चाडपर्व लक्षित आजदेखि सहुलियत पसल

अमरराज आचार्य
दाङ, ३० भदौ । चाडपर्व लक्षित सहुलियत पसल आजदेखि सरकारले सञ्चालन गर्ने भएको छ । दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड घोराहीले सहुलियत पसल सञ्चालन गर्ने भएका छन् ।

हरेक वर्ष नागरिकलाई सहजताको लागि भन्दै सरकारले चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्दै आएको छ । खाद्यले तुलसीपुरमा र साल्ट ट्रेडिङले घोराहीमा सहुलियत पसल सञ्चालन गर्ने भएका हुन् । साल्ट टे«डिङले सहुलियत पसलबाट नुन मात्र बिक्री गर्ने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड घोराहीका प्रमुख रामबाबु गुप्ताले चिनी आइ नसकेको कारणले नुन मात्र बिक्री गर्न थालेको बताए ।

‘अहिलेको देशको अवस्थाले मगाएको चिनी आइ पुगेको छैन, नुन मात्र भए पनि बिक्री गर्ने तयारी गरेका छौँ’ प्रमुख गुप्ताले भने, ‘चिनी आएपछि बिक्री गर्छौँ ।’ उनका अनुसार नुनप्रति किलो २४ रुपैयाँका दरले बिक्री गरिने बताए । बजारमा नुन अहिले प्रति केजी २६ रुपैयाँमा बिक्री भइरहेको छ । नुनमा दुई रुपैयाँ छुट दिएको छ । प्रति व्यक्तिले ५ केजी नुन पाउने प्रमुख गुप्ताले बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले सहुलियत पसलबाट चामल र नुन बिक्री गर्ने भएको छ । कम्पनीका सूचना अधिकारी शक्तिराम डाँगीले सोमवारबाट सहुलियत पसल सञ्चालन गरिने बताए । ‘सहुलियत पसलबाट चामल र नुन बिक्री हुने छ’ उनले भने । चामल र चिनीमा प्रति केजी पाँच रुपैयाँ छुट दिइएको उनले बताए । चामल आवश्यक मात्रामा नागरिकले खरिद गर्न सक्ने छन् भने प्रति व्यक्तिले ५ केजी खरिद गर्न सक्ने सूचना अधिकारी खड्काले बताए ।

सरकारको निर्णय अनुसार चाडपर्वलार्ई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभर सोमवारदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । जेन–जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले सहुलियत पसल सञ्चालनमा अन्योल बने पनि सेनाको निषेधाज्ञा र कफ्र्यु् हटेसँगै खाद्यले सञ्चालन गर्ने निर्णय गरेको हो ।

सहुलियत पसल सोमवारदेखि ४५ जिल्लाका एक सय ११ स्थानबाट सञ्चालन हुन्छ । सर्वसाधारणले खाद्यका आउटलेट र बिक्री केन्द्रबाट छुटका सामान किन्न सक्छन्,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले भने, ‘साथै अनलाईनबाट पनि बिक्री गर्छौँ ।’ खाद्यका अनुसार सबै किसिमका चामल, चिनी, गेडागुडीमा प्रति किलोमा पाँच रुपैयाँ छुट पाइने छ । खाने तेल, चिउरा, आटा, मैदामा प्रतिकिलो÷लिटरमा सात रुपैयाँ छुट र चिउरा, जिरा÷धनियामा प्रति किलो १० रुपैयाँ छुट पाइने जनाएको छ ।

यस वर्ष सहुलियत खसीबोका र च्यांग्राको बिक्री भने अनिश्चित बनेको आचार्यले बताए । ‘खसीबोका, च्यांग्रा खरिद गर्न स्थानीय तहको समन्वय चाहिन्छ । पछिल्लो घटनाक्रममा एक–दुई दिन पर्खेर हेर्ने अवस्थामा छौँ,’ उनले भने, ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय पनि आउँछ, त्यसपछि प्रक्रिया थाल्छौँ ।’

खसीबोका र च्यांग्रा बिक्री गर्न खाद्यले अग्रिम अनलाईन बुकिङ गरेको थियो तर सामाजिक सञ्जाल बन्द भएपछि प्रक्रिया रोकिएको हो । त्यसपछि जेन–जीको आन्दोलनले स्थानीय तहसँगको सम्पर्क टुटेको थियो । अब मन्त्रालयको निर्णय र निर्देशन अनुसार खसीबोका र च्यांग्रा खरिद–बिक्री हुने खाद्यले जनाएको छ ।