विजय बिष्ट
नेपालमा अहिले परिवर्तनको भाषा नयाँ पुस्ता—जेनजेडबाट बोलिँदैछ । सडकमा देखिने युवाहरूको आवाज, सामाजिक सञ्जालमा उठ्ने प्रश्न र नेतृत्वमा पुगेका केही पात्रहरूको कार्यशैलीले स्पष्ट देखाएको छ कि अब देशले परिणाममुखी सोच खोजिरहेको छ । यस सोचलाई मूर्त रूप दिन सक्ने पेशा मध्ये इन्जिनियरिङ अगाडि देखिँदैछ । इन्जिनियरहरूको विश्लेषणात्मक सोच, समस्या समाधान गर्ने क्षमता र दीर्घकालीन योजना बनाउने दक्षता अब केवल कार्यालय र साइटमा मात्र सीमित छैन; यसलाई नेतृत्व र नीति निर्माणमा प्रयोग गर्नुपर्छ भन्ने आवश्यकतालाई जेनजेडले जोड दिएको छ ।
सफल नेतृत्वका उदाहरण
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जेनजेड पुस्ताको प्रतिनिधि पात्र हुन् । इन्जिनियर भएर राजनीतिमा प्रवेश गरेका उनले नगर समस्यालाई केवल नारामा सीमित नगरी व्यवहारिक समाधानमार्फत सम्बोधन गर्ने अभ्यास गरेका छन् । सडक, फोहोर व्यवस्थापन, डिजिटल सेवा सुधार र नागरिक सहभागितालाई ध्यानमा राखेर योजनाहरू लागू गरेको उदाहरणले देखाउँछ कि इन्जिनियरहरूको नेतृत्वले वास्तविक परिणाम दिन सक्छ ।
त्यस्तै, नेपाल आयल निगमका पूर्व सिइओ उमेश थानी पनि इन्जिनियर पृष्ठभूमिबाट आएका थिए । उनले आपूर्ति सुदृढीकरण, पारदर्शिता र संस्थागत सुधारतर्फ कदम चाल्दै देखाए । उनका पहलहरूले प्रमाणित गरे कि प्राविधिक ज्ञानले मात्र संस्थागत व्यवस्थापनलाई आर्थिक र सामाजिक दुवै दृष्टिबाट सुधार्न सक्छ । गत वर्ष नेपालका सबैभन्दा बढी नाफा कमाउने तीनवटा सरकारी संस्थाहरू— नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, र नेपाल टेलिकम । यी सबै इन्जिनियरहरूको नेतृत्वमा रहेका थिए ।
विद्युत प्राधिकरणमा कुलमान घिसिङ, टेलिकममा डिल्लीराम अधिकारी, आयल निगममा उमेश थानी (अघिल्लो कार्यकालमा) सबैको पृष्ठभूमी इन्जिनियर । यी उदाहरणहरूले प्रमाणित गर्छ कि इन्जिनियरहरूले नेतृत्व गर्दा समस्या समाधान, निर्णय क्षमता र दीर्घकालीन योजना लाई व्यवहारिक रूपमा लागू गर्न सकिन्छ ।
सीमित अवसर, ठूलो सम्भावना
यद्यपि यस्ता उदाहरणहरू प्रेरणादायी भए पनि, नेपालमा इन्जिनियरहरूको अवसर अत्यन्तै सीमित छ । देशभर हजारौँ इन्जिनियरहरू उत्पादन भए पनि नेतृत्व गर्ने ठाउँ थोरै व्यक्तिलाई मात्र प्राप्त हुन्छ । अधिकांश इन्जिनियरहरू प्राविधिक कार्यालय र साइटमै सीमित हुन्छन्, जहाँ उनीहरूको निर्णय क्षमता वा नीतिगत योगदानलाई बेवास्ता गरिन्छ ।
राजनीतिक दलहरूले प्राविधिक दक्षतालाई पर्याप्त महत्व नदिँदा, धेरै प्रतिभाशाली इन्जिनियरहरू विदेश पलायन हुनबाध्य छन् । यसले केवल मानव संसाधनको क्षति होइन, देशको विकासमा पनि प्रतिकूल प्रभाव पार्दछ।
इन्जिनियर नेतृत्वबाट अपेक्षित परिवर्तन
इन्जिनियरहरूले नेतृत्व गर्दा नेपालमा निम्न परिवर्तनहरू अपेक्षा गर्न सकिन्छः
