कविता : नैतिक शिक्षा

जीवनको अमूल्य अङ्ग हुन्थ्यो त नैतिक शिक्षा
न कसैसामुु झुक्नु पर्थ्यो शिर माग्नलाई भिक्षा
न त हुन्थ्यो भ्रष्टाचार न त कतै कुनै विवाद
नीतिवान् भए सबजनमा आउँथ्यो सद्विचार

नीति,धर्म,संस्कृति,परम्परा सबमा दिउाँ ध्यान
नैतिकता यदि भए गर्थ्यौँ सबलाई सम्मान
न त हुन्थ्यो झैझगडा न त आउँथ्यो कुविचार
नैतिकता भए सबजनमा आउँथ्यो सद्विचार

माता,पिता गुरुजनप्रति सम्मान हट्दै गयो
कुकर्म कुविचार कुबाटोमा मानिस फस्दै गयो
मानव मनको मानवता बन्न पुग्यो दानवसर
परोपकार भाव भए सबमा आउँथ्यो सद्विचार

हटेर सेवा अनि दयाभाव मनुष्य गिर्दै छ यहाँ
कर्तव्यको पाठ सिकाउने संस्कार हट्दै छ यहाँ
न त हुन्थ्यो पुलिसथाना न हुन्थ्यो जेलखाना
नैतिकवान् सब बन्न सके हुन्थ्यो ठूलो खजाना

नीति,धर्म ,परम्परा,संस्कार आफ्नो मान्नुपर्छ
संस्कारगत प्रवृतिमा सन्ततिलाई ढाल्नुपर्छ
सभ्यता र संस्कृति हुन् मानिसका ठूला सम्पत्ति
अनमोल धरोहर जोगाउन विचलित हुनुहुन्न कत्ति