लक्ष्मण शर्मा
सेप्टेम्बर ८ २०२५, नेपाली इतिहासले सदैव सम्झने दिनको रुपमा स्थापित भएको समय अर्थात् सुशासन र भ्रष्टाचारको अन्त्य होस् भनेर शान्तिपूर्ण रुपमा माग गर्दा नेपालका १९ जना जेन )जी हरूको हत्या भएको कालो दिन । यो नेपाली इतिहासमा अब एउटा कालो दिनको रूपमा स्थापित भएको समय हो।
नेपालमा विगत ३० वर्षदेखि भ्रष्टाचारलाई यसरी नीतिगत रुपमा स्थापित गरियो कि त्यसको सञ्जाललाई तोड्नको लागि धेरै नेपालीहरू सहिद हुनुपर्यो। सामान्यतया राज्य जहिले पनि जनताको अभिभावक हुनुपर्ने हो तर नेपालको सत्ता जहिले पनि बिचौलिया र भ्रष्ट नेताको लागि मात्र भयो जसको फलस्वरूप बेरोजगारी , कालोबजारी, भ्रष्टाचार र वैदेशिक पलायन बढ्दै गयो जसलाई अन्त्य गर्नको लागि सेप्टेम्बर ८ मा हाम्रा सन्ततिले बलिदान दिनुपर्यो।
देश बिग्रनुमा तपाईँ हाम्रो पनि दोष छ। हामी अलि व्यक्तिवादी स्वार्थ बोकेका नेपाली हौँ। हामीलाई देश होइन हाम्रो स्वार्थ पुरा गरिदिने नेता वा पार्टी चाहिएको छ। त्यही स्वार्थको कारणले गर्दा हामी सधैँ पार्टीको झोले भएर उसको गुणगान गाउन थाल्छौं। नेताले हाम्रो सीमित स्वार्थमा टेकेर असमित फाइदा लुट्दै देशलाई कंगाल बनाएको छ। आज नेपालमा नागरिक समाज ,पत्रकार, पुलिस प्रशासन, अधिकारकर्मी, बौद्धिक व्यक्ति यस्ता अनेक अनेक संस्थाभित्र वा व्यक्तिभित्र व्यक्तिगत लोभ भएका मानिसको कारणले गर्दा नै उनीहरुले हामीमाथि राज गरेका हुन्।
आजको सूचना प्रविधिको जमानामा हामीसँग हजारौं तथ्य र प्रमाण छन् कि देश कस्ले सक्यो भनेर। म त्यो प्रमाण र तथ्य यहाँ दिन चाहन्न। म यति मात्र भन्न चाहन्छु कि अब हामी सचेत भएर निर्णय गरौं। हो लोभ र स्वार्थ त्याग्न गाह्रो छ । पैसा र अवसरको मुख कालो हुन्छ तर कति दिन हामीले हाम्रो आत्म बेच्दै आफ्नो स्वार्थको कारण देशलाई अस्थिर बनाउने ?
नेपालको राजनीति मुख्यत चार किसिमले चलेको छ। पहिलो( दलाल र पुँजीपति वर्ग, दोस्रो (अन्धभक्त कार्यकर्ता, तेस्रो (विदेशी शक्ति र चौथो (सचेत वर्ग । अब यो देश सचेत नेपाली नागरिकले चलाउनुपर्दछ। त्यो चाबी तपाईं हाम्रो हातमा छ। आज हेर्नुस् त काठमाडौँ, धरान र धनगढीका जनताले आफ्नो सचेतनाद्वारा फेरिदिएको निर्णयले देशलाई कति फाइदा भएको छ। हामीले आफ्नो स्वार्थ त्याग्न सक्ने रहेछौं भन्ने यो महान उदाहरण होइन र रु अब भन्नुस् मेरो देश को आए बन्ने होरु यो लेखको उद्देश्य सचेतना जगाउने र जागरुकता ल्याइदिने मात्र हो।
सूचना त तपाईं हामीसँग छँदै छ नि देश कस्ले सक्यो भनेर। हामीले पटकपटक बोल्यौ, लेख्यौँ, हाम्रो मत बदल्यौं तर जति गर्दा पनि यिनीहरु सुध्रेनन् १ यिनीहरुलाई सधैं लाग्यो कि जनता मूर्ख छन्। जनतालाई सधैं पैसा मासु र रक्सीमा किन्न सकिन्छ। उनीहरूको मतलाई देखाएर सधैं हामीले नै राज गर्न सक्छौ भन्ने भ्रममा बाँचे। नेपाली जनतालाई शब्दजालबाट सधैँ भ्रममा राखे तर आजको जेन्जी पुस्ता इन्टरनेटको आविष्कारले गर्दा यिनीहरू भन्दा धेरै सक्षम, सबल र निष्ठावान छन् भन्ने कुराको अलिकति पनि हेक्का यिनीहरुलाई भएन जसले गर्दा आज यति धेरै मानवीय तथा भौतिक नोक्सानी देशले बेहोर्नुपर्यो।
