आचरण नै संस्कार हो

मनोज पौडेल

पारिवारिक संस्कारको कुरा गर्दा सबैभन्दा पहिले परिवारको वास्तविक अर्थ बुझ्न जरुरी छ । परिवार केवल भौतिक घर मात्र होइन, जीवनको पहिलो विद्यालय पनि हो ।

जन्मदेखि मृत्युसम्मको हाम्रो यात्रामा जे अनुभव हुन्छ, त्यसको गहिरो छाप घरको वातावरणले पार्छ । हरेक बालबालिका आमाबुबाको बोलीभन्दा धेरै उनीहरूको चालचलन, आपसी सम्बन्धको शैली र समस्या सुल्झाउने तरिकाबाट नै पाठ सिक्छन् । शब्दले भन्दा व्यवहारले सिकाउने शक्ति असाधारण छ । बालबालिकाले आमाबुबाको बोली मात्र सुन्दैनन्, उनीहरू निरन्तर हाम्रो दैनिकी हेर्छन् । हामी कसरी प्रेम गर्छौं, कसरी रिसाउँछौं, कसरी मतभेद मिलाउँछौं, कसरी एक–अर्कालाई सम्मान गर्छौं वा बेवास्ता गर्छौं । यी सबै कुराले उनीहरूको सोचमा गहिरो छाप छोड्छ ।

जब बुवाआमासँग चर्को स्वरमा कुरा गर्छन्, बच्चाले अवचेतनमै “पतिको पत्नीप्रतिको व्यवहार यस्तै हुनुपर्छ” भन्ने सन्देश पाउँछन् । जब आमाबाबासँग असम्मानजनक व्यवहार गर्छिन्, छोराछोरीले त्यही ढाँचालाई सामान्य ठान्छन् । यसरी हरेक दिनको व्यवहारले उनीहरूको भविष्यको वैवाहिक सम्बन्धको खाका कोर्छ । बालबालिकाले हाम्रो उपदेशलाई कहिलेकाहीँ नजरअन्दाज गर्न सक्छन्, तर हाम्रो व्यवहारलाई कहिल्यै बेवास्ता गर्दैनन् ।

त्यसैले हामीले आफ्नो जीवनसाथीसँग जस्तो व्यवहार गर्छौं, भोलिका दिनमा हाम्रो सन्तानले पनि आफ्ना सम्बन्धमा त्यस्तै व्यवहारको कल्पना गर्नेछन् । यदि हामीले सम्मान, माया, सहकार्य र बराबरी देखायौं भने उनीहरूले पनि आफ्ना सम्बन्धमा त्यही मूल्यलाई प्राथमिकता दिनेछन् ।

तर घरमा निरन्तर कलह, नियन्त्रण, कराउने बानी र शंका मात्रै छ भने उनीहरूले पनि त्यही ढाँचालाई सामान्य ठान्ने सम्भावना प्रबल हुन्छ । यसमा केवल व्यक्तिगत दोष मात्र छैन । हामीमध्ये धेरैजना आफ्ना परिवारमा हुर्कँदा देखेको व्यवहारको प्रतिरूप बोक्दै ठूलो हुन्छौं । हाम्रो बाल्यकालमा आमाबाबुले जसरी व्यवहार गर्नुभयो, त्यो हामीले अवचेतनमै सिक्यौं । त्यसैले आज हामी आफ्नै परिवारमा त्यही शैली दोहोर्याइरहेका छौं भने मात्र हाम्रो गल्ती होइन, यो संस्कारको प्राकृतिक पुनरावृत्ति हो । तर यो बुझेर मात्र पुग्दैन, सचेत प्रयास आवश्यक छ ।

