calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

जिल्लाका तीन स्थानीय तहमा मौरी जोन

अमरराज आचार्य
दाङ, २५ कार्तिक । जिल्लाका ३ स्थानीय तहमा मौरी जोन शुरु भएको छ । जिल्लाको २ उपमहानगरपालिका र १ गाउँपालिकामा मौरी जोन शुरु भएको हो । चालु आर्थिक वर्ष २०७६÷०७७ बाट मौरी जोन शुरु भएको हो । यस प्रकारको परियोजना २०८२ सालसम्म सञ्चालन हुनेछ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वय इकाई कार्यालयमार्फत मौरी जोन लागू गरिएको हो । मौरी जोन घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकामा सञ्चालन हुने परियोजना कार्यान्वय इकाई कार्यालयका कृषि अधिकृत कला बुढाले जानकारी दिइन् । उनका अनुसार ३ वटै तहका सबै वडामा यो कार्यक्रम लागू हुने भएको छ । मौरीको सम्भावना राम्रो भएकाले यस क्षेत्रमा मौरी जोन कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । ‘मौरीपालनका लागि राम्रो सम्भावना रहेको छ’, बुढाले भनिन् । अहिले मौरी पालनका लागि चितवनपछिको दोस्रो जिल्ला दाङ रहेको उनको भनाइ रहेको छ । परियोजना लागू भएपछि मौरीपालनको विकासमा थप टेवा पुग्ने कृषकहरुको भनाई रहेको छ । मौरीपालक कृषकहरुलाई उत्पादनमा लागत घटाउने यस परियोजनाले सहयोग पु¥याउने कृषि अधिकृत बुढाले बताइन् ।

परियोजनामार्फत कृषकहरु मौरी पालनमा क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी, अध्ययन भ्रमण गराइने भएको छ । त्यसैगरेर मह प्रशोधनका आवश्यक पर्ने सामग्री खरिदका लागि अनुदानसमेत दिइने भएको छ । यसले कृषकहरुलाई सहजता हुने विश्वास लिइएको छ ।

परियोजनासँग अहिले ३ तहका गरी १ सय ४१ जना कृषकहरु जोडिन पुगेका छन् । सबैभन्दा बढी व्यक्तिगत कृषि उद्यमीहरु बढी रहेको बुढाको भनाइ रहेको छ । समूह तथा सहकारीमार्फत मौरीपालन गर्नेहरुको संख्या कम रहेको उनको भनाइ रहेको छ । परियोजना कार्यान्वयन इकाई कार्यालयसँग घोराहीका ८९ जना, तुलीपुरका ४१ जना र बंगलाचुलीका ११ जना कृषकहरु सम्पर्कमा आएका छन् । मौरीजोनमा आवद्ध हुनका लागि २० घारभन्दा बढी मौरी पालन गरेका कृषकहरु मात्र सहभागी हुन पाउने छन् ।

अहिले जिल्लामा ३ सय बढी मौरीपालक कृषकहरु रहेका छन् भने १३ हजार बढी मौरीका गोला रहेको बताइएको छ । यसरी पालन गरिएका मौरीमध्ये मेलीफेराको संख्या बढी रहेको बुढाले बताइन् । सेराना मौरी ११ प्रतिशत रहेको उनको भनाइ रहेको छ । जिल्लामा करिब ८ सय मेट्रिक टन मह उत्पादन हुने गरेको छ । परियोजना लागू भएपछि उत्पादन समेत बृद्धि हुने.अपेक्षा गरिएको छ ।

मौरी चरण व्यवस्थापनमा समस्य जिल्लामा मौरी पालनका लागि राम्रो सम्भावना रहे पनि पछिल्लो समयमा मौरी चरणको व्यवस्थापनमा समस्या रहेको माहुरी पालक कृषकहरुले बताउने गरेका छन् । जिल्लामा माहुरी चरणका लागि बाहिरी जिल्लाबाट समेत ल्याउने भएकाले समस्या हुने कृषकहरुको भनाइ छ ।

जिल्लामा मौरी चरण व्यवस्थापन आवश्यक रहेको परियोजना कार्यान्वयन इकाई कार्यालयका कृषि अधिकृत बुढाको भनाइ रहेको छ । बाहिरबाट चरणका लागि ल्याउने र जिल्लाका कृषकहरु मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । चरण व्यवस्थापन गर्न सकेमा उत्पादन समेत राम्रो लिन सकिने कृषकहरु बताउँछन् । कतिपय सामुदायिक वनहरुले मौरी चरण मार्फत रकमसमेत लिने गरेका छन् ।