ध्वस्त संरचनामा दस्तावेज खोजिँदै

बालाराम खड्का

तुलसीपुर, २८ भदौ । जेन–जी आन्दोलनको क्रममा जलेर नष्ट भएका तुलसीपुर क्षेत्रका संरचनाको सरसफाइ सुरु गरिएको छ । विभिन्न राजनीतिक दलले सरसफाइ सुरु गरे पनि कतिपय सरकारी कार्यालयमा सुरु भएको सरसफाइ भने रोकिएका छन् । शुक्रवार बिहानैदेखि तुलसीपुर उपमहानगरपालिकाको जलेर ध्वस्त भएका संरचना सरसफाइ गर्न कर्मचारी जुटे तापनि मुचुल्का उठाउनु पर्ने भएकाले सरसफाइ रोकिएको छ ।

अन्य सरकारी कार्यालयका जलेर ध्वस्त भएका संरचना भने केही बाटोमा त केही कार्यालय परिसरमा यत्रतत्र छरिएको अवस्था छन् । केही चोरीसमेत भएका छन् । तुलसीपुर उपमहानगरपालिकाका बरिष्ठ अधिकृत ललित घर्तीले आफूहरूले जलेर ध्वस्त भएका संरचनाको सरसफाइ शुक्रवारदेखि सुरु गरे पनि बिचैमा रोकेको बताए ।

जलेर ध्वस्त भएका कार्यालयमा केही दस्तावेज भेटिन्छन् कि भनेर मनभारि र अनुहारमा नैराश्यता बोकेर खरानी कोट्याउँदै कर्मचारीले दस्तावेज खोजिरहेका देखिन्थे । कार्यालय अगाडि राखिएको तुलसीपुर क्षेत्रकै एउटा मात्र आग्नि नियन्त्रक तुलसीपुरको दमकल पूर्ण रुपमा जलेको छ । खानेपानीको लागि आवश्यक पर्ने ट्याङ्करको अवस्था पनि त्यस्तै छ । बालबालिकालाई लगाउने खोपहरू जलेर नष्ट भएका छन् । महत्वपूर्ण दस्तावेजहरू सबै जलेका छन् ।

भाडामा लगाउन तयारी अवस्थामा गरेको तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको व्यापारिक भवन क्षतविक्षत हुने गरी तोडफोड गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका दुई वटा भवन जेलका छन् । करिब १४ करोडमा नगर विकास कोषबाट ऋणमा बनेको व्यापारिक भवन सञ्चालनमा नआउँदै क्षतविक्षत हुनेगरी तोडफोड भएको छ ।

एक वर्ष अघि चार करोड बढीको लागतमा निर्माण सम्पन्न भएको प्रशासनिक भवन जलेर सवै ध्वस्त भएको छ । यसैगरी फोरहर उठाउने गाडीदेखि दमकल, स्वास्थ्य, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सवारीसाधन जलेर खरानी भएका छन् । देशकै मुख्य केन्द्रहरू जलेर ध्वस्त भएको अवस्थामा तुलसीपुरका सरकारी कार्यालय र नेताको व्यक्तिगत घरसमेत जलेका छन् । यसले गर्दा तुलसीपुरबासीको अनुहारमा नैराश्यता छाएको छ । ‘अब यो संरचना तयार गर्न कति समय लाग्ने हो, विकास दुई दशक पछि पर्ने भयो’, उपमहानगपालिकाका जलेका संरचना हेर्दै स्थानीयले दुखेसो पोख्दै थिए ।

जेन–जीको आन्दोलनका क्रममा भएको आगजनीबाट तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाको खोप भण्डारणमा रहेका खोप, अन्य सामग्री, फ्रिजहरू, भ्याक्सिन क्यारियर, कुपोषण उपचारमा प्रयोग हुने औषधीहरू सुपर सेरेल प्लस, चगता तथा उपकरणहरू, एचएमआइएस फर्म, रजिस्टर, सूचना सामग्री, डेस्कटप, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, महत्वपूर्ण फाइल, निर्देशिका, महत्वपूर्ण तथ्याङ्क, हालसम्मका विपन्न सिफारिस कागजात, भुक्तानी कागजात, भुक्तानी बाँकी फाइललगायतका कागजात जलेर नष्ट भएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत बिमल केसीले बताए ।

स्वास्थ्य सेवामा केही समय खोप, पोषण, क्षयरोग, कुष्ठरोग, औलो, परिवार नियोजन, सुरक्षित मातृत्व गर्भवती, सुत्केरी, नसर्ने रोगमा प्रयोग हुने औषधी सामग्री तथा कार्यक्रमका सेवामा प्रयोग हुने औषधी तथा उपकरणको समस्या हुने देखिएकाले नजिकको स्वास्थ्य संस्था अथवा पालिका, जिल्ला प्रदेशसँग समन्वय गर्नुपर्ने अवस्था भएको उनले बताए । यस्तो विषम परिस्थितिमा पनि स्वास्थ्यचौकी, नगर स्वास्थ्य केन्द्र तथा सामुदायिक स्वास्थ्य इकाइबाट निरन्तर सेवा प्रवाह भइरहेको उनले जानकारी दिए ।

उपमहानगरपालिकाले क्षतिको विवरण सङ्कलन भए पनि अन्य कार्यालयको क्षतिको विवरण अझै आउन सकेको छैन । जिल्ला प्रशासनबाट अनुगमन भएपछि मात्र सरसफाइ सुरु गरिने क्षति भएका अन्य कार्यालयले जनाएका छन् । जेन–जीको आन्दोलनका क्रममा तुलसीपुर उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत, इलाका प्रशासनगायतका कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । आगजनी गरिएका कार्यालय जलेर पूर्णरूपमा ध्वस्त भएका छन् भने सेवा प्रवाह गर्न अझै केही समय लाग्ने ती कार्यालयले जनाएका छन् ।

शुक्रवारबाट भने दाङमा प्रशासनले निषेधाज्ञा जारी गरे पनि तुलसीपुर बजारमा जनजीवन सामान्य बन्दै गएको छ । बिहानैदेखि बजार क्षेत्रमा चहलपहल देखिएको छ । बजार क्षेत्रका विभिन्न पसल, होटल र दैनिक उपभोग्य सामग्रीका पसलहरू खुलेका छन् । सार्वजनिक तथा निजी सवारीसाधन आंशिक रूपम सञ्चालन भइरहेका छन् भने सडकमा पैदलयात्रुको आवागमन बढी देखिन्छ । बजारमा किनमेल गर्ने ग्राहक पनि निसङ्कोच किनमेल गरिरहेको व्यापारीहरूले बताएका छन् ।