‘संविधान बचाउने दायित्व कांग्रेसको’

गोरक्ष समाचारदाता
दाङ, ४ असोज । संविधान सभा सदस्य अनिता देवकोटाले नागरिकलाई संविधानको अपनत्व गराउँदै संविधानको संरक्षणमा कांग्रेसले ध्यान दिनुपर्ने बताएकी छिन् ।

संविधान दिवसको अवसरमा नेपाली कांग्रेस घोराही नगर कार्यसमितिले शुक्रवार घोराहीमा आयोजना गरेको ‘वर्तमान संविधानको महत्व र आवश्यकता’सम्बन्धी विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि रहेकी देवकोटाले संविधानबाट असन्तुष्ट रहेका पक्षका जायज मागलाई सम्बोधन गर्दै वर्तमान संविधानलाई संरक्षण गरेर अघि बढ्नुपर्ने बताइन् ।

देशको वर्तमान अवस्थाको चित्रण गर्दै देवकोटाले जेन–जी पुस्ताले उठाएका न्यायोचित माग सम्बोधन गर्ने सवालमा कुनै अलमल गर्न नहुने बताइन् । ‘सबैका आवश्यकता सम्बोधन गर्नका लागि संविधानको बाटो नै उत्तम हुन्छ’, उनले भनिन्, ‘अहिलेको संविधानको सही कार्यान्वयन र आवश्यक परे संशोधन गरेर भए पनि यो संविधानप्रति सबैको अपनत्व जगाउनु पर्छ ।’

पटक पटक संविधान खारेज गर्ने दिशामा जान नहुने उनको धारणा थियो । ‘यही संविधानको संरक्षण गर्ने गरी अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो’, उनको भनाइ थियो । जेन–जी पुस्ता, नेपाली सेना र राजनीतिक दलहरूको विश्वास जितेर राष्ट्रपतिले बचाएको संविधानको संरक्षण गर्ने दायित्व कांग्रेसको भएको भन्दै उनले त्यसका लागि कांग्रेसले जनतालाई अहिलेको अवस्थाबारे बुझाउन आवश्यक रहेको बताइन् ।
राष्ट्रिय सभाकी पूर्व सचिवका रूपमा कार्यक्रममा प्रमुख अतिथि रहेकी देवकोटाले संविधानलाई बचाउन निर्वाचनमा जाने अवस्था रहेको भन्दै कांग्रेसले निराश भएका कार्यकर्ताहरूमा आशा जगाउने गरी अघि बढ्न आवश्यक रहेको बताइन् । जेन–जी आन्दोलनका नाममा बन्दुकको गोली हानेर युवाहरूलाई मार्ने काम गलत भएको भन्दै त्यसको न्यायिक समिति बनाएर छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशरी गौतमले सरकारमा रहेका राजनीतिक दलहरूले संविधानलाई अक्षरशः पालना नगरेर आफूअनुकूल चलाउन खोज्दा देशमा अहिलेको विषम परिस्थिति देखा परेको बताए । यो विषम परिस्थितिको अन्त्यका लागि नागरिकले सुशासन र भ्रष्टाचारको अन्त्य चाहेको र त्यसका लागि नेताले आफ्नो आचरण सुधार गर्दै पार्टी संगठन निर्माणमा लाग्नुपर्ने उनको भनाइ थियो ।

