खगराज न्यौपानेल
श्री युत भाइ रमेश
शुभ आशिर्वाद
यहा हामी सबै आरामै छौ । अध्ययनार्थ अमेरिका गएका तिमी र तिम्रा साथीहरु सबैको सुस्वास्थ्य दीर्घायु साथै अध्य यनको सफलताको कामना गर्दछु । भाइ रमेश तिम्रो पत्र समयमै प्राप्त भयो । टाढा बसेर पनि देश र देशवासीको अवस्थाको विषयमा जान्ने जिज्ञासा राखेकोमा तिमीलाई धन्यवाद दिन चाहन्छु ।
भाइ रमेश ! अहिले देशमा ठुलो हलचल भएकोछ, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भने झैँ भएको छ । जेनजी भन्ने युवा समूहले दुई दिनमै सरकारको छक्का छुटाइ दिएको छ । यो जेनजी भनेको सन् १९९७ देखि २०२५ सम्ममा जन्मेका युवाहरु जो २८ वर्षसम्मका छन् । देशमा भएको अन्याय अत्याचार बेथिति र लुटतन्त्रको खिलाप सञ्चार व्यवस्थामा लगाएको प्रतिवन्धको खिलाप तिनै युवाहरुको समूहले गरेको विद्रोह हो । यो विषयका साधारण नागरिकहरुले अझै राम्ररी जानकारी पाउन सकेृका छैनन् र यो समूह कहाँबाट कसले कसरी सञ्चालन गरेको छ भन्ने कुरा पनि स्पष्ट भएको छैन । विदेशहरुमा यस्ता युवा समूहले विद्रोह गरेको विज्ञहरुले बताइरहेका छन् । यस पटक हाम्रो काठमाडौंमा यस्तै अचम्म घटना घटेको देखिन्छ ।
यही भाद्र २३ गते काठमाडौंमा जेनजी युवा समूहले शान्त रुपमा गरेको आन्दोलन लाइ दवाउन सरकारले अन्धाधुन्द गोली चलाउँदा हाम्रा विद्यार्थी भाइबहिनीहरुले मृत्यु वरण गर्न पुगे । सरकारले गरेको यो नर संहारलाई देखेर जेनजी युवा समूहले आफूलाई आततायी तानाशाही सरकारको विरुद्ध हजारौँको सङ्ख्यामा मैदानमा उता¥यो । यो सरकारको दमनकारी तानाशाही प्रवृत्तिको विरुद्ध देशैभरि आन्दोलन भयो ।
हालसम्म ७३ जना हाम्रा सन्ततीहरु मारिए । सरकारी कार्यालय मात्र होइन कौयौ निजी घर पसलहरु जलेर खरानी हुन पुगे । केपी वलीको नेतृत्वको सरकार ढल्यो । सम्पूर्ण तत्कालीन नेतृत्व गणलाई सेनाले व्यारेक राखेर सुरक्षा दिएको अवस्था छ । घाइते बिरामीहरु अस्पतालमा छन् । ती मध्ये कतिको अवस्था चिन्ता जनक छ । यो मृत्यु हुनेहरुको सङ्ख्या अझै वढने संभावना छ ।
भाइ रमेश, हाल राष्टपतिले अन्तरिम सरकार गठन गरेको अवस्था छ । यो अन्तरिम सरकारले आउदो फागुन २१ गते निर्वाचन गराउने निर्णय गरेको छ । तर देहमा यति ठूलो क्रान्तिले पनि खासै परिवर्तन ल्याउन सकेन । २०७२ सालको यो संविधान त्यो बेला कतिपयले विदेशीहरुले बनाइदिएको वताए भने हाम्रा नेताहरुले हामीले बनायौँ भने । भारतका उत्तर प्रदेश, बिहार भन्दा पनि सानो उद्योग कलकारखाना नभएको देश नेपालमा ७ सात वटा प्रदेश स्थानीय सरकार कसरी कहाँवाट चलाउला भनेर भनेर ल्याएका हुन् ।
राष्टले थेग्नै नसक्ने भारी बोकाइ दिएपछि राष्ट आफै फेल हुने नै भयो । यस्ता हाम्रा नेताहरु बाट के आशा गर्न सकिन्छ र । केही विज्ञहरु भन्छन् स्थानीय तहमा जनप्रतिनिधि त चाहिन्छन् तर तलव खाने कर्मचारीको रुपमा होइन । यो भनाइ व्यावहारिक देखिन्छ । भाइ रमेश, अव जनताले नयाँ बनेको सुशीलाको नेतृत्वको अन्तरिम सरकारबाट देश वेचुवा सबै माथि राम्रो संग छानविन गरी कडाभन्दा कडा सजाय दिएको देख्न चाहेका छन् ।
अपराधीहरुलाई दण्ड सजाय दिने समाजमा शान्ति कायम गर्ने चुनाव सम्पन्न गर्ने र जनताले सरकारबाट गास, बास, कपास, शिक्षा, स्वास्थ्य उपचार रोजगारीको व्यवस्थाको चाहना राखेको छ । अन्तरिम सरकारलाई कार्यकालको शुभकामना दिँदै यो पत्रको बिट मार्न चाहन्छु ।
तिम्रो माया गर्ने दाजु
खगराज न्यौपाने