१)पारदर्शिता र जवाफदेहिता : निर्णय प्रक्रिया खुला र जिम्मेवार बनाइने
२)दिगो र नाफामुखी व्यवस्थापन : स्रोतको अधिकतम प्रयोग र आर्थिक सुधार
३)पूर्वाधार र योजना निर्माणमा दीर्घकालीन दृष्टि : सडक, पुल, जलस्रोत, ऊर्जा, र डिजिटल सेवा सुधार
४)सामाजिक र वातावरणीय जिम्मेवारी : जलवायु परिवर्तन र दिगो विकासमा बलियो नीति
५)समस्या–सुल्झाउने नवीन दृष्टिकोण : पुराना समस्यामा नवीन समाधान ल्याउने क्षमता
यी सबै परिवर्तनले देखाउँछन् कि इन्जिनियर नेतृत्वले केवल संस्थागत सुधार मात्र होइन, राष्ट्रिय स्तरमा विकासको गति पनि तीव्र बनाउन सक्छ ।
इन्जिनियरिङको पाठ्यक्रम र नेपालको विकास
इन्जिनियरिङको पाठ्यक्रम (ऋगचचष्अगगिm) विद्यार्थीहरूलाई केवल प्राविधिक ज्ञान मात्र प्रदान गर्दैन, यसले समस्या समाधान क्षमता, परियोजना योजना, स्रोत व्यवस्थापन, नवप्रवर्तन र टीम नेतृत्व सिकाउँछ । जब यी क्षमताहरू नेतृत्व र नीति निर्माणमा प्रयोग हुन्छन्, नेपालको विकासमा ठूलो योगदान पुग्छ ।
१) पूर्वाधार विकास : पूर्वाधार विकासले सडक, पुल, भवन र जलस्रोत व्यवस्थापन जस्ता क्षेत्रहरूलाई समेट्छ। यसले देशको आर्थिक गतिविधि र यातायातलाई सहज बनाउँछ। गुणस्तरीय पूर्वाधार निर्माणबाट उत्पादन लागत घट्छ र व्यापार–व्यवसाय विस्तारमा मद्दत पुग्छ। यसरी भौतिक पूर्वाधारको विकासले समग्र राष्ट्रको प्रगतिलाई टेवा पु¥याउँछ।
२) ऊर्जा र प्रविधि : आधुनिक ऊर्जा समाधान र नवप्रविधि अपनाउने क्षमताले देशको आर्थिक तथा सामाजिक विकासलाई गति दिन्छ। जलविद्युत, सौर्य ऊर्जा र अन्य नवीकरणीय ऊर्जाका स्रोतहरूको विकासबाट राष्ट्र आत्मनिर्भर बन्न सक्छ। यसले नयाँ प्रविधिहरूको प्रयोग गरी उत्पादनशीलता बढाउन र रोजगारीका अवसर सिर्जना गर्न मद्दत गर्छ।
३) सामाजिक सेवा सुधार : नागरिकहरूको जीवनस्तर सुधार्नका लागि पानी, फोहोर व्यवस्थापन र डिजिटल सेवाहरूमा सुधार आवश्यक छ। सफा पानीको उपलब्धता र उचित फोहोर व्यवस्थापनले रोगहरूबाट बचाउँछ र स्वस्थ समाज निर्माणमा सहयोग गर्छ। डिजिटल सेवाहरूको विस्तारले सरकारी कामहरूलाई छिटो र पारदर्शी बनाउँछ, जसले जनतालाई सहज पहुँच प्रदान गर्छ ।
४) दिगो विकास र वातावरण : दिगो विकास र वातावरणमैत्री परियोजनाहरूले वर्तमानका आवश्यकताहरू पूरा गर्दै भविष्यको सुरक्षा पनि गर्छन्। जलवायु परिवर्तनका असरहरूलाई कम गर्न र प्रकृतिको संरक्षण गर्न यस्ता योजनाहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। यसले वातावरणलाई हानि नहुने गरी आर्थिक विकास गर्ने लक्ष्य राख्छ र सन्तुलित प्रगतिमा जोड दिन्छ ।
