जेन–जी आन्दोलन र बालमनोविज्ञान, ‘म पनि जेन–जी हुँ, ग्याङ बोलाइदिउँ ?’

देवेन्द्र बस्नेत

दाङ, ३० भदौ । २३ भदौको साँझ घरमा पुग्दा छोरा पनि भर्खरै विद्यालयबाट घर पुगेको थियो । विद्यालय कक्षा सकिए लगत्तै ट्युशन पढ्ने उसका लागि पनि घर पुग्ने समय भनेको झमक्क साँझ पर्दा नै हो । दिनभर विद्यालयको पठनपाठनले उसलाई २३ भदौको दिनभर मुलुकमा के—के भयो पत्तो भएन ।

जेन–जी आन्दोलनका क्रममा पहिलो दिन १९ जनाले ज्यान गुमाएको समाचार मैले उसलाई सुनाउन पनि चाहेन । आन्दोलन, आगजनी, हत्या जस्ता अप्रिय घटनाक्रमले बालमनोविज्ञानमा ठूलो असर पार्छ मैले यो अध्ययनका क्रममा बुझेको छु । म साइकोलोजीको विद्यार्थी पनि भएको नाताले फलतः जेन–जी आन्दोलनका बारेमा २३ भदौमा मैले उसलाई सुनाउने चेष्टै गरेन ।

२४ भदौको बिहान विद्यालय बन्द हुने खबरले सात कक्षामा अध्ययनरत छोरालाई कौतुहलता जाग्यो–बाबा स्कुल किन बन्द भएको ? उसको प्रश्नको उत्तर सामान्य ढंगले दिन खोजेँ–‘आन्दोलन चलेको छ ।’ के को आन्दोलन ? कस्तो आन्दोलन ? किन आन्दोलन ? यस्ता यावत बालमनोविज्ञानबाट उब्जिएका प्रश्नहरूको उत्तर सामान्य ढंगबाटै दिन खोजेँ । ताकि आन्दोलन शब्दलाई गलत ढंगबाट बाल मानसपटलले क्याच नगरोस् ।

तर जेन–जीका नाममा चलेको आन्दोलनले बिकराल रूप लियो । आगजनीका घटनाहरू ऋृंखला पिच्छे भिडियो मार्फत् सार्वजनिक हुन थाले । अझ छिमेकमै सल्किएको आगोका लप्काहरूलाई मैले छोराको नजरबाट छिपाउन सक्ने कुरै भएन । अन्ततः उसले सोध्यो ‘बाबा जेन–जी को हुन् ?’ मैले उसलाई अब सामान्य ढंगबाट अर्थात उसले नबुझ्ने शैलीमा घुमाउरो जवाफ दिन जरुरी थिएन, किनकी उसले आन्दोलन र जेन–जीको सम्बन्धका बारेमा बुझिसकेको थियो, मलाई यस्तो लाग्यो । यो आन्दोलन, आन्दोलनको म्यान्डेट र आन्दोलनकारीका बारेमा प्रष्ट पारिदिएँ, जति मैले यो आन्दोलनका बारेमा बुझेको थिएँ र बुझेको छु । उसले यो आन्दोलनलाई बुझेन, मैले जति बुझाउन खोजेँ ।

हुन पनि शासन व्यवस्था सुधारका निम्ती थालिएको आन्दोलनको अर्थ उसले बुझ्ने कुरै भएन, जबकी उसलाई शासन व्यवस्था के हो ? भन्ने प्रष्ट थाहा छैन, अझ अहिलेको शासन व्यवस्था ठिक वा बेठिक भनेर केलाउन सक्ने मानसिक विकास उसमा भइसकेकै छैन । तथापी मैले आन्दोलनलाई २३ र २४ भदौको जस्तो विध्वंशका रूपमा मात्रै नबुझ्ने शैलीमा बुझाउन कोशिस गरेँ ।

आन्दोलनका कारण विद्यालय बन्द । ल्यापटप र मोबाइलले उसको समय खर्चिइरहेका छन् । २४ गते साँझ उसले युट्युवमा भारतीय सञ्चारमाध्यमले जेन–जी आन्दोलन बारे तयार पारेका समाचार सामाग्री हेरिरहेको थियो । अधिक उत्तेजक शैलीमा तयार पारिएका भिडियो सामाग्रीले उसको मानसपटलमा नकारात्मक असर पार्ने होकि भन्ने चिन्ता थपिएर आयो ।

