बौरिँदै बजार, सार्वजनिक सेवा धौधौ

खेमराज रिजाल
तुलसीपुर, २ असोज । तुलसीपुर उपमहानगरपालिका–५ घोराही चोकमा रहेको जगदम्बा स्टोर्समा दैनिक उपभोग्य सामग्री किन्नेहरूको भिड बढिरहँदा तुलसीपुर उपमहानगरपालिकाको प्राङ्गणमा अस्थायी रूपमा व्यवस्थापन गरिएको त्रिपालमुनि तुलसीपुर क्षेत्रमा जलेका सरकारी कार्यालय प्रमुखहरूको बैठक चलिरहेको थियो ।

उपमहानगरपालिकाका कर्मचारी आगजनी पछिका भग्नावशेष पन्छाइरहेका देखिन्थे । नयाँ प्रशासकीय भवन त बेसमेन्टमै आगजनीले ठुलो क्षति पु¥याएपछि सामान्य मर्मतले बस्न लायक नभएको प्राविधिक परीक्षणबाट प्रमाणित भएपछि सम्भवतः तुलसीपुर उपमहानगरपालिकाको सम्पूर्ण प्रशासनिक कार्यालय नयाँ बनेको व्यावसायिक भवनमा सर्न सक्नेछ ।

सेवाग्राहीलाई कहाँबाट सेवा दिने भन्ने सन्दर्भमा जिल्लामा सबैभन्दा हैरानीमा तुलसीपुर क्षेत्र छ । तुलसीपुर क्षेत्रमा रहेका बृहत दाङ उपत्यका सिँचाइ आयोजना बाहेक कुनै पनि कार्यालय जल्नबाट बचेनन् । दिउँसोदेखि आगजनी र तोडफोड उत्कर्षमा पुगेपछि यस अघि नै केही सरकारी कार्यालयले आफ्ना सवारीसाधन जोगाउन सफल त भए तर भौतिक संरचना जोगाउन सकेनन् ।

जनताको सबैभन्दा सरोकार रहेको सेवा कार्यालय भनेको मालपोत कार्यालय हो । जुन कार्यालयका लगभग सबै कागजात र महत्वपूर्ण मोठहरू जलेर खरानी भएका छन् । कुनै पनि कम्प्युटर बाँकी रहेनन् । ‘सम्भवतः तिहार अघिसम्म तुलसीपुर मालपोतले सेवा प्रवाह गर्न सक्ने अवस्था रहेन’, मालपोत कार्यालय तुलसीपुरका एक अधिकारीले भने । भू तथा जलाधार संरक्षण कार्यालय, उच्च अदालत, इलाका प्रशासन, सिँचाइ विकास डिभिजन, उपमहानगरपालिकालगायतका सबै कार्यालयका खरानी अझै सफा गरिसकिएको छैन ।

मङ्गलवार तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काको आह्वानमा बिहान उपमहानगरपालिकाको त्रिपालमुनि सर्वदलीय÷सर्वपक्षीय छलफल भयो, सहजताको खोजीका लागि तर सहजताका लागि अझै अलमल छ । दिउँसो नगर प्रमुखकै आह्वानमा तुलसीपुर क्षेत्रका जलेका कार्यालय प्रमुखहरूको छलफल त्यही त्रिपालमुनि भयो ।

लाग्थ्यो, युद्ध सकिएपछिको मुर्दाशान्ति जस्तै छ, तुलसीपुर । यसले विसं २०७२ सालको महाभूकम्प प्रभावित क्षेत्रको जस्तो झल्को दिन्थ्यो । अर्थात् ०७२ सालको भूकम्पमा गोरखा जिल्लाको
वारपाक… । ‘जेन–जीहरूको प्रदर्शनीका क्रममा आगजनी भएका कार्यालय कस्तो अवस्थाका छन्’ भनेर प्राविधिक परीक्षण पनि सुरु गरिएको छ ।

सोमवार नेपाल इन्जिनियर एसोसिएसनको आह्वानमा दाङमा आगजनी भएका कार्यालयका भवनहरू सामान्य मर्मतपछि बस्न सकिन्छ वा सामान्य भुकम्पमा पनि बस्न उचित छैनन् भन्ने विषयमा प्राविधिक परीक्षण भइरहेको छ । यसको सुरुआत सोमवार जिल्ला समन्वय समितिको कार्यालयबाट सुरु भएको थियो ।

