अनुभूति : महत्वपूर्ण हुँदोरहेछ सिकाइ

विजय विष्ट

मैले आफ्नो परिचय सुरुमा दिन चाहँदिनँ । कहिलेकाहीँ समाजको लागि काम गर्दा चुनौती र आलोचना पनि आउँछ । तर मैले बुझें–समाजको हितको लागि गर्ने काम कहिल्यै व्यर्थ हुँदैन । जेनजेड क्रान्ति पछि, सामाजिक सञ्जालमा मलाई प्रत्यक्ष गाली त गरिएको थिएन, तर मैले गरेका कामहरुसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका साथीहरुले मलाई नेपाली विद्यार्थी संघ छोड्न सुझाव दिएका थिए । मलाई लाग्यो–कामको उद्देश्य र प्रतिबद्धता मिलाएर अघि बढ्न सकिन्छ ।

यदि म नेपाल विद्यार्थी संघमा जोडिएको थिएन भने, मलाई लाग्छ म यी कामहरु गर्न सक्दिनथेँ । संगठनसँगको अनुभव, नेतृत्व र साथीहरुको सहयोगले मलाई समाजमा सकारात्मक प्रभाव पु¥याउने अवसर दिएको हो । २०८१ सालमा डाङमा इन्टर कलेज क्रिकेट टुर्नामेन्ट आयोजना गरेर करिब ३००–४०० खेलाडीलाई खेलकुदको अवसर प्रदान गरें । मैले आफ्नै नेतृत्वमा कार्यक्रम अघि बढाएँ र साथीहरुलाई स्वयंसेवक र सहयोगीको रुपमा संलग्न गराएँ । यसले विद्यार्थीहरुमा खेलकुदप्रति रुचि बढायो, टीमवर्क र अनुशासनको महत्व सिकायो, साथै विभिन्न कलेजका विद्यार्थीबीच मित्रता र सहकार्यको वातावरण सिर्जना ग¥यो ।

डेन्टल हेल्थ क्याम्प सञ्चालन गरेर बच्चा, वृद्ध र आम–बुबा सबैलाई निःशुल्क दन्त जाँच, परामर्श र औषधि उपलब्ध गराएँ । यसबाट करिब ३०० जना बासिन्दाले प्रत्यक्ष लाभ पाए । यसकै माध्यमबाट करिब ५०–६० जना विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग पनि प्रदान गर्न सकियो । मैले यस कार्यक्रममा स्वयंसेवक रुपमा सहयोग गरें, जसले कार्यक्रमलाई सफल बनाउन ठूलो भूमिका खेले ।

विभिन्न क्याम्पसमा छात्रवृत्ति सहयोगमा संलग्न भएर, मैले सुनिश्चित गरें कि आर्थिक अभाव भएका विद्यार्थीहरुले पनि अध्ययनको अवसर पाउन सकून् । यसले विद्यार्थीहरुको शैक्षिक सपना पूरा गर्न मद्दत ग¥यो र समुदायमा शिक्षा प्रति विश्वास र उत्साह बढायो ।

ब्लड डोनेशन क्याम्पेन संचालन गरेँ; राति १० बजे पनि पुगेर जीवन बचाउन सहयोग गरें । यसमा मैले सक्रिय रुपमा अगुवा भएर स्वयंसेवक र प्रायोजकको भूमिका निभाएँ, जसले समुदायमा रक्तदानको महत्व बुझाउन मद्दत ग¥यो । वडा बासिन्दाहरुको लागि निःशुल्क दन्त तथा छाला उपचार क्याम्प आयोजना गरेँ । यसबाट करिब ३०० जना व्यक्तिहरुले प्रत्यक्ष लाभ पाए र निःशुल्क औषधि पनि उपलब्ध भयो । मैले आफ्नै नेतृत्वमा योजना बनाई, साथीहरुलाई सहभागी गराएर र आवश्यक सहयोग प्रायोजन गर्दै कार्यक्रम सफल बनाउन मद्दत गरेँ ।

यी सबै कामहरु मैले आफ्नै नेतृत्वमा गर्दै आएको भए पनि अन्य थुप्रै कार्यक्रममा म सहयोगी, स्वयंसेवक र प्रायोजकको रुपमा संलग्न भएको छु, जसले समाजमा दीर्घकालीन सकारात्मक प्रभाव पु¥याएको छ ।

भदौ २३ र २४ को जेनजेड आन्दोलनको अनुभव

भदौ २३ मा म पनि जेनजेड आन्दोलनमा सक्रिय रुपमा सहभागी थिएँ । डाङको घोराहीमा आन्दोलन अत्यन्त बलियो र संयोजित थियो–मेरो अनुभवमा नेपालभरको आन्दोलनमा घोराही सबैभन्दा सभ्य र अनुशासित रुपमा अघि बढेको स्थान थियो । हामीले फ्रन्टलाईनमा रहेर आन्दोलनको सभ्यता र अनुशासन कायम राख्ने प्रयास गरिरहेका थियौं । यसले देखायो कि ठूलो जन आन्दोलनमा पनि अनुशासन, संयम र व्यवस्थापन अत्यन्त महत्वपूर्ण हुन्छ–र त्यो व्यवस्थापन कौशल मैले नेपाली विद्यार्थी संघबाट सिकेको हुँ ।

यसै सन्दर्भमा,

म जेनजेड आन्दोलनमा जीवन गुमाएका सबैका लागि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र उनीहरुको परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछु ।

यी अनुभवहरुले मलाई सिकायो कि : समाजको लागि काम गर्दा आलोचना र दबाब आउँछ । साथीहरुले नेपाली विद्यार्थी संघ छोड्न भने पनि, मैले बुझें–कामको उद्देश्य र प्रतिबद्धता मिलाएर अघि बढ्न सकिन्छ ।

वास्तविक मूल्य केवल आलोचना वा प्रतिक्रियामा छैन–मानवता, मुस्कान र जीवन प्रभावमा छ । हामी पनि सुधारिन आवश्यक छ । ताकि हाम्रो योगदान अझ प्रभावकारी र सुरक्षित बनोस् । अन्ततः, मैले बुझें–समाजको लागि काम गर्नु कहिल्यै गलत हुँदैन । आलोचना र दबाब केवल सुधार र प्रेरणाको अवसर हुन् । समाजको लागि काम गर्नु केवल कर्तव्य होइन, जीवनको अर्थ हो; डर नमानौं, प्रभावमा ध्यान दिऔं र मानवतामा केन्द्रित रही अघि बढौं भन्ने पाठ यो बेला सिकियो ।

अन्त्यमा परिचय :

म नेपाल विद्यार्थी संघ, घोराही उप–महानगरपालिका इकाईको सभापति हुँ । यो जिम्मेवारी मेरो लागि केवल पद होइन; समाज र विद्यार्थीहरुका लागि सेवा गर्ने अवसर हो । मैले नेतृत्व, स्वयंसेवा र सहयोगको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सदैव प्रयास गर्दै आएको छु । मेरो यो प्रयत्न जारी रहने छ ।