उच्च अदालत तुलसीपुरमा सेवा सुरु, अन्यमा भने अझै अनिश्चित

बालाराम खड्का
तुलसीपुर, ३० भदौ । दाङको तुलसीपुरस्थित उच्च अदालत तुलसीपुरले तोडफोड र आगजनीबाट क्षतिग्रस्त संरचनाबाटै आइतवारदेखि सेवा सुरु गरेको छ ।

अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता, उक्त सुनुवाई गर्ने कार्य, पक्राउ अनुमति जारी र स्वीकृति प्रदान गर्ने कार्य आइतवारदेखि सुरु गर्ने निर्णय गरेसँगै सेवा सुरु भएको अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाले जानकारी दिएका छन् ।

आइतवारबाट सेवा सुरु गरे पनि सेवाग्राही भने एकजना पनि नआएको उनले बताए । ‘हामीले आजदेखि सेवा सुरु गरेका छौँ तर अहिलेसम्म एकजना पनि सेवा लिन आउनुभएको छैन’, उनले भने । बास्कोटाले जलेर क्षतिग्रस्त भएको अदालत सरसफाई आइतवार गरेको बताए ।

उनले तोडफोड र आगजनी पछिको बिषम परिस्थितिका बाबजुद उच्च अदालतबाट मुद्दा दर्ता एवम् सुुनुवाई समेतका काम कारबाही सूचारु गर्ने भरमज्दुर प्रयास भइरहेको र त्यो केही दिन लाग्ने बताए ।

जेन–जीको नाममा भएको प्रदर्शनका क्रममा भदौ २४ गते उच्च अदालत तुलसीपुरमा पनि तोडफोड र आगजनी भएको थियो । जसबाट अदालतका अधिकांश भौतिक संरचना, इजलास, चालु मुद्दा तथा मिसिल, सूचना प्रविधि प्रणालीसमेत क्षतिग्रस्त बन्न पुगेको रजिष्ट्रार बासकोटाले बताए । अदालतमा तोडफोड, ढुङ्गामुडा, आगजनी र लुटपाट समेतका घटना भएको छ ।

सवारी साधनका साथै अन्य सबै जलेर नष्ट भएका छन् भने माथिल्लो तलाको अभिलेख शाखा भने बचेको छ । ‘अन्य सेवा दिन केही समय लाग्छ, अभिलेख शाखा बाहेक सबै जलेको छ केही सामान छैन’ रजिष्ट्रार बास्कोटाले भने ।

त्यस्तै अदालतले एक सूचना जारी गरी अदालतबाट तोडफोड आगजनी पश्चात कार्यालयका कम्प्युटर, प्रिन्ट, कुर्सीलगायतका अन्य सामग्री चोरी गरी लैजाने कार्य गरेको र उक्त कार्यमा संलग्नको पहिचान सिसिटिभि फुटेज मोबाइल, सामाजिक सञ्जालमा र मोबाइलको फोटामा समेत भइसकेको हुँदा सामान फिर्ता गर्न सूचनामार्फत् अनुरोध सहित जानकारी गराएको छ ।

सामान फिर्ता गर्नेलाई कुनै किसिमको कारबाही नहुने र सामान फिर्ता नगर्ने उपर कानुनी कारबाही गर्ने अदालतले जनाएको छ । त्यस्तै अन्य कार्यालयले पनि चोरी भएका सामान बुझाई दिन आग्रह गरेका छन् ।

त्यस्तै इलाका प्रशासन कार्यालय तुलसीपुरले अतिआवश्यक सेवा घोराहीबाट दिने भएको छ । कार्यालयले आइतवार एक सूचना जारी गर्दै अत्यावश्यक सेवा चाहिएमा इलाका प्रशासन कार्यालय तुलसीपुरबाट प्रवाह हुने सेवा जिल्ला प्रशासन कार्यालय घोराहीबाट लिन सकिने जनाएको हो ।

यता इलाका प्रशासन कार्यालय तुलसीपुरमा आगजनी भएपछि नियमित सेवा प्रभावित भएको छ । आगजनीले गर्दा कार्यालय जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

कार्यालयले आइतवार एक सार्वजनिक सूचना जारी गर्दै अस्थायी रूपमा दैनिक प्रशासनिक कामकाज ठप्प रहेको र आपतकालीन अवस्थामा मात्रै जिल्ला प्रशासन कार्यालय घोराहीमार्फत् सेवा लिन सकिने जानकारी दिएको छ ।

इलाका प्रशासन कार्यालयले सेवाग्राहीलाई कुनै असुविधा नहोस् भनी तत्कालका लागि घोराहीस्थित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न कार्यालयका उपसचिव महेशकुमार गुरुङले आग्रह गरे । कार्यालयका उपसचिव गुरुङले हस्ताक्षर गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि तुलसीपुरबाट दिने सेवा स्थगित गरिएको भनिएको छ ।