बधिया भालेको पहिचान बोकेको ‘बुह्रान कृषि फर्म’

टेकबहादुर पुन
देउखुरी, २८ भदौ । देउखुरीको लमही–६ देउपुरस्थित ‘बुह्रान बहुउद्देश्यीय कृषि फर्म’ले स्थानीय स्तरमै नभई राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । करिब ६ वर्ष अघि सञ्चालनमा आएको फर्म अहिले वार्षिक झन्डै १ हजार बधिया भाले उत्पादन गरी देशका पोखरा, काठमाडौं, चितवनजस्ता ठुला सहरमा बिक्री गर्दै आएको छ ।

कृषिमा उद्यमशीलता, आधुनिक सोच र निरन्तरताको उत्कृष्ट उदाहरणका रूपमा यो फर्मले कृषक र व्यवसायी समुदायबिच विशेष स्थान बनाएको छ । ३० कट्ठा क्षेत्रफलमा फैलिएको फर्मका सञ्चालक कमलजंगसिंह ठकुरी हुन् । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका सञ्चालक ठकुरीले कृषि क्षेत्रमा सम्भावनाका नयाँ अवसर खोजीका लागि बधिया भालेपालनलाई व्यावसायिक रूपमा अघि बढाएको बताउँछन् ।

सञ्चालक ठकुरीका अनुसार सुरुका दिनहरू चुनौतीपूर्ण थिए । किसानलाई परम्परागत कृषि प्रणालीबाट बाहिर ल्याएर व्यावसायिक उत्पादनमा जोड दिन प्रेरित गर्नु सजिलो थिएन तर दृढङ््कल्प र निरन्तर लगानीका कारण अहिले बुह्रान फर्मले प्रदेशमै नमुना फर्मको स्वरूप लिएको छ । ‘हामीले कृषि क्षेत्रलाई जीवन र व्यवसायको प्रमुख आधार मान्यौँ । त्यसैले किसान मात्र नभइ कृषिमा व्यवसायी भएर अघि बढ्नुपर्छ भन्ने सोचका साथ यो फर्म सञ्चालन गरेका हौँ’, ठकुरीले भने ।

फर्ममा उत्पादन हुने बधिया भालेको गुणस्तर उच्च भएकाले बजारमा यसको माग बढी रहेको उनले बताए । पोखरा, काठमाडौं, चितवनजस्ता प्रमुख सहरमा बिक्री हुने बधिया भाले उत्पादनले स्थानीय किसानलाई पनि प्रेरणा दिएको छ । स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुका साथै गाउँमै उत्पादन हुने स्रोतलाई प्रयोग गरेर ठुलो बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने प्रमाण फर्मले देखाएको छ । फर्मले केवल बधिया भाले उत्पादनमा सीमित नभई अण्डा उत्पादन, भैँसीपालन र कृषि उत्पादनमा पनि विस्तार गर्ने योजना बनाएको छ ।

आगामी दिनमा फर्मलाई अझ व्यवस्थित बनाउँदै दुग्ध व्यवसाय, तरकारी तथा फलफूल उत्पादनमा समेत जोड दिने बताउँदै सञ्चालक ठकुरीले भने, ‘हामीले कृषिलाई आधुनिक बनाउने र युवालाई कृषिप्रति आकर्षित गर्ने लक्ष्य राखेका छौँ । यसका लागि प्राविधिक ज्ञान, अनुसन्धान र लगानीमा जोड दिन जरुरी छ ।’ बुह्रान बहुउद्देश्यीय कृषि फर्मले कृषिमा आत्मनिर्भरता र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याएको छ । दाङमा रहेका सयौँ युवालाई कृषिप्रति आकर्षित गर्ने खालका सफल अभ्यासमा यस फर्मलाई गणना गर्न सकिन्छ ।

विशेष गरी वैदेशिक रोजगारतर्फ आकर्षित हुने युवालाई कृषि क्षेत्रमै उज्ज्वल भविष्य सम्भव छ भन्ने सन्देश बुह्रान फर्मले दिएको छ । उनले कृषिमा लगानीलाई केवल जीविकोपार्जनका लागि नभई आधुनिक व्यवसायका रूपमा विकसित गर्नुपर्नेमा जोड दिएका छन् । ६ वर्षदेखिको निरन्तरता, व्यवस्थित व्यवस्थापन, बजारको पहिचान र गुणस्तरीय उत्पादनका कारण बुह्रान बहुउद्देश्यीय कृषि फर्म अहिले प्रदेशमा मात्र नभई देशव्यापी चर्चा बटुलेको छ ।