जिल्ला अदालत दाङद्वारा सेवा सुरु

घोराही, ३१ भदौ । जिल्ला अदालत दाङले सोमवारदेखि सेवा सुरु गरेको छ । अदालतले तारिख लिने, पक्राउ अनुमति जारी, मुद्दाको म्याद थपलगायतका सेवा सुरु गरेको अदालतका श्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतमै आगलागी भएर सर्भर डाउन भएकाले नियमित रूपमा पूर्ण सेवा दिन समय लाग्ने भए पनि तारिख, मुद्दाको म्याद थप, पक्राउ अनुमति जारी, मोबाइलको कल डिटेल लिनका लागि प्रहरीलाई आवश्यक पर्ने अनुमतिलगायतका सेवा दिन सुरु गरिएको बताए ।

तोडफोड र आगजनीबाट क्षति भएका संरचनाको मर्मत गर्दै कार्यालय सञ्चालन गरिएको भन्दै अदालतका श्रेस्तेदार भण्डारीले भने, ‘पूर्ण रूपमा सेवा दिन समय लाग्ने भए पनि आकस्मिक सेवा दिन थालेका छौँ ।’ उनका अनुसार अदालत तोडफोर र आगजनीका क्रममा दुई करोड बराबरको क्षति भएको छ ।

आन्दोलनका क्रममा अदालतमा तोडफोड, आगजनी र चोरी भएको थियो । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते अदालतमा भएका ३७ वटा कम्प्युटर र नगद चार लाख रुपैयाँ चोरी भएको थियो ।
यसैगरी तुलसीपुरमा रहेको उच्च अदालतले आइतवारदेखि नागरिकलाई सेवा दिन सुरु गरेको थियो । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते जिल्लामा २३ बढी सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।