यो सब हुनुमा अहिलेका सत्तासिन दल र प्रतिपक्ष जिम्मेवार छन्। अब यसको उच्चस्तरीय न्यायिक आयोग गठन गरी दोषीलाई कडाभन्दा कडा सजाय गर्नुपर्दछ। र आजसम्म सत्ता र शक्तिमा भएका सबैको सम्पत्ति छानबिन गरी स्रोत नखुलेका सम्पत्तिलाई राज्यको नाममा लिएर भ्रष्टाचारीलाई आजीवन जेलको व्यवस्था गर्नुपर्दछ।
यतिबेला देश भौतिकरूपमा ध्वस्त भएको छ। राज्यका तीनवटा निकाय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तहसनहस पारिएको छ। हामी अब उठ्नुपर्नेछ। यसको लागि सम्पूर्ण जनताको रचनात्मक सहयोगको आवश्यकता हुन्छ। हामीले यति ठूलो बलिदानबाट आफ्नो सरकार आफैंले निर्माण गर्न सकेका छौं। देशमा सक्षम नेतृत्वको चयन भएको छ। सही व्यक्ति सही ठाउँमा अब जानेछन्। अब यो उपलब्धिहरुलाई बचाएर हामीले संस्थागत गर्नुपर्दछ।
देशले अब पटक)पटक बलिदान र ध्वंम्स बेहोर्न सक्दैन। अब यसैको जगबाट नै हामीले भ्रष्टाचारको सधैँ अन्त्य र सुशासन कायम गराउनु पर्दछ। यसको लागि सम्पूर्ण जनता एक ढिक्का भएर अघि बढ्नुपर्दछ। हामीले हाम्रो ठाउँलाई बनाउँ। हाम्रो क्षेत्रमा भएको भ्रष्टाचार र विकृति विरुद्ध खबरदारी र कारबाही गरौं। आफ्नो स्मार्टफोनबाट विकृतिको भण्डाफोर गरी भ्रष्टाचारीलाई जन कारबाही गरी स्मार्ट नागरिकको पहिचान आफैले बनाउँ। काम गर्दा कसैले भ्रष्टाचार गर्न खोज्यो भने किन ? के को लागि भन्ने प्रश्न गर्न नछोडौँ।
यो देशलाई तपाईं हाम्रो रचनात्मक सहयोगबाट नै उठाउन सकिन्छ। देश बलियो र धनी भयो भने मात्र तपाईं हाम्रो स्वाभिमान, इज्जत र प्रतिष्ठा बढ्ने हो। अब व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको लागि सोच्न र काम गर्नेको इतिहासले हामीलाई फेरि एकपटक मौका दिएको छ यसको सबैले सकारात्मक प्रयोग गरौं।
्
जेन्जी पुस्ता लोकतन्त्र बचाउन र सुशासन कायम गर्नको लागि तपाईंले गर्नुभएको योगदानलाई नेपाली इतिहासले सदैव सम्झनेछ। तपाईँको जिम्मेवारी सकिएको छैन अझै। सुरु भएको छ। अब तपाईँहरूले आउने निर्वाचनमा तपाईँजस्तै सक्षम सबल र निष्ठावान व्यक्तिलाई आफ्नो प्रतिनिधि बनाई पठाउनुपर्नेछ। तब मात्र तपाईँको आन्दोलनले उठाएका मुद्दाहरूलाई कार्यान्वयन गर्न सकिन्छ। अब तपाईहरुले आफ्नो निर्वाचन कार्यालयमा मतदाता नामावलीमा आफ्नो नाम छ , छैन हेर्नुहोला। नभएको भए आफ्नो नामावली दर्ता गर्नुहोला।
अब तपाईंको पुस्ताले प्रत्येक टोल, वडा, नगर, जिल्ला, क्षेत्र हुँदै केन्द्रसम्म सुशासन र भ्रष्टाचारको अन्त्यको लागि संगठन बनाउन आवश्यक हुन्छ त्यो तर्फ ध्यान दिनुहोला। आफ्नो आमा)बाबालाई अब प्रष्टसँग भन्नुहोला आजसम्म हामीले तपाईँहरूले विश्वास गरेको दललाई विश्वास गरेर मत दियौ, सबैथोक दियौ अब तपाईहरुले हाम्रो पुस्ताको निर्णयलाई स्वीकार गरेर हामीलाई साथ दिनुहोला।
हाम्रो पुस्ताको उम्मेदवारलाई मत दिन आह्वान गर्नुहोला। अब तपाईँको पुस्तालाई तपाईँहरुले नै मत दिएर निर्वाचन मार्फत नेपाललाई एउटा सुशासन र विकासको मार्गमा अगाडि बढाउन भूमिका खेल्नुहोला। हामीलाई विश्वास छ तपाईंहरूको यस निर्णयमा सम्पूर्ण नेपाली जनताको रचनात्मक सहयोग हुनेछ।