टीकालाल र धनवीर चुनावमा
खेमराज रिजाल
जुम्लेकुला (दाङ), २५ कार्तिक । एउटा भारतीय सेनाका निबृत्त कर्मचारी, अर्को उनैका दौतरी, तर लौरो टेकेर उनीहरु चुनावी माहोलमा आएका छन् । चुनावको महत्व सायद युवा पुस्ताले भन्दा उनीहरुले झनै बढी बुझेका छन् । त्यसैले उनीहरुले जनमत बटुल्न युवा पुस्तालाई पनि समावेशितामा ल्याउने र महिलालाई पनि समावेशितामा ल्याउने अभिव्यक्ति दिए ।
जुम्लेकुला गब्दवाका टीकालाल छन्तेल भन्छन्– ‘यो उत्सवको अवस्था हो, कसैले पनि लोकतन्त्रलाई हराउन सक्दैन, हामी चार ताराका पक्षपाती हौं । त्यसैले त विकास निर्माणको विषयमा लौरो टेकेर कांग्रेसको सभामा आएका छौं ।’ यसअघि उनी भारतीय सेनामा थिए, उनका दौतरी बलवीर छन्तेल पनि दोस्तीका रुपमा परिचित छन् । तर यो विषयमा उनी पनि केही लचक बने । राष्ट्रिय राजनीति र राष्ट्र जोगाउने अभियानमा हामी दुइभाइको लौरोले सार्थक भूमिका निर्वाह गर्ने भन्ने आशा लागेको बलवीर छन्तेलले बताए । उनी दुइभाइ नै निर्वाचनका पात्र हुन् । किनकि उनीहरुकै भनाइमा अब कांग्रेसमा अन्तर्घातको अन्त भएको छ । किनकि अघिल्लो चुनावले अन्तर्घातको अन्त गर्न सुझाएको थियो ।
यी छन्तेल दाजुभाइ नै सच्चा मतदाता हुन् किनकि उनीहरु आफै चुनावमा खटिएका छन् । उनीहरुलाई विश्वास छ, लोकतन्त्रमा । समाजवादमा अनि समावेशी राजनीतिमा । तर यदि कसैले कांग्र्रेसका विरुद्ध आवाज उठाए, उनीहरुले त्यही लौरो उठाउने छन्, लोकतन्त्र र समृद्धिका लागि । छन्तेल दाजुभाइको एउटै साझा भावना छ, रुख चिन्हमा मतदान गर्न । त्यसो त उनीहरुजस्तै जुम्लेकुलाकी धनी खत्रीले पनि विकासलाई भोट दिने बताइन् । उनको दैलोमा अधुरो बटो छ ।
एकतर्फ नाला, अर्कोतर्फ भने केही संरचना बनेकै छैनन् । त्यसैले विकासप्रेमी नेतालाई भोट दिने उनको अभिव्यक्ति थियो । रेवती केसीले पनि अधुरो विकास पूरा गर्ने नेतालाई मत दिने बताइन् । उनको मनमा पनि कांग्रेस थियो, किनकि उनको बारीमा तात्कालीन सिंचाइमन्त्री दीपक गिरी हुँदा ल्याएको योजना अझै पनि अधुरो छ । ‘जुन नेताले योजना शुरु गरे उनैका नेतालाई यो सन्देश लेखिदिनुहोला, हामी आशावादी छौं, घर–घरमा सिचाई सुविधाका लागि’, उनले भने ।
पश्चिम दाङमा केही असन्तुष्टि पनि थियो । कहिले कुन उम्मेदवार र कहिले अर्को उम्मेदवार बन्ने । तर पार्टीले टिकट दिएका नेता केशवराज आचार्यप्रति सबै आशावादी छन् । किनकि आचार्यले पश्चिम दाङ बुझेका छन् । ‘पाको नेता उम्मेदवार बन्नुभएको छ, त्यसैले हामीले आपत्ति जनाउने अवस्थै छैन’, जुम्लेकुलाकै स्थानीय व्यवसायी महिला सरिता केसीले भनिन्– ‘अब त कांग्रेसमा देखिएको असन्तुष्टि हुनै सक्दैन, हामी आफै चिर्न तयार छौं ।’ उनकै भनाइमा अब असन्तुष्टि होइन, एकताको डोरीमा हामीहरु बाँधिइसकेका छौ ।
नेपाली कांग्रेस अहिले पश्चिम दाङमा केन्द्रित छ, केन्द्रीय सदस्य दीपक गिरीको कमाण्डमा । कांग्रेस नेता गेहेन्द्र गिरी पनि सोही स्थानमा चुनावी माहोलमा छन् । शंकर डाँगी उम्मेदवारका प्रत्यासी भए पनि उम्मेदवारको प्रस्ताबक पनि उनै बसेका थिए । अहिले उनै सोही क्षेत्रमा खटेका छन्, कांग्रेसलाई जिताउन । ‘टिकट नपाएर असहयोग गर्नु मेरो परिकल्पनै थिएन, अब कांग्रेसलाई जिताउने सवालमा मेरो कहीँकतै कमजोर भूमिका रहने छैन’, उनले भने ।
त्यसो त पश्चिम दाङका नेता श्याम रेग्मी पनि निर्वाचनको दैलोदैलोमा खटिएका छन् । ‘यो चुनावमा कांग्रेसलाई जिताउनुको विकल्प रहँदैन, त्यसपछि समीक्षा गरौंला’, रेग्मीले अनौपचारिकरुपमा संवाददातालाई भने । खिमप्रसाद खराल पनि चुनावी माहौलमा थिए । विहानैदेखि खराल पनि नेपाली कांग्रेसलाई जिताउन अभ्यस्त छन् । यद्यपि उनी पनि उम्मेदवारका आकांक्षी थिए । पश्चिम दाङको कांग्रेस राजनीतिमा खरालको पनि भिन्नै पकड छ । उनी पनि कांगे्रसको मूलधारमा जोडिएर उम्मेदवार केशव आचार्यको प्रचारमा थप क्रियाशील बनेपछि सायद कांग्रेसलाई यसपालि अप्ठेरो छैन ।
गएको निर्वाचनमा झुक्यायोः गिरी
यसै प्रसंगमा गोरक्षसँगको कुराकानीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले गएको निर्वाचनमा नेकपाले जनतालाई झुक्याएर बहुमत लिएको बताए । तर अब जनता झुक्किने अवस्था नरहेको पनि उनको अभिव्यक्ति थियो । ‘हामी सरकारमा हुँदा मैले ल्याएका योजनाहरु अहिले शंकर पोख्रेलले उद्घाटन गरेर दङाली जनतासित भोट माग्दैछन्, नेकपालाई यो भन्दा ठूलो दुर्भाग्य केही हुने छैन’, गिरीले चेतावनी दिए, यदि दुई तिहाईको सरकारको विकास प्रेम छ भने दाङमा एउटा मात्रै योजना शिलान्यास गरे देखाऊन् ।