यदि हाम्रा घरमा आपसी सम्मान, माया र समझदारीको अभ्यास भयो भने हामी सहजै त्यही गुण आफ्ना सम्बन्धमा ल्याउँछौं । तर यदि घरमा हिंसा, कर, अपमान, शंका र अकारण नियन्त्रण हावी थियो भने, ती बानीहरूलाई सामान्य सम्झेर हामी पनि दोहोर्याउने जोखिममा हुन्छौ ं। त्यसैले सुधारको पहिलो कदम आत्मबोध हो । आफूलाई प्रश्न गर्नुपर्छ—के म आफ्ना जीवन साथीसँग व्यवहार गर्दा मेरो बाल्यकालको नकारात्मक पैतृक बानी अनायासै दोहोर्याइरहेको छु ? विवाह भनेको दुई भिन्न संसारको मिलन हो ।

जुम्ल्याहा बच्चा एउटै आमाबुबाको कोखबाट एकै समयमा जन्मिंदा र घरमा हुर्किँदा सोच, व्यवहार, रुचि र प्रवृत्तिमा फरक हुन्छन् भने, दुई भिन्न समाज, संस्कृति, परिवार र वातावरणमा हुर्केका पति–पत्नीको सोच र स्वभाव फरक हुनु स्वाभाविक हो ।

समाजले महिला र पुरुषलाई आ–आफ्नो ढाँचामा ढाल्छ। महिला र पुरुषका लागि बनाइएका भूमिकाहरू, जिम्मेवारी र अपेक्षाहरू अलग–अलग हुन्छन् । उदाहरणका लागि, छोरीलाई सानैदेखि घरको काममा जोड दिइन्छ भने छोरालाई आर्थिक जिम्मेवारीको पाठ सिकाइन्छ । यस्तो पृष्ठभूमिबाट आएका दुई व्यक्तिको सोच र व्यवहार भिन्न हुनु अस्वाभाविक होइन । यस कारण “किन तिमी मेरो जस्तै सोच्दैनौ, मेरो जस्तै व्यवहार गर्दैनौ” भनेर अपेक्षा गर्नु अनुचित हुन्छ ।

फरक–फरक परिवेशमा हुर्केका दुई मानिस एउटै ढंगले सोच्छन् भन्ने अपेक्षा राख्नु नै सम्बन्धमा असन्तोषको मुख्य कारण हो। विवाहमा स–साना मतभेद हुनु स्वाभाविक हो, तर ती मतभेदलाई स्वीकार्न नसक्नु रोग हो । दैनिक जीवनका केही बानीहरू—जस्तै निरन्तर कराउने, अकारण रिसाउने, अनावश्यक शंका गर्ने, आफ्नै ढंगलाई मात्र सही ठान्ने, अरूसँग संवाद कटौती गर्ने—कसैलाई पनि मन पर्दैन ।
हामीलाई आफैंलाई यस्ता व्यवहार मन पर्दैन भने हाम्रो जीवनसाथीलाई किन मन पर्ला ? र भविष्यमा हाम्रो छोराछोरीले आफ्नो जीवनसाथीसँग त्यही व्यवहार किन दोहोर्याउन ? त्यसैले आफ्नै व्यवहारको मूल्यांकन गर्नुपर्छ । आफूले गरेका क्रियाकलापलाई तटस्थ दृष्टिले हेर्न सक्नुपर्छ ।

जब हामी रिसको बेला अनावश्यक कठोर शब्द प्रयोग गर्छौं, त्यसले घरको वातावरण कस्तो हुन्छ भन्नेबारे सोच्न जरुरी छ । हाम्रो एक क्रियाले बच्चाको मनमा कस्तो घाउ पारिरहेको छ भन्नेबारे सचेत हुनुपर्छ । कामको प्रकृति, पेशा, जिम्मेवारी र समय तालिकाले पनि पति–पत्नीको जीवनशैली फरक पार्छ । कसैको काम अत्यन्त व्यस्त हुन सक्छ, जसले परिवारलाई दिने समय सीमित हुन्छ । अर्काको समय अपेक्षाकृत लचिलो हुन सक्छ । यदि जीवनसाथीको व्यस्ततालाई व्यक्तिगत बेवास्ता भनेर बुझियो भने सम्बन्धमा अनावश्यक तनाव आउँछ । हामीले आफ्नो समय, सन्दर्भ र अवसरको आधारमा मात्र अरूको मूल्यांकन गर्न मिल्दैन । हाम्रो नजरले देखेको कुरा पूर्ण सत्य नहुन सक्छ । जसरी एउटा अंक कसैलाई ९ जस्तो देखिन्छ भने अर्कोलाई ६ जस्तो देख्न सक्छ, त्यसरी नै जीवनका धेरै प्रसङ्गमा दृष्टिकोण फरक हुन सक्छ ।

