गोरक्ष समाचारदाता
दाङ, ३१ भदौ । अरिङ्गालले टोकेर गम्भीर घाइते भएर मृगौलाले काम गर्न छाडेका बालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल उपचार भएको छ । रोल्पा निवासी १० वर्षीय बालक शंकर परियारको प्रतिष्ठानमा २३ दिनको लामो उपचारपछि चिकित्सकले डिस्चार्ज गरेका हुन् ।
प्रतिष्ठानका बाल रोग विशेषज्ञ प्राध्यापक डा.दीपकराज पौडेल नेतृत्वको बालरोग विशेषज्ञ चिकित्सक र पिजिसियन डा. अजयराज गौतम नेतृत्वको चिकित्सक, नर्स, स्वास्थ्यकर्मीको टोलीले बालकको उपचार गरेको हो । मृगौलाले काम गर्न छाडेपछि तुरुन्तै डायलाइसिस गरेर बिरामी बचाउन सफल भएका हुन् ।
पिआइसियुमा राखेर बालकको ११ चोटी डायलाइसिस गरिएको उपचारमा खटिएका बालरोग विशेषज्ञ डा. निरज आचार्यले बताइन् । उपचारमा खटिएका अर्का चिकित्सक फिजिसियन डा. अजयले बालकको दुवै मृगौलाले सामान्य काम गर्न थालेपछि लामो उपचारपछि डिस्चार्ज गरिएको बताए ।
रोल्पामा १० जनालाई अरिङ्गालले टोक्दा एक जनाको मृत्यु भएको थियो । स्कुलबाट घर फर्किँर्द गर्दा अरिङ्गालले टोकेको थियो । घाइते बालकमध्ये शंकरलाई मात्रै ५० वटा अरिङ्गालले टोकेका थिए । अरिङ्गालले टोकेपछि बालकको मृगौलामा समस्या भएको थियो ।
‘अरिङ्गालले टोकेर घाइते भएका शंकरको स्वास्थ्य अलि बढी गम्भीर थियो, दुई दिनसम्म पिसाव आएको थिएन, शरीर पूरै सुन्निएको थियो, उच्च रक्तचाप थियो’, डा. आचार्यले भने, ‘अहिले मृगौलाले काम गर्न सुरु गरेको छ, उच्च रक्तचाप पनि छैन, त्यसैले बिरामी बालकलाई डिस्चार्ज गरेका छौँ ।’