तुलसीपुर उपमहानगरपालिकाले आजदेखि सेवा दिने

गोरक्ष समाचारदाता
तुलसीपुर, ३१ भदौ । तुलसीपुर उपमहानगरपालिकाले जलेकै भवनबाट सेवा दिने भएको छ । उपमहानगरपालिकाको सोमवार बसेको ३८ औँ कार्यपालिका बैठकले आज मङ्गलवारदेखि जलेकै भवनबाट सेवा दिने निर्णय गरेको हो ।

कठिन परिस्थितिका बिच उपमहानगरले नियमित सेवा दिने नगरका प्रवक्ता माधव वलीले जानकारी दिएका छन् । जेन–जीको आन्दोलनका क्रममा तुलसीपुर उपमहानगरपालिकाको सेवा प्रवाह गर्ने दुईवटै भवन जलेका छन् भने अन्य संरचनामा पनि क्षति पुगेको छ ।

नागरिकको समस्यालाई मध्यनजर गर्दै सेवा प्रवाह गर्ने निर्णय गरेको उनले बताए । नगरले तत्काल पाल टाँगेर भए पनि सेवा दिने नगर प्रवक्ता वलीले जानकारी दिए । केही दिनपछि नगरको नवनिर्मित व्यापारिक भवन (ट्रेड टावर)को मर्मत गरिसकेपछि सोही भवनबाट सेवा प्रवाह हुने उनले बताए ।

यसैबिच उपमहानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको तलब नलिने भएका छन् । प्रवक्ता वलीका अनुसार जेन–जीको आन्दोलनपछि नगरमा क्षति पुगेपछि पुनःनिर्मण र भौतिक निर्माणमा सहयोग पुगोस् भनेर नगरका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको तलब नलिने भएका हुन् । एक महिनाको तलबबापतको रकम उपमहानगरपालिकाको भौतिक निर्माणमा खर्च गर्ने कार्यपालिकाले निर्णय गरेको छ ।

कार्यपालिका बैठकले आन्दोलनका क्रममा निधन भएकाप्रति शोक प्रस्ताव पारित गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै आन्दोलनको नाममा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनेको पहिचान गरी कारबाहीको माग गरेको छ ।

तुलसीपुर खानेपानीले सरसफाइमा सहयोग गर्ने

 जेन–जी आन्दोलनका क्रममा तुलसीपुर क्षेत्रमा भएको तोडफोड तथा आगजनीले प्रभावित सरकारी कार्यालय र अन्य सार्वजनिक संरचना सरसफाइ तथा व्यवस्थापनका लागि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सहयोग गर्ने भएको छ ।

संस्थाको सोमवार बसेको कार्यसमितिको बैठकले प्रभावित क्षेत्रलाई चाँडै सामान्य अवस्थामा फर्काउन योगदान पु¥याउने निर्णय गरेको हो । यस अन्तर्गत फोहोर व्यवस्थापन तथा सरसफाइका लागि संस्थाले फोहोर उठाउने गाडी, पानी आपूर्ति गर्ने ट्याङ्कर, ध्वस्त संरचना हटाउन डोजरलगायतका मेसिन तथा आवश्यक जनशक्ति उपलब्ध गराउने निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष यमकान्त भण्डारीले आन्दोलनपछि सहरको सौन्दर्य र सरसफाइमा असर पुगेकाले तत्काल सरसफाइ अभियान आवश्यक रहेको बताएका छन् । उनले तुलसीपुरलाई स्वच्छ र सुरक्षित बनाउन सरोकारवाला सबैलाई सहयोग र सहकार्य गर्न आह्वान समेत गरेका छन् ।

जेन–जी आन्दोलनका क्रममा भएका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना तथा दिवङ्गतप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । तुलसीपुर क्षेत्रमा जेन–जी आन्दोलनमा सरकारी कार्यालय, राजनैतिक दलका कार्यालय, व्यक्तिका निजी निवास, होटेल, सडक छेउका संरचना तथा अन्य सार्वजनिक सम्पत्ति क्षति भएको छ ।