यो फरक दृष्टिकोणलाई स्वीकार्न सक्नु नै परिपक्वताको चिन्ह हो । सुधारको यात्रा आत्मसंवादबाट सुरु हुन्छ । आफैंलाई केही आधारभूत प्रश्न सोध्नुपर्छ—मैले आफ्ना जीवनसाथीसँग गर्ने व्यवहार के मैले आफूमा पाउन चाहेको व्यवहार हो ? के म चाहन्छु कि मेरो छोराले आफ्नो श्रीमतीसँग त्यही व्यवहार गरोस्? के म चाहन्छु कि मेरी छोरीले आफ्नो श्रीमानसँग त्यही व्यवहार गरोस ? यी प्रश्नको जवाफ असहज लाग्छ भने, सुधारको समय यही हो ।

आफ्नै आचरणलाई गहिरो निरीक्षण गर्नुपर्छ । दोष देख्न सजिलो हुन्छ तर आफ्नो गल्ती स्वीकार्न कठिन हुन्छ । तर परिवारको सुख, सन्तानको उज्ज्वल भविष्य र स्वस्थ सम्बन्धका लागि यो चुनौती स्वीकार्नै पर्छ । घरको वातावरण केवल वर्तमानको सन्तुष्टि होइन, भविष्यको मानसिक स्वास्थ्यको पनि आधार हो । बच्चाले आमाबाबुको आपसी सहयोग देखे भने उसमा सहकार्यको भावना बलियो हुन्छ । जब ऊ घरमा सम्मान र माया देख्छ, ऊ पनि अरूसँग सम्मानपूर्वक व्यवहार गर्न सिक्छ । तर जब घरमा निरन्तर झगडा, कठोर बोली, तुच्छ आरोप, आपसी अविश्वास हुन्छ, बच्चाको मनमा त्रास बस्छ । यस्तो अनुभवले भविष्यमा उसको सम्बन्धको दृष्टिकोण नकारात्मक बनाउँछ ।

त्यसैले घरलाई शान्त, प्रेमपूर्ण र सम्मानजनक बनाउनु केवल आमाबाबुको खुशीका लागि होइन, भावी पुस्ताको मानसिक सन्तुलनका लागि पनि आवश्यक छ । हाम्रो समाजमा अझै पनि लिङ्गिय पूर्वाग्रह गहिरो छ । पुरुष र महिलाको भूमिकाबारे तयार गरिएको सोच आज पनि हाम्रो व्यवहारमा छिरिरहेको छ । पुरुषलाई कमाउने, महिलालाई घर सम्हाल्ने, महिलाले बढी सम्झौता गर्ने जस्ता धारणाले सम्बन्धमा असमानता ल्याउँछ । तर आधुनिक युगले दुवैको जिम्मेवारी बराबर हुनुपर्ने सन्देश दिन्छ। आर्थिक निर्णय, घरको काम, बालबच्चाको हेरचाह, हरेक क्षेत्रमा आपसी सहयोग र बराबरी हुनुपर्छ ।