परीक्षणको काम अझै सकिएको छैन । यसैगरी आगजनीमा क्षति भएका भवनहरूको सम्पूर्ण विवरण सङ्घीय सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले थालेको छ । सङ्घीय सरकार मातहतका कार्यालयहरूको मात्र यो कार्यालयले विवरण सङ्कलन गरेर मन्त्रालयमा पठाउने बताइएको छ ।

देउखुरी सुचारु भइसकेको छ तर घोराहीले पनि सेवा दिन तत्काल असमर्थ जस्तै छ । बल्ल तल्ल जलेका र तोडफोड भएका सम्पत्तिको मुचुल्का उठाउने र भवनको खरानी हटाउने काम भइरहेको देखिन्छ । मालपोत कार्यालय घोराहीका एक कर्मचारी भन्छन्, ‘दसैँ अघि सेवा दिन सकिने अवस्था कतैबाट देखिँदैन । उपमहानगरपालिकाले आकस्मिक सेवा बाहेक नियमित सेवा दिन अझै केही समय लाग्ने देखिन्छ । देउखुरी प्रदर्शनकारीको आग्जनीबाट बच्न सफल भएकाले स्थानीय पालिकालगायत प्रदेश मातहतका कार्यालय र सङ्घीय कार्यालयले समेत नियमित काम थालेका छन् ।’

देउखुरीको हालखबर

उता लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मङ्गलवार मुख्यमन्त्री कार्यालय पुगेर कामकाज थालेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताएका छन् । मुख्यमन्त्रीसँगै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना पनि मङ्गलवारदेखि मन्त्रालय प्रवेश गरे । अन्य मन्त्रीहरू पनि निरन्तर सम्पर्कमा रहेको र विस्तारै मन्त्रालयमा आई नियमित कामकाज गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारले पहिलो चरणमा जेन–जी प्रदर्शनीको क्रममा लुम्बिनी प्रदेशभर तोडफोड र आगजनी भएका मातहतका कार्यालयको क्षति विवरण सङ्कलन गरिरहेको छ । ‘सम्भवतः मङ्गलवार साँझसम्म प्रदेश मातहतका सबै कार्यालयको क्षति विवरण आइपुग्नेछ, त्यसपछि ती कार्यालयले कहाँबाट कसरी सेवा प्रवाह गर्ने भन्ने विकल्पका विषयमा गहन छलफल हुनेछ’, मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो ।

यसैगरी बदलिएको राजनीतिक सन्दर्भमा लुम्बिनी प्रदेश सरकारले संविधान दिवस भव्य रूपले मनाउने तयारी भइरहेको बताएको छ । पछिल्लो घटनाक्रम पछि लुम्बिनी प्रदेश राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ । सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले प्रदेश राजधानीमा उच्च सतर्कता बढाएका छन् । प्रदर्शनीका क्रममा प्रदेश राजधानीमा क्षति पुगेको छैन । देउखुरीमा स्थानीय सरकारले सेवा प्रवाह दिन सुरु गरिसकेका छन् ।

सेवा प्रवाहका लागि प्रशासनको सक्रियता

यसैबिच जिल्ला प्रशासन कार्यालयले नजिकिँदै गरेको नेपालीको महान चाड बडादसैँलाई लक्षित गर्दे आवश्यक सेवा प्रवाहका लागि तयारी गरिरहेको छ । यसका लागि जिल्लामा रहेका सरकारी कार्यालय तथा स्थानीय पालिकाले केकस्तो भूमिका प्रदान गर्न सकिन्छ भनेर जिल्ला प्रशासन कार्यालयले सरोकारवालाबिच साउन २ गते जिल्ला प्रशासन कार्यालयमा बैठक आह्वान गरेको छ ।

बैठकमा जिल्लाका १० वटै पालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, नागरिक समाज, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, सुरक्षा समितिका पदाधिकारी, साल्ट टे«डिङ, कृषि सामग्री, खाद्य सामग्री कम्पनी, सडक पूर्वाधार कार्यालय, सडक डिभिजन कार्यालयलगायतका कार्यालय प्रमुखहरूलाई उपस्थितिका लागि आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले बताएका छन् ।