नागरिकलाई सुशासनको प्रत्याभूति हुने गरी राजनीतिक दलले काम गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रमका विशिष्ट अतिथि गौतमले राजनीतिक दलको चरित्र र संविधानको अपेक्षाबिच मेल नहुँदा अहिलेको विषम परिस्थिति उत्पन्न भएको भन्दै यस्तो अवस्थामा नेपाली कांग्रेसका नेता–कार्यकर्ता एकजुट भएर संविधान र लोकतन्त्रको पक्षमा अघि बढ्नुपर्ने बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य जानकी केसीले संविधानको मर्म र उद्देश्य अनुसार काम हुन नसक्दा देशमा अहिलेको अवस्था उत्पन्न भएको भन्दै संविधानको परिधिभित्र रहेर काम गर्न आवश्यक रहेको बताइन् । देशको समृद्धि, विकास र गतिशीलताका लागि सबै समुदायको प्रतिनिधित्व हुने गरी काम गर्नुपर्ने र त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले देश अहिले गम्भीर मोडमा रहेको बताए । उनले अहिलेको विषम परिस्थितिमा गहिरो समीक्षा गर्दै संगठन निर्माणका लागि वडा तहबाटै नयाँ ढङ्गले पार्टीका गतिविधि सुरुवात गर्न आवश्यक रहेको भन्दै अब सना कुरालाई लिएर अल्झिन नहुने बताए । उनले त्यसका लागि कांग्रेसले संसद् विघटनलाई असंवैधानिक भन्दै नयाँ निर्वाचनलाई मुख्य लक्ष्य बनाएर अघि बढ्नुपर्ने आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस दाङका क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्काले पार्टीको नीति र सिद्धान्तमा रहेर काम गरी जनताको विश्वास जित्नुपर्ने बताए । पार्टीको नीति र सिद्धान्तभन्दा बाहिर जाने र पार्टीकै नेतृत्व विरुद्ध जथाभावी लेख्नेलाई निगरानीमा राखिएको भन्दै द्वैध चरित्र हुने व्यक्तिबाट संगठन निर्माण हुन नसक्ने बताए ।

‘सङ्कटको बेला पार्टीलाई नेतृत्वसँगै रहने नेता कार्यकर्ताको आवश्यकता रहेको छ, यो बेला जथाभावी रूपमा सामाजिक सञ्जालमा लेख्नेबाट पार्टीको हित हुँदैन’, उनले भने, ‘सङ्कटको समयमा संयमित र अनुशासित भएर अघि बढ्न आवश्यक छ । नेतालाई साहस बढ्न सक्ने नेताको खाँचो छ ।’

अहिलेको कठिन परिस्थितिमा संयमित र एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको भन्दै उनले सबैलाई एकताबद्ध भएर पार्टीका निराश कार्यकर्तालाई आशा भर्ने गरी लाग्न आग्रह गरेका थिए । कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी सभापति दीपेश डिसीले जेन–जी पुस्ताले उठाएका मागहरू सही भएको भन्दै पार्टीले ती मागलाई सम्बोधन गर्दै जेन–जी पुस्तालाई नेपाली कांग्रेसमा संगठित गर्ने गरी लाग्नुपर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले सङ्कटको बेला भाग्नुभन्दा एक भएर अघि बढ्नुपर्ने बताए । अहिलेको कठिन परिस्थितिमा संयमित र एकताबद्ध भएर पार्टीको नीति र सिद्धान्तमा एक भएर अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो । वक्ताले पार्टीभित्र देखिएको गुटगत प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको भन्दै अहिलेको परिस्थितिमा पनि पार्टीको नीति र सिद्धान्तभन्दा व्यक्तिगत प्रवृत्तिमा लाग्ने हो भने त्यसले गम्भीर परिणाम निम्त्याउने खतरा रहेको चेतावनी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरे, नेपाली कांग्रेस दाङका सदस्यहरू भोला अधिकारी र राजकुमार धिताल, महिला संघ दाङ क्षेत्र नं. २ की पूर्वअध्यक्ष सुशीला पौडेल, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. २ (क) का सचिव शिशिर अधिकारी, नेपाल दलित संघ दाङका अध्यक्ष बाबुराम विश्वकर्मा, नेपाल किसान संघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी, नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य अमर खड्का र तरुण दलका पूर्व जिल्ला सदस्य शरद केसीलगायतले सुझावसहितको मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावतले गरेका थिए ।