सामान्य बन्दै जनजीवन, आजदेखि विद्यालय खुल्ने

गोरक्ष समाचारदाता
दाङ, २९ भदौ । नयाँ सरकार गठन भएसँगै जनजीवन सामान्य बन्दै गएको छ । जनजीवन सामान्य बन्दै गएपछि सर्वसाधारण नागरिकलाई हिडडुल गर्नसँगै आफ्नो पेसा, व्यवसाय सञ्चालन गर्न थालेका छन् ।
जेन–जीहरूको आन्दोलनका क्रममा मङ्गलवारदेखि बन्द रहेका यातायातका साधनसमेत शनिवारदेखि सञ्चालनमा आउन थालेका छन् । शनिवार छोटो दुरीका सवारीसाधन सञ्चालन भए । बजारमा पसलहरू सञ्चालन र सार्वजनिक सवारीसाधन चल्न थालेसँगै जनजीवन सामान्य बन्दै गएको घोराही निवासी व्यवसायी प्रेम पुन मगर बताउँछन् ।
‘शुक्रवारसम्म पसल सञ्चालन गर्ने अवस्था थिएन । कति बेला के हुन्छ भन्ने शङ्का थियो’, उनले भने, ‘राष्ट्रले नयाँ प्रधानमन्त्री पाएसँगै अवस्था सामान्य बन्दै गएको छ । पसल ढुक्कसँग खोल्ने अवस्था बन्दै गएको छ ।’ कफ्र्यु र निषेधाज्ञाका कारण दुई दिन पसल बन्द गरेका पुनले शनिवारदेखि सञ्चालन गरेको बताउँछन् ।
जनजीवन सामान्य बन्दै गएपछि केही दिनदेखि बन्द रहेका विद्यालयसमेत खुल्न थालेका छन् । जिल्लामा घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिकामा भदौ २९ गते आइतवारदेखि शैक्षिक संस्था सञ्चालनमा आउने भएका छन् । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले सूचना जारी गर्दै आइतवारदेखि पठनपाठन सुचारु हुने बताएका छन् ।
यसैगरी बंगलाचुली गाउँपालिका शिक्षा शाखा प्रमुख ओम केसीले सूचना जारी गर्दै २५ देखि २७ गतेसम्म शोक बिदा दिइएकोमा हाल अवस्था सामान्य बन्दै गएकाले आइतवारदेखि नियमित रूपमा विद्यालय सञ्चालन हुने भनिएको छ । यसैगरी प्याब्सन दाङले पनि आइतवारदेखि विद्यालय सञ्चालन गर्ने जनाएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङका सचिव आदिम केसीले शनिवार सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा प्रमुख तथा प्याब्सनबिच विद्यालय सञ्चालनका लागि सहजीकरण गर्ने विषयमा भएको छलफल अनुसार आइतवारदेखि विद्यालय सञ्चालन गरिने उल्लेख गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङले भने २८ गते साँझ ६ बजेदेखि २९ गते बिहान ५ बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालद्वारा जारी विज्ञप्तिमा जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई विश्लेषण गर्दा जनजीवनलाई सहज बनाउँदै जान आवश्यक देखिएकाले कुनै पनि भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी घोराही, तुलसीपुर र लमहीका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।