बालाराम खड्का
तुलसीपुर, ४ असोज । विपद् व्यवस्थापनका लागि अत्यावश्यक दमकल जलेर ध्वत भएपछि तुलसीपुर उपमहानगरपालिका दमकलविहीन भएको छ । जेन–जीको आन्दोलनका क्रममा प्रदर्शनकारीले दमकलमा आगो लगाई जलाइदिएपछि तुलसीपुर उपमहानगरपालिकालगायत अन्य तीन पालिका पनि दमकलविहीन बन्न पुगेका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाको दमकल नै पश्चिम दाङका शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकाका लागि पनि प्रयोग हुँदै आएको थियो । आगलागिबाट त्यो एउटा दमकल जलेपछि अब कहीँकतै आगलागी भयो भने दमकलको उपलब्धता कसरी हुने भन्ने चिन्ता त्यस क्षेत्रका सरोकारवालाले व्यक्त गरेका छन् । ‘अत्यावश्यक साधनका रूपमा गनिने दमकल जल्दा चिन्ता लागेको छ, अब तत्काल त्यसको विकल्प तयार गर्न आवश्यक छ’, बबई गाउँपालिकाको हापुरेका चमन केसीले भने, ‘तुलसीपुरको दमकलले हामीलाई केही हदसम्म ढुक्क गराएको थियो तर अब के होला भन्ने चिन्ता छ ।’
केही वर्ष पहिले नगरपालिकाले खरिद गरेको तीन हजार लिटर क्षमताको सो दमकल काम नलाग्ने गरी ध्वस्त भएको छ । त्यससँगै वैकल्पिक रूपमा जेटपम्प जोडेर पानी फाल्ने बनाएको ट्यक्टर पनि जेन–जीकै आन्दोलनका क्रममा जलेर ध्वस्त हुँदा थप समस्या उत्पन्न भएको छ । पालिकाका भवन तथा अन्य सवारी साधन जलाउँदा दमकल पनि प्रदर्शनका क्रममा जलाइएको थियो । विपद् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले पालिकामा भएको एउटा दमकल पहिले नै बिग्रिको र नयाँ दमकल पनि आगजनी हुन्दा जलेर ध्वस्त भएको बताए ।
यसैगरी अन्य विपद् व्यवस्थापनका सामग्री पनि सबै जलेको डाँगीले जानकारी दिए । ‘दमकलसहित अन्य विपद्का लागि आवश्यक सामग्री सबै जलेका छन्, भर्खरै प्रहरीलाई आवश्यक पर्ने सामग्री खरिद भएका थिए, वितरण गर्ने तयारी थियो तर जेन–जी आन्दोलनका क्रममा सबै जलेर खरानी भएका छन्’, डाँगीले भने । दाङलगायत छिमेकी जिल्लामा समेत विपद्का समयमा सहयोग गर्न जाने दमकल जलेपछि अब कसरी यसको व्यवस्थापन गर्ने भन्ने समस्या भएको छ । प्रमुख डाँगीले ट्याक्टरमा जडान गरिएको जेटपम्फ मर्मत गरेर विकल्प खोज्न सकिन्छ की भन्नेमा आफूहरू लागेको बताए ।
‘दमकलको इन्जिन सबै जलेको छ तर ्ट्याक्टर जले पनि पम्पको अवस्था जाँच गरेर मर्मत गर्ने सोच छ’, डाँगीले भने । दमकल खरिद गर्न तत्काल करिब ७५÷८० लाख रुपैयाँ आवश्यक पर्ने भएकाले विपद्का लागि आवश्यक दमकलको व्यवस्थान गर्न कठिन भएको उनले बताए । पालिकाका दमकलसहित विपद्का लागि विभिन्न संघसंस्थाबाट प्राप्त करोडौँका सामग्री जलेका छन् । पहिलो चरणमा कार्यालयमा अन्य भवनमा आगो लगाइए पनि सानो विपद् व्यवस्थापनका सामग्री राखेको भवनमा आगो नलागेको र पछि त्यो घर पनि प्रदर्शनकारीले आगो लगाइदिएको पालिकाले जनाएको छ ।
स्थानीयले अत्यावश्यक दमकललगायत अन्य भौतिक संरचनामा क्षति पु¥याउनु गलत भएको बताएका छन । ‘दमकल, खानेपानी एम्बुलेन्सलगायत जनताकै सम्पत्तिमा आगो लगाउनु गलत हो, सामान्य तोडफोड गर्नु आन्दोलनमा केही क्षति गरे पनि जेन–जीको नाममा सबै ध्वस्त पार्नु राम्रो काम अवश्य होइन’, एक स्थानीयले भने ।