अटो व्यवसायीद्वारा ट्राफिक भवनको रङरोगन

गोरक्ष समाचारदाता
दाङ, २ असोज । नेपाल अटो मेकानिकल ट्रेड युनियन घोराही नगर समितिले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा रङरोगन गर्न सुरु गरेको छ । नगर समितिले विश्वकर्मा पूजाको अवसर पारेर ट्राफिक प्रहरी कार्यालयमा रङरोगन गर्न सुरु गरेकोे समितिले जनाएको छ ।

चार दिनभित्र रङरोगन गरेर सक्ने योजनाका साथ काम भइरहेको नगर समितिका सल्लाहकार गोविन्द पौडेले जानकारी दिएका छन् । कार्यालयमा रङरोगनका लागि करिब डेढ लाख रुपैयाँ लाग्ने समितिले अनुमान गरेको छ । समितिको सल्लाह अनुसार काम गर्न थालिएको बताइएको छ ।

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते ट्राफिक प्रहरी कार्यालयमा आगजनी हुँदा क्षति पुगेको छ । भवनमा क्षति पुग्दा ट्राफिक प्रहरीलाई बस्न तथा कार्यालय सञ्चालनमा समस्या भएको छ । ट्राफिक प्रहरीलाई सहज होस् भन्ने उद्देश्यले रङरोगन गर्न थालेको समितिले जनाएको छ ।