वर्तमान अवस्थामा नेपालले लामो समयदेखि भोग्दै आएको राजनीतिक अलमल अब अन्त्य हुनैपर्छ । लोकतान्त्रिक यात्रामा पटक पटक देखापरेका सङ्कटहरूले मुलुकलाई असुरक्षित मात्र बनाएको छैन, आम नागरिकमा निराशा पनि थपिदिएको छ । यस्ता अवस्थाले कहिलै स्थायी निकास दिन सक्दैनन् । त्यसैले अब अघि बढ्ने दिशा स्पष्ट छ, निर्वाचनमार्फत् जनताले आफ्नो निर्णय गर्ने अवसर दिनुपर्छ ।
वीपी कोइरालाले भने झैँ, “गुणदोषको लेखाजोखा गर्ने कामले पुनर्निर्माणको सक्रिय भूमिकालाई कमजोर बनाउँछ ।” पुनर्निर्माण भन्नाले केवल भौतिक संरचना होइन, सामाजिक, राजनीतिक र संस्थागत रूपान्तरणलाई बुझिन्छ । मुलुक अहिले यही प्रक्रियाको निर्णायक मोडमा छ । समीक्षा र दोषारोपणमा मात्र समय खर्च गर्नुले समाजलाई ध्रुवीकृत बनाउँछ तर समाधानलाई टाढा धकेल्छ । त्यसैले लक्ष्य प्रस्ट छ, ‘अलमल त्यागेर स्थायित्व तर्फको मार्गचित्र तय गर्नु ।’ संविधानले बाटो देखाउने काम गर्छ । आन्दोलन निर्णयाधिकार प्राप्त गर्ने माध्यम हो । त्यसैले आजको यो परिवेश भनेको यी दुवैको संयोजन हो, जो स्वाभाविक हो । आन्दोलनबाट आएका मुद्दा संविधान र संस्थागत प्रक्रियाबाट समाधान हुनु जरुरी छ । यही प्रक्रियाले मात्र जनतामा भरोसा जगाउँछ र संसद्लाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सकिन्छ ।
संसद्लाई नयाँ मनोविज्ञान र ताजा जनादेशसहित स्थापित गर्ने काम अहिलेको प्रमुख आवश्यकता हो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको निर्वाचन हो । निर्वाचन समयमै नभए नेपालको लोकतान्त्रिक यात्रामा ठुलो चोट पुग्नेछ । लोकतन्त्र समाप्त हुने मात्र होइन, हाम्रो राष्ट्रियताको आधार नै कमजोर बन्ने खतरा छ । किनभने सार्वभौमसत्ता जनतामा निहित छ भन्ने मुल सिद्धान्तलाई व्यवहारमा उतार्ने साधन नै निर्वाचन हो । त्यसैले यसको विकल्प खोजेर टालटुले उपायहरूमा अलमलिनु अब सम्भव छैन ।
निर्वाचनप्रतिको स्पष्टतासँगै नागरिकको असन्तुष्टि र नैराश्यता तोड्न पनि यो आन्दोलनले म्यान्डेट दिएको छ । मुलुकमा व्यापक असन्तोषको प्रमुख कारण भ्रष्टाचार र अपारदर्शी शासन पद्धति पनि हो । त्यसैले विश्वासिलो संयन्त्रमार्फत् भ्रष्टाचार छानबिन गर्ने स्पष्ट कदम चाल्नुपर्छ । यस्तै हालैको आन्दोलनमा जनधनको क्षति गर्ने अनावश्यक घटनाहरूको न्यायिक छानबिन र कारबाहीको प्रक्रिया सुरु हुनु अपरिहार्य छ । यसले मात्र नागरिकमा न्याय पाउने अनुभूति दिलाउँछ र भविष्यका लागि राज्यप्रति आशा बढाउँछ । अब समय अलमलको होइन, प्रस्ट र साहसी कदम चाल्ने हो । राष्ट्रियता र लोकतन्त्रलाई जोगाउने एक मात्र बाटो भनेको समयमै निर्वाचन गर्ने, संविधानको मार्गदर्शनमा अघि बढ्ने र पारदर्शी शासन प्रणालीलाई संस्थागत गर्ने हो । यति गर्न सकियो भने मात्रै नेपालको लोकतान्त्रिक यात्राले नयाँ ऊर्जासहितको गति लिन सक्छ ।