जब पति–पत्नीबीच भूमिकाको न्यायोचित बाँडफाँड हुन्छ, सम्बन्ध स्वतः सुदृढ हुन्छ । सम्बन्धलाई दीर्घकालीन र स्वस्थ राख्न केही साधारण तर गहिरा अभ्यास आवश्यक छन्। संवाद खुला राख्नु, फरक दृष्टिकोणलाई स्वीकार्नु, स–साना सहयोगको पनि धन्यवाद दिनु, गल्ती भएमा माफी माग्न सक्नु, आक्रोशभन्दा सहनशीलतालाई प्राथमिकता दिनु—यी सबै अभ्यासले पारिवारिक जीवनमा स्थिरता ल्याउँछन् । सम्बन्धको सार आपसी सम्मान हो। सम्मान बिना प्रेम पनि स्थायी हुँदैन ।

सम्मान भनेको साथीको सोचलाई महत्व दिनु, उसको समय र मेहनतलाई कदर गर्नु, उसलाई आफू जस्तै मूल्यवान ठान्नु हो । जब पति–पत्नीबीच यो आधार बलियो हुन्छ, तब स–साना मतभेदले घरको वातावरण बिगार्दैन । सम्बन्धलाई स्वस्थ राख्नु केवल व्यक्तिगत खुशीको कुरा होइन, नयाँ पुस्ताको मानसिक विकासको पनि आधार हो। बच्चाले जसरी आमाबाबुको सम्बन्ध देख्छ, त्यसको दीर्घकालीन प्रभाव उसकै वैवाहिक जीवनमा पर्छ ।

हाम्रा व्यवहारले उनीहरूलाई प्रेम, सम्मान, समझदारी र धैर्य सिकाउँछ या घृणा, अविश्वास र कठोरता सिकाउँछ, त्यो हाम्रो निर्णय हो । यस कारण हाम्रो घर भविष्यको विद्यालय हो ।
बच्चाले यहाँबाट सिकेका मूल्यले समाजको स्वरूप निर्धारण गर्छ। यदि हामीले आज सम्मान र प्रेमको संस्कार बसाल्न सक्यौं भने हाम्रो सन्तानले मात्र होइन, समग्र समाजले पनि सकारात्मक रूप पाउँछ । अन्ततः परिवारको संस्कार सुधार्ने काम बाहिरको कुनै शक्ति वा समयले गर्दैन; त्यो काम हामीले आफैंले गर्नुपर्ने होख । हाम्रो बोलीभन्दा हाम्रो व्यवहारको अर्थ धेरै हुन्छ ।

छोराछोरीले हाम्रो बोलीभन्दा हाम्रो दैनिकीबाट सिक्छन्। त्यसैले आजैदेखि घरमा माया, सम्मान र समझदारीको अभ्यास सुरु गरौं। हाम्रो वर्तमानको सचेत कदमले मात्र भविष्यको पुस्तालाई राम्रो संस्कारको उपहार दिन सक्छ । यदि हामीले आफ्नो जीवनसाथीसँग सम्मान र प्रेमको व्यवहार गर्यौं भने, भोलिका दिनमा हाम्रो छोराछोरीले पनि त्यही गुणको सम्बन्ध खोज्नेछन् । यदि हामीले संवाद र समझदारीको वातावरण सिर्जना गर्यौं भने, हाम्रो सन्तानले पनि जीवनको प्रत्येक सम्बन्धमा तिनै मूल्यलाई प्राथमिकता दिनेछन् ।

यसरी पारिवारिक संस्कार केवल व्यक्तिगत दायित्व होइन, सामाजिक जिम्मेवारी हो । हरेक व्यक्तिले आफ्नो घरलाई प्रेम, सहकार्य र सम्मानको केन्द्र बनाउन सके भने समाजमा स्थायी शान्ति र समृद्धि सम्भव छ । दोषारोपण होइन, आत्मसुधारबाट सुरु गरौं। आजको सचेत निर्णयले मात्र भोलिको पुस्तालाई उज्यालो बाटो देखाउन सक्छ ।