गोरक्ष समाचारदाता
तुलसीपुर, ३१ भदौ । राप्ती आँखा अस्पतालमा बच्चाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल तुलसीपुर–४ रक्षाचौरमा पहिलो पटक आठ महिनाको शिशुको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।
आँखा अस्पतालमा जनरल एनेस्थेसियामार्फत् जन्मजात आँखामा मोतियाविन्दु भएका एक बालकको पहिलो पटक आँखाको शल्यक्रिया गरिएको अस्पतालका मेसु सहायक प्राडा रन्जितकुमार साहले जानकारी दिएका छन् । राप्ती आँखा अस्पतालमा बालबालिका, वृद्धवृद्धा तथा अशक्तको आँखाको शल्यक्रिया जनरल एनेस्थेसियामार्फत् सुरु भएसँगै आठ महिनाको बालकको मोतियाविन्दुको शल्यक्रिया भएको हो ।
यससँगै अब बालबालिका, वृद्धवृद्धा तथा अशक्तको आँखाको शल्यक्रिया गर्ने बिरामीलाई टाढा जानुपर्ने बाध्यता हटेको छ । एनेस्थेसियामार्फत् धेरै बिरामीले सेवा पाइरहेका छन् । विशेष गरी मोतियाविन्दु बुढेसकाल वा ६० वर्ष उमेर कटेपछि मात्र हुन्छ भन्ने बुझाइ सर्वसाधारण मानिसमा भएको पाइन्छ तर उमेर मुख्य कारण भए पनि अरू अवस्थामा पनि मोतियाविन्दु हुने चिकित्सक बताउँछन् । बालबालिकामा पनि मोतियाविन्दु फाटफुट देखिने गरेको चिकित्सक बताउँछन् ।
‘राप्ती आँखा अस्पतालमा पहिलो पटक आठ महिनाको बालकको मोतियाविन्दुको शल्यक्रिया भएको हो’, डा. साहले भने । अस्पतालमा दैनिक जलविन्दु, मोतिया विन्दुलगायत आँखासम्बन्धी विभिन्न शल्यक्रिया हुने गरेका छन् । जलविन्दु र फेको सर्जरीमा विशेषज्ञता हासिल गरेका डा. साह अस्पतालमा आएसँगै जलविन्दुका बिरामीलाई सेवा लिन सहज भएको छ ।