६ महिनामा चुनाव सर्कौ : राष्ट्रपति

११आँै संविधान दिवस
गोरक्ष समाचारदाता
काठमाडौं, ४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले अबको ६ महिनाभित्र प्रतिनिधि सभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान गरेका छन् ।

संविधान दिवसका अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले ‘प्रतिनिधि सभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले सङ्कटबाट निकास दिएको कुरा सबैले बुझेर’ अब चुनावमा केन्द्रित हुनका लागि आह्वान गरेका हुन् ।

राष्ट्रपति पौडेलले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने आफ्नो दृढविश्वास रहेको उल्लेख गर्दै आफैँ पनि १७ वर्षको कलिलो उमेरमा २०१७ सालमा प्रजातन्त्रका लागि राजनीतिमा होमिएको स्मरण गर्दै भने, ‘परिस्थितिले मलाई भदौ २४ गतेपछि उत्पन्न राजनीतिक अप्ठ्यारो र रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ । सबैको सुझबुझ, समन्वय र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौँ ।’

उनले सबै पक्षले ‘हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहनेछौँ, नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौँ, सुशासनप्रति प्रतिबद्ध रहने छौँ र राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा तथा मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्नेछौँ’ भनी संविधान दिवसको दिनमा सङ्कल्प गर्नुपर्ने समेत बताए र त्यसका लागि सबैमा आह्वान गरे ।

उनले यस घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय बौद्धिक समुदाय र नागरिकलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भएर समन्वय र सहकार्य साथ निर्वाचनको सफलताका लागि क्रियाशील हुनुपर्नेमा जोड दिए ।

सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले भने, ‘यो संविधानले नेपाली जनतालाई सर्वभौसत्ता र स्वतन्त्रता दिएको छ । सबै जात, धर्म र सम्प्रदायका जनतालाई समान हक दिएको छ । समन्वय कायम गरी उन्नति गर्ने अवसर दिएको छ । हामी संवैधानिक विकासको इतिहासमै सबैभन्दा बलियो र सार्वभौम भएका छौँ । यो हामीले प्राप्त गरेको युगीन उपलब्धि हो । त्यसैले सबैले यसको रक्षा गरौँ ।’

उनले भनेका छन्, ‘राजनीतिक दल, सरकार, राज्यका निकाय र आमनागरिक सबै मिलेर हाम्रो संविधानलाई अझ जीवन्त, न्यायपूर्ण र भविष्यमुखी बनाउँदै नेपाली नागरिकले परिवर्तनका आन्दोलमा देखेका सपना पूरा गर्ने नयाँ आशा, अपेक्षा र विश्वाससहितको गौरवमय यात्रामा अघि बढ्न सकौँ भन्ने शुभकामना दिन चाहन्छु । यस कठिन परिस्थितिमा हाम्रा सबै मित्र राष्ट्रहरूको निरन्तर सहयोग तथा सद्भावको अपेक्षा पनि गर्दछु ।’

राष्ट्रपति पौडेलले लोकतन्त्र र संविधानको भावना, नवपुस्ताको परिवर्तनको सपना र जनचाहना अनुसार तत्कालीन समयमा जे जति गर्न सकिन्थ्यो त्यो सबैले मिलेर गरेको उल्लेख गर्दै मुलुक फेरि एक पटक नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको बताएका छन् ।