घोराहीमा सर्वपक्षीय बैठक, नागरिकलाई सहज हुने गरी सेवा प्रवाह गर्न आग्रह

लीलाधर वली

दाङ, ३१ भदौ । तोडफोड र आगजनीबाट क्षति भएका संरचनाको पुनःनिर्माण गर्दै स्थानीय निकायहरुले नागरिकलाई सहज हुने गरी सेवा प्रवाह गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

जेन–जी आन्दोलनका क्रममा घोराही उपमहानगरपालिकामा तोडफोड र आगजनीका भएपछि आइतवार आयोजना गरिएको सर्वदलीय तथा सर्वपक्षीय बैठकका सहभागीले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण उत्पन्न असहज परिस्थितिलाई सहजीकरण गर्दै नागरिकलाई जतिसक्यो चाँडो सेवा दिने गरी लाग्न सुझाव दिएका थिए ।

सर्वदलीय तथा सर्वपक्षीय बैठकमा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको जानकारी गराउँदै नगरवासीलाई सेवा प्रवाहका लागि सबैको सहयोग आवश्यक रहेको बताएका थिए । त्यस क्रममा नगर प्रमुख चौधरीले तोडफोड र आगजनीका कारण उपमहानगरपालिकाको कार्यालयसँगै आठ वटा कार्यालय पूर्ण रूपमा र छ वटा आंशिक रूपमा क्षति भए पनि नागरिकलाई अत्यावश्यक सेवा सोमवारदेखि सुरु गरिएको बताए ।

पूर्वाधारसँगै प्रविधिको अभावका कारण नियमित रूपमा पूर्ण सेवा दिन समय लाग्ने भन्दै नगर प्रमुख चौधरीले जनतालाई आत्यावश्यक पर्ने सिफारिस, सरसफाइलगायतका सेवा सुरु गरिएको बताए । उनले भने, ‘स्थानीय तह र जनप्रतिनिधिबाट नागरिकलाई दिने सेवामा कुनै समस्या नहोस् भनेर अत्यावश्यक सेवा सुरु गरेका छौँ, नियमित सेवा सञ्चालन गर्न करिब एक हप्ता पर्खिनुपर्छ होला ।’ उनका अनुसार क्यान्सर, मुटु रोगलगायतका बिरामीलाई सेवा तथा सरसफाइको कार्य, नागरिकताका सिफारिस, विपद्का सेवा दिन सुरु गरिएको छ ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले उपमहानगरपालिकाको कार्यालयसँगै १९ वटै वडा कार्यालयले पनि अत्यावश्यक सेवा सुरु गरेको जानकारी दिएका छन् । जेन–जी आन्दोलनका क्रममा उपमहानगरपालिकाको कार्यालयसँगै वडा नं. ५, ६, ७, ८, १०, १३, १७ र १८ का कार्यालयहरू पूर्ण रूपमा जलेको र वडा नं. ४, ९, ११, १२, १४ र १५ मा तोडफोड भएको थियो ।

तोडफोड गरिएका कार्यालयमा सरसफाइसँगै सामान्य मर्मत गरेर सञ्चालन गर्ने अवस्था रहे पनि वडा नं. ५ र १७ पुरानो भवनबाट सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको बताए । ती कार्यालयबाट नागरिकलाई तत्काल सेवा दिन कठिनाइ भएकाले मर्मत गर्न र नहुने ठाउँमा भाडामा कार्यालय सञ्चालनको तयारी भइरहेको उनले बताए । उनका अनुसार घोराहीमा १, २, ३, १६ र १९ नम्बर वडा मात्र सुरक्षित रहेको छन् ।

प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार नगर प्रमुखको कार्यकक्षसहित दुई कोठा, सूचना तथा प्रविधि शाखा, विपद् शाखा र लेखाको शाखामा आगलागी हुँदा सम्पूर्ण कागजात जलेका छन् । यसैगरी छ वटा मोटरसाइकल, दुई वटा चारपाङ्ग्रे गाडी र एउटा स्कुटर पूर्णरूपमा जलेका छन् भने एक÷एक वटा सुजुकी गाडी, जेसिबी, ग्रेडर, रोलर र दुई वटा ट्याक्टरमा आंशिक क्षति पुगेको छ ।

नगर प्रमुख चौधरीको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेकपा माओवादी दाङका सचिव विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चा दाङका मनिराम खनाल, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, चेम्बर अफ कमर्श दाङका अध्यक्ष विकास अग्रवाल, घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष लव अधिकारीलगायतले क्षतिको विवरण सङ्कलन, पुनःनिर्माणसँगै सेवा प्रवाहमा लाग्न आग्रह गरेका थिए ।

सामग्री फिर्ता गरिदिन आग्रह

यसैबिच घोराही उपमहानगरपालिकाले जेन–जी आन्दोलनका क्रममा लगेका सामग्री फिर्ता गर्न आग्रह गरेको छ । नगर प्रमुख चौधरीले आन्दोलनका क्रममा कार्यालयमा तोडफोड र आगजनीसँगै कम्प्युटर, प्रिन्टरलगायतका सामग्री चोरी भएको र सिसी क्यामेरामा पनि देखिएकाले तत्काल फिर्ता गर्न आग्रह गरेका छन् ।

महत्वपूर्ण तथ्याङ्कहरू सुरक्षित बनाइ सामग्री फिर्ता गरेर तत्काल कार्यालय सञ्चालन गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । त्यस्ता खालका सामग्री आफ्नो टोल, छिमेकमा देखेमा तत्काल प्रहरी वा उपमहानगरपालिकामा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १५ ले सिपियु, मनिटर, हिटर, पङ्खालगायतका सामग्री नियन्त्रणमा लिएको छ ।

जेन–जी आन्दोलनका क्रममा कार्यालयबाट चोरी भएका कम्प्युटर, सिपियुलगायतका सामग्री प्रहरी र स्थानीयको सहयोगमा आइतवार भारतपुरमा डेरा गरी बस्नेहरूको कोठाबाट फिर्ता ल्याइएको बताएका छन् ।
चोरी भएका सामान फिर्ता गर्न उच्चको आग्रह

दाङको तुलसीपुरमा रहेको उच्च सरकारी वकील कार्यालयले आन्दोलनका क्रममा चोरी भएका सामान फिर्ता गरिदिन सार्वजनिक रूपमा अनुरोध गरेको छ । भदौ २३ र २४ गतेको आन्दोलनका बेला कार्यालयमा तोडफोड तथा आगजनीपछि चोरी भएका ती सामान फिर्ताका लागि यस्तो आग्रह गरिएको हो ।

कार्यालयका निमित्त सहन्यायाधिवक्ता नगेन्द्र लम्सालद्वारा जारी गरिएको सूचनामा, कम्प्युटर, ल्यापटप, प्रिन्टर, हार्डडिक्स, कुर्सी, टेबल, र फ्रिज लगायतका सामग्री चोरी भएको उल्लेख छ। कार्यालयले सामाजिक सञ्जालमा देखिएका तस्बिर र भिडियो, सीसीटीभी फुटेज, र प्रत्यक्षदर्शीको भनाइका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान भइसकेको जनाएको छ ।

चोरी भएका सामानहरू तुरुन्त फिर्ता गर्न वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन कार्यालयले अनुरोध गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र दोषीलाई चाँडै नै कानुनी दायरामा ल्याउने तयारी गरेको जनाइएको छ ।