साहित्यकार शर्माको ‘चेस्टा’को विमोचन

गोरक्ष समाचारदाता
दाङ, ४ असोज । साहित्यकार पद्मप्रसाद शर्माको बीसौँ कृति ‘चेस्टा’ विमोचन तथा गुरु सम्मान कार्यक्रम भएको छ । नेपाल निवृत्त शिक्षक समाज घोराही नगर समितिको आयोजनामा कार्यक्रम भएको हो ।

नगर समितिका अध्यक्ष बलदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाज दाङका अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे । प्रमुख अतिथि पौडेलले शर्मा शिक्षकका रूपमा धेरै वर्ष सेवा गरेको भए पनि साहित्यमा राम्रो योगदान गरेको बताए । सबैले निवृत जीवन सक्रिय राख्नुपर्ने उनको भनाइ छ ।

विशिष्ट अतिथि पूर्व शिक्षक एवम् साहित्यकार विनोद पोखरेलले आफ्ना शिष्यले राम्रो गरेको र सक्रिय भएकोमा प्रशंसा व्यक्त गरे । आगामी दिनहरू पनि रचनात्मक हुने विश्वास व्यक्त गरे । विशिष्ट अतिथि मावि रझेनाका प्राध्यानाध्यापक उद्यव न्यौपानेले पुस्तकमा रहेको वंशावलीले आफन्तलाई चिनजान गर्ने अवसर मिलेको बताए ।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीले पुस्तकको समीक्षा गरेका थिए । उनले शर्माले साहित्यका साथै समाजिक काममा लागेको बताए । सातवटा विधामा कलम चलाएको उनले बताए ।

राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, पत्रकार रञ्जिता अधिकारी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाल निवृत्त शिक्षक समाज दाङका सचिव दामोदर पाण्डेलगायतले साहित्यकार शर्माले गरेका समाजिक र साहित्य लेखनको चर्चा गरेका थिए । लेखक पद्मप्रसाद शर्माले धन्यवादसहित मन्तव्य राखेका थिए ।

घोराही नगर समितिका उपाध्यक्ष नुमाकान्त न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर समिति सदस्य कमलराज पोखरेल गरेका थिए । सोही कार्यक्रम आफूलाई शिक्षा दिने गुरु विनोद पोखरेललाई लेखकले सम्मान गरेका थिए ।