अमरराज आचार्य
दाङ, २ असोज । दाङबाट हरेक वर्ष खसी–बोका खरिद गदै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष खरिद नगर्ने भएको छ । केन्द्रबाट दाङमा यस पटक खसी–बोका खरिद नगर्न निर्देशन दिएको कम्पनीले जनाएको छ ।
यस वर्ष केन्द्रले खसी–बोका खरिद नगर्ने भनेको र त्यसैमा जेन–जी आन्दोलनबाट सिर्जित पछिल्लो घटना क्रमले थप अन्योलता उत्पन्न भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरका प्रमुख तुलामाया लिम्बुले जानकारी दिइन् । ‘हामीले दाङबाट स्थानीय तह तथा सहकारीहरूलाई खसी–बोका के कति मात्रामा काठमाडौंसम्म लैजान सक्नुहुन्छ भनेर परिपत्र गरेका थियौँ’, उनले भनिन्, ‘निर्देशन अनुसार काम गर्नुपर्ने भएकाले केन्द्रले जे भन्छ हामीले सोही अनुसार काम गर्नुपर्छ तर अहिलेसम्म खसी–बोका खरिदका लागि केन्द्रबाट कुनै निर्देशन आएको छैन ।’
जेन–जीको आन्दोलन भन्दा पहिले केन्द्रले खरिद नगर्न निर्देशन पठाएपछि यस वर्ष आफूहरूले जिल्लामा खसी–बोका खरिद नगर्ने भएको प्रमुख लिम्बुले बताइन् । व्यापार कम्पनीले खसी–बोका खरिद नगर्ने भएपछि बिक्रेताले काठमाडौंसम्म आफैँ लैजानु पर्ने भनेर स्थानीय पालिका तथा सहकारी संस्थाहरूलाई जानकारी गराइसकेको उनको बताइन् ।
उनका अनुसार स्थानीय तहले किसानहरूलाई सहयोग गरेर काठमाडौंसम्म खसी–बोका पु¥याइदिनु पर्ने भनेका थिए । ‘गढवा गाउँपालिकाबाट खसी–बोका खरिद गर्ने भनेर मौखिक सहमति भइसकेको थियो’, व्यापार कम्पनीका सूचना अधिकारी शक्तिराम डाँगीले भने । गाउँपालिका अध्यक्षले केन्द्रसँग समन्वय गरेर गढवाबाट खसी–बोका केन्द्रसम्म पठाउने सहमति भएको सूचना अधिकारी डाँगीले बताए ।
‘खाद्यले कहिलेबाट खसी–बोका कहिलेबाट खरिद सुरु गर्छ’ भनेर कार्यालयसम्म सोध्न आउने किसानको सङ्ख्या बढ्दै गएको कम्पनीले जनाएको छ । दैनिक करिब १०÷१५ जना किसान कार्यालयमा सोध्नकै लागि आउने गरेको उनले बताए ।
जिल्लामा खसी–बोका खरिद गर्न कुनै समस्या नभए पनि खरिद गरेका खसी–बोका काठमाडौं पठाउन ढुवानीको समस्या हुने गरेको प्रमुख लिम्बुले बताइन् । ‘यहाँ तौलिएर खरिद गरेको खसी–बोका काठमाडौं पुग्दासम्म तौल घट्छ । ढुवानीमा पनि त्यस्तै समस्या हुन्छ’, प्रमुख लिम्बुले भनिन् ।
गत वर्ष व्यापार कम्पनीले दाङबाट दसैँका लागि तीन सय ८६ वटा खसी–बोका खरिद गरेर काठमाडौं पठाएको थियो । व्यापार कम्पनीले तीन सय ४६ वटा खसी र ४० वटा बोका केन्द्रमा पठाएको प्रमुख लिम्बुले बताइन् । दसैंका लागि मात्र व्यापार कम्पनीलाई गरेको खसी–बोका बिक्रीबाट जिल्लामा ६३ लाख ७१ हजार आठ सय आठ रुपैयाँको भित्रिएको थियो ।
