमा हेर्न थालिनेछ ।