घोराही–१० को वडा कार्यालयमा सरसफाइ

गोरक्ष समाचारदाता
दाङ, २ असोज । घोराही उपमहानगरपालिका–१० को वडा कार्यालय सरसफाइ गरिएको छ । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते तोडफोड र आगजनी भएको वडा कार्यालय बुधवार नेपाली कांग्रेस, नेकपा एमाले पार्टीलगायत विभिन्न संघसंस्था र युवाहरूको सहयोगमा सरसफाइ गरिएको हो ।

वडा कार्यालय सरसफाइसँगै आवश्यक सामग्री जुटाएर सेवा सञ्चालन गरिने वडाध्यक्ष दीपक पाण्डेयले जानकारी दिएका छन् । ‘आन्दोलनका क्रममा वडा कार्यालयमा भएको तोडफोड र आगजानीका कारण सम्पूर्ण कागजात, कम्प्युटरलगायत भवन जलेको थियो’, वडाध्यक्ष पाण्डेयले भने, ‘बुधवार नेपाली कांग्रेस, नेकपा एमालेलगायत विभिन्न संघसंस्था, युवा, विद्यार्थीको सहयोगमा सरसफाइ गरेका छौँ । अब आवश्यक सामग्री जुटाएर सेवा प्रवाह गर्ने छौँ ।’

वडा कार्यालय सञ्चालन भएको भवन कामै नलाग्ने गरी जलेकाले सभाहलका लागि निर्माण गरिएको भवनबाट वडाबासीलाई सेवा दिने गरी तयारी भइरहेको वडाध्यक्ष पाण्डेयले बताए । जेन–जी आन्दोलनका क्रममा वडा कार्यालय भवनसँगै नेपाली कांग्रेस पार्टी कार्यालय, नारायणपुरमा इलाका प्रहरी कार्यालय, नारायणपुर खानेपानी, नारायणपुर उद्योग वाणिज्य संघ र लायन्स क्लबको कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।

नारायणपुर निवासी व्यवसायी महेश लम्सालको संयोजकत्वमा इलाका प्रहरी कार्यालयको भवन मर्मत तथा कार्यालय व्यवस्थापनका लागि काम भइरहेको छ ।