यो बाहेक व्यापारीले पनि किसानबाट खसी–बोका खरिद गरेर काठमाडौंलगायतका सहरमा पठाउने गरेका छन् । गत वर्ष जिल्लामा खसीको मूल्य वृद्धि गरिएका थियो भने बोकाको मूल्य घटाइएको थियो । गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकेजी पाँच सय ६० र बोकाको मूल्य जिउँदो प्रतिकेजी पाँच सय ४० रुपैयाँ निर्धारण गरिएको थियो । सम्रगमा खसीको मूल्यमा पाँच रुपैयाँले वृद्धि भएको र बोकाको मूल्यमा दुई रुपैयाँले घटाइएको थियो ।
अघिल्लो वर्ष केजी अनुसार मूल्य निर्धारण गरिएको थियो । खसी २० देखि ४० केजीसम्म र बोका १८ देखि ३० केजीसम्मका मात्र खरिद गरिएको थियो । खसी बोका खरिदका लागि व्यापार कम्पनीले आफेनै कार्यालय तथा देउखुरीका विभिन्न स्थानसम्म पुगेको थियो । जिल्लामा व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसान धेरै भएकाले खाद्यले हरेक वर्ष व्यापार कम्पनीले खसी–बोका खरिद गर्दै आएको छ ।
जिल्लाका तुलसीपुर, रिहार, सुनडबरी, बनघुस्रीलगागतका स्थानबाट खसी–बोका खरिद गर्दै आएको व्यापार कम्पनीका प्रमुख लिम्बुले बताइन् । घरआँगनमै गएर खाद्यले खसी–बोका खरिद गरिदिँदा बिक्रीमा सहज हुने गरेको कृषकले बताउने गरेका छन् ।
खसी–बोका बिक्रीका लागि टाढा जान नपर्ने भएकाले आफूहरूलाई सजिलो भएको उनीहरूको भनाइ छ । सरकारले चाडपर्वको समयमा व्यवसायीबाट मूल्य वृद्धि रोक्नका लागि खसी–बोका खरिद गरेर छुटसहित बिक्री गर्दै आएको छ । यसले ताडपर्वको समयमा मासुको मूल्य वृद्धि रोक्न सकिने खाद्यले बताउँदै आएको छ ।
दसैँ तिहारमा खसी–बोकाको कारोबार धैरै हुने र मनपरी मूल्यमा बिक्री वितरण हुने भएकाले सरकारले हरेक वर्ष खरिद गरेर छुटसहित खसी–बोका बिक्री गर्ने गरेको छ । चाडपर्वमा मासु बढी खपत हुने भएकाले मूल्य बजार मूल्य नियन्त्रण गर्न सरकार आफैले खसी–बोका खरिद गरेर बिक्री गर्दै आएको छ ।
यसैबिच यस पटक खाद्य कम्पनीले विगतदेखि दसैँमा बिक्री गर्दै आएको खसी–बोका भने बिक्री नगर्ने योजना रहेको बताएको छ । विभिन्न जिल्लाबाट खसी–बोका र च्याङ्ग्रा ल्याउनुपर्ने र काठमाडौंसम्म ढुवानी गर्न बाटो बिग्रिएकाले ढुवानीमा समस्या देखिएकाले बिक्री नगर्ने योजना बनाएको कम्पनीले जनाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने केही दिन पर्खन निर्देशन दिएको छ ।
मन्त्रालयले केही दिन अहिलेको अवस्था कुरेर खसी–बोका र च्याङ्ग्रा बिक्री गर्न निर्देशन दिएको हुँदा मन्त्रालयको निर्देशन अनुसार कम्पनीले निर्णय गर्ने भएको छ । कम्पनीले यस वर्षको दसैँका लागि चार करोड ७७ लाख रुपैयाँको खसी–बोका र च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको थियो । यो बजेटमा एक हजार तीन सय ८३ वटा खसी–बोका र च्याङ्ग्रा खरिद गर्ने तयारी कम्पनीको थियो ।