यस्ता सामाग्री नहेर्न आग्रहसहित उसको दृष्टिलाई ल्यापटपबाट अलग गराइदिएँ । २५ गते पनि विद्यालय बन्द रहने समाचारले उसलाई फेरि ल्यापटप र मोबाइलमै रम्न पाउने उत्साहले उक्साइरहेको थियो । २५ गते बिहान ल्यापटपमा नजर दौडाइरहेको उसलाई पढ्न आग्रह गरेँ । मेरो आग्रहको जवाफ उसले आन्दोलनसँग जोड्यो, अनि आन्दोलनकारी जेन–जी पुस्तासँग ।

उसले जवाफ दियो ‘म पनि जेन–जी हुँ, जेन–जी ग्याङ बोलाइदिउँ ?’ उसले यो वाक्य जिस्केको शैलीमा भनिरहेको थियो तर मलाई उसको यो बोली काठमाडौँमा चलेको पछिल्लो आन्दोलनले पारेको मानसिक असरका रूपमा बुभ्mन गाह्रो परेन । उसको मानसपटलमा दुई कुराले प्रभाव जमाइसकेका थिए, एउटा–आन्दोलन भनेको बिध्वंश मात्रै हो, दोस्रो–काठमाडौँमा चलेको आन्दोलन कुटपिट र बिध्वंश मच्चाउन मात्रै गरिएको छ ।

यहाँनेर जेन–जीका माग वा आन्दोलन र आन्दोलनको म्यान्डेटलाई मैले गलत विश्लेषण गर्न खोजिरहेको भने छैन । जेन–जी पुस्ता र उनीहरूले गरेको आन्दोलनको मर्म मूलुक सुधारका निम्ती थियो, यसमा कुनै सन्देह छैन पनि तर आन्दोलनका क्रममा सिर्जित परिस्थतिले के देखायो ? वा आन्दोलनका क्रममा के कस्ता घटना क्रम देखिए ?

आन्दोलनको म्यान्डेटसँगै आन्दोलनका क्रममा भएका गतिविधिहरूलाई पनि विश्लेषण गर्नु मानवीय स्वभाव हो । अझ आन्दोलनको मर्म बुझाएर बुझ्नै नसक्ने उमेर समूहका (बाल) मानसपटलमा आन्दोलनबाट सिर्जित घटना मात्रै छापिन्छन् । मुलुक सुधारका निम्ती गरिएको आन्दोलनको अर्थ नबुझ्ने यो समूहले केवल आन्दोलन देखे, आगजनी देखे, कुटपिट देखे, गोलीबारी देखे अनि समग्रमा आन्दोलनलाई बिध्वंश मात्रै बुझे ।

जेन–जी आन्दोलन मात्रै हैन, कुनै पनि आन्दोलनका क्रममा हुने ज्यादती वा डरलाग्दा दृष्यले बालमानसपटलमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । अनि यस्ता आन्दोलनका कारण विद्यालयदेखि वञ्चित रहनु पर्दा उनीहरू घरमै रहने र मोबाइल, ल्यापटप जस्ता प्रविधिसँग साक्षात्कार गरिरहेकै हुन्छन् । अझ यस्ता प्रविधिको दुरुपयोग गर्दै इन्टरनेट गेममा अभ्यस्त रहने यो बाल पुस्ताको मनोविज्ञानमा ठूलो असर पारिरहेको हुन्छ ।

मनोचिकित्सक समेत यस्ता आन्दोलनका क्रममा देखिने भयानक दृष्यले बालमनोविज्ञानमा ठूलो असर पर्ने बताउँछन् । ‘आन्दोलनका क्रममा देखिने भयावह, भागदौड, आगजनीले बालबालिकालाई तर्साइरहेको हुन्छ,’ मनो चिकित्सक डा. अरविन्द भुषाल भन्छन् ‘यस्ता घटनाहरूका कारण डराउने, एक्लै बस्न नसक्ने, रातिमा झस्किने लगायतका मानसिक समस्या आउँछन् ।’ सकभर आन्दोलनका क्रममा हुने भयावहका घटना बालबालिकालाई कुनै पनि माध्यमबाट नदेखाउन उत्तम हुने समेत उनको भनाइ छ ।

यस्तै उनका अनुसार विद्यालय बन्द हुँदा इन्टरगेमिङले समेत उनीहरूलाई मानसिक रूपमा प्रभाव पारिरहेका हुन्छन् । विद्यालय बन्द हुँदा इन्टरनेट गेमिङमै अहिलेका बालबालिका बढी अभ्यस्त हुने भन्दै डा. भुषालले भने ‘उनीहरूमा आक्रोश र मानसिक विचलन झनै बढेर जान्छ ।’