दिगो विकासको सन्दर्भमा, दुवै प्रकारका सडकको प्रयोग आवश्यकता अनुसार गर्नुपर्छ। उच्च यातायात भार भएका मुख्य राजमार्ग र पहाडी क्षेत्रका जोखिमपूर्ण सडकहरूमा सिमेन्टेड सडक बनाउनु उपयुक्त हुन्छ, जसले गर्दा बारम्बारको मर्मत खर्च र स्रोतको दुरुपयोगलाई रोक्न सकिन्छ। कम यातायात भार हुने ग्रामीण सडकहरूमा भने प्रिमिक्स सडक बनाउँदा लागत कम हुन्छ र छिटो निर्माण गर्न सकिन्छ। दिगो विकासका लागि सडक निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन (भ्क्ष्ब्) गर्नु र जलवायु परिवर्तनलाई ध्यानमा राख्नु आवश्यक छ।
यसले प्रमाणित गर्छ कि इन्जिनियरिङ पठनले नेपाललाई दीर्घकालीन विकास र दिगो नेतृत्व दिन सक्छ ।
इञ्जिनियरहरुलाई राजनीति प्रबेशमा ढोका खोल्न आबश्यक
अब यो पेशालाई शुद्ध प्राबिधिक पेशा ठानेर कार्यालयमा सिमित हुने प्रबृत्तिलाई तोडेर अब राजनीतिमा पनि उनिहरुलाई प्रबेशको ढोका खोल्ने र प्रोत्साहित गर्ने हो भने त्यसले सकारात्मक परिणाम दिनसक्छ भन्ने कुरालाई अब थप प्रमाणित गर्न पर्दैन । त्यसकारण निम्न कुराहरुमा पनि स्वयम् इञ्जिनियर र सरोकारवाला सबैले ध्यान दिन आबश्यक पर्दछ ।
१) इन्जिनियरहरू केवल प्राविधिक कार्यालयमा सीमित हुने हैन । स्थानीय निकायदेखि संसदसम्म उम्मेदवार भएर उनीहरूले आफ्नो दक्षता र दीर्घकालीन सोच राजनीतिमा लगाउन सक्नेछन् ।
२) स्थानीय सरकारमा इन्जिनियरको नेतृत्व भनेको गाउँघरको समस्या बुझेर काम गर्नु हो। इन्जिनियरहरूले नेतृत्व लिँदा तपाईंको टोलमा पानीको व्यवस्थापन, फोहोरमैलाको उचित विसर्जन र सडकको गुणस्तर सुधार हुन्छ। उनीहरूले स्थानीय स्तरमा डिजिटल सेवाहरू ल्याएर सरकारी कामलाई सहज बनाउँछन्, जसले गर्दा जनताले स–सानो कामका लागि पनि झन्झट भोग्नुपर्दैन ।
३) केन्द्रीय सरकारमा इन्जिनियरको नेतृत्व भनेको ठूलो चित्र हेर्नु हो। जब उनीहरूले राष्ट्रव्यापी नीतिहरू बनाउँछन्, तब ऊर्जा, ठूला पूर्वाधार र नयाँ प्रविधिका योजनाहरू अझै बलिया र प्रभावकारी हुन्छन्। उनीहरूको सोचले गर्दा दिगो विकास र वातावरणमैत्री योजनाहरूले प्राथमिकता पाउँछन्, जसले देशको भविष्यलाई अझ सुरक्षित र उज्यालो बनाउन मद्दत गर्छ। यसरी, इन्जिनियरहरूले नेतृत्वमा आएर नीति र विकासलाई केवल प्राविधिक दृष्टिले मात्र होइन, दीर्घकालीन र प्रभावकारी रूपमा अघि बढाउन सक्नेछन्।
निष्कर्ष
्जेनजेड क्रान्ति केवल नाराको राजनीति होइन, “हामीलाई परिणाम चाहिन्छ” भन्ने पुस्ताको माग हो । बालेन साह, उमेश थानी, कुलमान घिसिङ वा डिल्लीराम अधिकारी जस्ता पात्रहरूले देखाएको बाटोले प्रमाणित गरिसकेको छ कि इन्जिनियरहरूले नेतृत्वमा आएर देश परिवर्तन गर्न सक्छन् ।
नेपालको बाटो अझै चुनौतीपूर्ण छ—राजनीति, प्रशासनिक अवरोध र स्रोतको कमी सबै छन् । तर, इन्जिनियरहरूको नेतृत्व, जेन जेडको उर्जा, पर्याप्त अवसर र पाठ्यक्रमबाट सिकाइएको क्षमता मिलेमा, यो देशलाई नयाँ संरचना मात्र होइन, नयाँ प्रणालीतर्फ अघि बढाउन सकिन्छ भन्ने विश्वास जागेको छ ।