मुचुल्काको काम सकियो, अब सेवा प्रवाहको तयारी

खेमराज रिजाल
दाङ, २९ भदौ । करिब एक साता सन्नाटा छाएको प्रशासनिक सेवा अब विस्तारै सुचारु हुने तयारीमा छ । जिल्लामा जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले जलाएका कार्यालय बाहेक सग्ला कार्यालयहरू आइतवारदेखि नै सेवा दिने तयारीमा रहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

प्रमुख जिल्ला अधिकारीले शुक्रवार जिल्लाका पालिका तथा सरकारी कार्यालयका प्रमुखहरूको बैठक बोलाएका थिए । बैठकमा प्रदर्शनका क्रममा तोडफोड भएका तथा जलेका कार्यालयहरूको सरसफाइको अवस्थाका विषयमा जिज्ञासा राखेका थिए भने शनिवार पनि प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र तुलसीपुर क्षेत्रमा जलाइएका इलाका प्रशासन कार्यालय, लोक सेवा आयोगलयलगायतका कार्यालयहरूको स्थलगत अनुगमन गरेका थिए । शनिवार पनि कर्मचारीहरू कार्यालयमा पुगेर सरसफाइ गरिरहेका देखिन्थे ।

‘केही कार्यालयहरू सग्ला पनि छन्, सेवाग्राही आएको अवस्थामा अब ती कार्यालयले आइतवारदेखि सेवा दिन सक्नेछन्’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने । कतिपय कार्यालयहरूले भने मुचुल्का उठाउन ढिलो हुँदा सरसफाइको काममा समस्या भएको बताएका छन् । सुरक्षा अधिकारीहरूले भने मुचुल्का उठाउन नेपाल प्रहरीले ढिलासुस्ती नगरेको बताएका छन् । सुरक्षा अधिकारीका अनुसार शनिवारसम्म करिब करिब मुचुल्का उठाउने काम सकिइसकेको छ । सबै कार्यालयहरूले आगजनी र तोडफोडको क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइसकेका छन् ।

अवस्था विस्तारै चलायमान हुन थालेको र नागरिकमा अब सेवा प्रवाहको काम सुरु गर्दा सहज हुने अभिव्यक्ति आइरहेको छ । जलेका कतिपय कार्यालयहरूमा सबै सिस्टम व्यवस्थित भइसकेको छैन । बत्तीको समस्या, इन्टरनेटको समस्यादेखि सफ्टवेयर पुनः जडानको विषयमा समस्या देखिएको छ । कतिपय कार्यालयमा काम गर्ने कम्प्युटरसमेत सबै ध्वस्त भएकाले त्यसको व्यवस्थापनमा आफूहरू लागिरहेको बताएका छन् ।

‘आज शनिवार मात्रै मुचुल्काको काम सकिएको छ, भोलि आइतवारदेखि सरसफाइको काम गर्छौँ, कुनै पनि ल्यापटप तथा कम्प्युटर सुरक्षित नरहेकाले त्यसको पनि व्यवस्थापन गर्नुप¥यो, यी सबै मिलाउन अझै एक साता लाग्ने छ’, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले भने । प्रदर्शनकारीले घोराही उपमहानगरपालिकाका प्रायः सबै कोठाहरू जलाएर ध्वस्त बनाइदिएको उपमहानगरपालिका प्रशासनले जनाएको छ । मुचुल्का नउठाई सरसफाइ गर्नैै समस्या भएकाले काममा केही ढिलाइ भएको प्रमुख प्रशासकीय अधिकृत केसीले भने ।

तुलसीपुर उपमहानगरपालिका प्रदर्शनका क्रममा झनै बढी तारो बन्यो । पुरानो भवनका केही कक्षका फर्निचर र कम्प्युटर तथा कर्मचारीले घरमा लगेका ल्यापटपबाहेक सबै जलेर खरानी भएको प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले गोरक्षलाई जानकारी दिएका छन् । तुलसीपुर उपमहानगरपालिकाले पनि जलेका र तोडफोड भएका सामानका मुचुल्का उठाउने काम शनिवार सकिएको जनाएको छ । ‘मुचुल्का टिपाउने काम करिब करिब आज सकिएको छ, भोलि बिहान ७ बजेदेखि हामी कर्मचारीले नै सरसफाइ थाल्ने छौँ’, प्रमुख प्रशासकीय अधिकृत पार्धेले भने ।

सरसफाइको सबै काम सक्न करिब एक साता लाग्ने भए पनि आकस्मिक काम भने एक÷दुई दिनमै थाल्न सकिने उपमहानगरपालिका प्रशासनले जनाएको छ । खास गरी सेवाग्राहिलाई आवश्यक पर्ने आकस्मिक काम भनेको सिफारिसको हो, जुन वडाबाटै हुन्छ, हाम्रा धेरै वडा सग्ला भएकाले सिफारिसको काम सुचारु हुन समय नलाग्ने उनले बताए । ‘अन्य कार्यालयहरू सुचारु भएपछि मात्र सिफारिसको काम चाहिने हो, हामी त्यसमा सचेत छौँ’, प्रमुख प्रशासकीय अधिकृत पार्धेले भने ।

दाङमा प्रदर्शनीका क्रममा जलेको बबई गाउँपालिका कार्यालय पनि हो । सो कार्यालयले मुचुल्का उठाउने काम शुक्रवार सकेको छ । जलेको कार्यालयभित्र सरसफाइको काम शनिवार भयो । ‘अब आइतवार पानीले पखालेपछि कुर्सी, टेवल सेट गरेपछि सामान्यतया काम सुचारु हुनेछ’, बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोखिम वलीले भने । विद्युत र इन्टरनेट जोड्न प्राविधिक बोलाइसकिएको उनले बताए ।

देउखुरी क्षेत्रमा भने प्रदर्शनकारीले धेरै पालिकामा आगजनी र तोडफोड गर्न पाएनन् । केही पालिकाका बाहिरी खण्डमा मात्र सामान्य तोडफोड भएकाले ती पालिकाहरू सेवा प्रवाहमा जुटिसकेको बताएका छन् । जनतालाई सबैभन्दा बढी सेवा प्रवाह गर्ने कार्यालय भनेको मालपोत कार्यालय हो । घोराही र तुलसीपुरका दुवै मालपोत कार्यालय जलेका छन् । नापी शाखाहरू जलेका छन् । आगजनीमा कार्यालयको रेकर्डमा रहेका सबै मोठहरू जलेर खरानी भइसकेको ती कार्यालयका कर्मचारीले बताएका छन् । कार्यालयमा रहेका १५÷१६ वटै कम्प्युटर जलेर ध्वस्त भएका छन् ।

‘आज बल्ल मुचुल्काको काम सकिएको छ, आइतवारदेखि मात्रै सरसफाइको काम सुरु हुने र त्यसपछि फर्निचर र कम्प्युटरको व्यवस्थापन गर्छौँ, पूर्ण रूपमा सेवा सुचारु गर्न कम्तीमा दसैँ अघिसम्मको समय लाग्ने छ’, मालपोत कार्यालय घोराहीका एक कर्मचारीले बताए । कार्यालयका सबैथोक जलेर खरानी भएको र भवन समेत असुरक्षित भएकाले सेवा प्रवाह तत्काल सुरु हुन नसक्ने अवस्था रहेको ती कर्मचारीको भनाइ थियो । तुलसीपुर मालपोतको अवस्था पनि त्यस्तै छ । सम्भवतः सेवा प्रवाहमा ढिलाइ यी कार्यालयमा हुने देखिएको स्थानीयबासीले बताएका छन् ।