लीलाधर वली
दाङ, २८ भदौ । जेन–जीहरूको आन्दोलनका क्रममा दाङमा जलेका कार्यालयहरू सम्बन्धित कार्यालयका कर्मचारीले सरसफाइ गर्न थालेका छन् । कफ्र्यु र निषेधाज्ञाका बिचमा कार्यालयनका कर्मचारीले घोराही, तुलसीपुरलगायतका स्थानमा जलेका कार्यालयको सरसफाइ थालेका हुन् ।
जेन–जीहरूको आन्दोलनका क्रममा तोडफोडसँगै आगजनी भएको आफूहरूको कार्यालय सरसफाइ गरिएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख एवम् प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिएका छन् । प्रहरी निरीक्षक बमका अनुसार कार्यालयसँगै परिसरमा तोडफोड र आगजनी भएका सामग्री हटाउँदै पानीले सफा गरिएको छ ।
‘तोडफोड र आगजनीका कारण बस्नै नसक्ने भएको कार्यालयलाई सबै मिलेर बिहिबार र शुक्रवार दुई दिन लगाएर सफा गरेका छौँ’, प्रहरी निरीक्षक बमले भने, ‘तत्काल बस्न सक्ने अवस्था छैन । मर्मत सम्भार गरेर कार्यालय सञ्चालन गर्नुपर्ने छ । त्यसका लागि माथिल्लो निकायमा जानकारी गराइसकेका छौँ ।’ उनका अनुसार कार्यालयमा जलेर कुनै पनि सामग्री नभएकाले नियमित सेवा दिन भने अझै केही समय लाग्नेछ । ‘अहिले कार्यालय व्यवस्थापनमा जुटेका छौँ’, उनले भने । जेनी–जीहरूको आन्दोलनका क्रममा भदौ २५ गते कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय जस्तै शुक्रवार दाङ जिल्ला अदालतका कर्मचारीले पनि आफ्नो कार्यालय सरसफाइ गरेका छन् । आन्दोलनका क्रममा कार्यालयभित्र र बाहिर फुटाएका र कार्यालय परिसरमा जलाएका सामग्री हटाउने काम सुरु गरिएको दाङ जिल्ला अदालतका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिएका छन् । उनका अनुसार कर्मचारीले बचेका कागजात मिलाउनेदेखि आगजनी र फुटेका सामग्री व्यवस्थापन गरिरहेका छन् । ‘जिल्ला अदालतमा झ्याल, ढोकालगायत अधिकांश कोठामा तोडफोड र आगजनी भएको छ’, सूचना अधिकारी वलीले भने, ‘अदालतमा मिसिल फाइल राखेको कोठा बाहेक अन्य सम्पूर्ण कोठामा क्षति पुगेको छ ।’
उनका अनुसार कार्यालयमा रहेका फाइल, कम्प्युटर तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएकाले नियमित सेवा दिन भने केही समय लाग्ने छ । यसैगरी शुक्रवार सरकारी वकिलको कार्यालय घोराही, घोराही उपमहानगरपालिका वडा नं। १५ को कार्यालयमा पनि कर्मचारीले सरसफाइ गरेका छन् । आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट भएको फोहर हटाउने काम कर्मचारीले गरेका छन् । सुशासन र सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्ध हटाउनु पर्नेलगायतका मागसहित गरिएको आन्दोलनको पहिलो दिन काठमाडौंमा प्रहरी दमन भएपछि दोस्रो दिनको आन्दोलनका क्रममा जिल्लामा पाँच दर्जन बढी सरकारी कार्यालय, पार्टी कार्यालय, नेताका घर तथा व्यावसायिक एवम् संघसंस्थाका भवनमा तोडफोड र आगजनी गरिएको थियो ।
जनतासँग प्रत्यक्ष जोडिएका कार्यालयहरूमा भएको तोडफोड र आगजनीका कारण जनताले सेवा पाउन भने अझै केही समय लाग्नेछ । ‘कार्यालय सरसफाइ गरिए पनि सञ्चालन गरेर जनतालाई सेवा दिन केही बचेको छैन’, उनले भने, ‘कार्यालय व्यवस्थापन गरेर नागरिकलाई सेवा दिन समय लाग्ने देखिन्छ ।’
छ दर्जन बढी सवारी साधनमा आगजनी
यसैगरी जेन–जी आन्दोलनका क्रममा जिल्लाका सरकारी कार्यालय तथा राजनीतिकर्मीका घरसँगै छ दर्जन बढी सवारीसाधनमा तोडफोड र आगजनी भएको छ । जिल्लामा भौतिक रूपमा भएको क्षतिको पूर्णविवरण आउन समय लाग्ने भए पनि शुक्रवारसम्म करिब १९ वटा सरकारी कार्यालयका ७७ वटा सवारीसाधनमा तोडफोड र आगजनी भएको विवरण सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालयमा सङ्कलन भएको विवरण अनुसार सबैभन्दा धेरै जिल्ला ट्राफिक कार्यालयमा एउटा गाडीसँगै २८ वटा सवारीसाधनमा तोडफोड र आगजनी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म सडक पूर्वाधार कार्यालय घोराहीका छ वटा, भूमि सुधार तथा मालपोत कार्यालयका चार वटा, नापी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका दुई÷दुई वटा, जिल्ला सरकारी वकिल कार्यालय, सडक डिभिजन कार्यालयमा तीन, प्रदेश निर्वाचन कार्यालय, अस्थायी प्रहरी पोस्ट बसपार्कमा १÷१ वटा सवारीसाधनमा आगजनी भएको विवरण सङ्कलन भएको छ ।
यसैगरी उच्च अदालत तुलसीपुरमा नौ वटा, लोक सेवा आयोगको कार्यालय तुलसीपुरमा सात वटा, भू तथा जलाधार कार्यालय र बबई गाउँपालिकाको कार्यालयमा ५÷५ वटा, लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको लमहीमा रहेको मन्त्रीको क्वाटरमा एउटा मोटरसाइकलमा आगजनी भएको विवरण सङ्कलन भएको छ । जिल्लामा करिब छ दर्जन बढी सरकारी, स्थानीय तह तथा पार्टी कार्यालयसँगै नेताका घर र व्यावसायिक भवनमा तोडफोड र आगजनी गरिएको र त्यसको वितरण सङ्कलन भइरहेकाले क्षतिको विवरण बढ्ने जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतमले जानकारी दिएका छन् ।
वीपी चोक पनि सरसफाइ
घोराही र तुलसीपुरस्थित वीपी चोकमा राखिएका वीपी कोइरालाका शालिकहरू आन्दोलनकारीले ढालिदिएपछि शुक्रवार कांग्रेस तथा उसका भ्रातृ संस्थाका कार्यकर्ताले सरसफाइ गरी वीपी कोइरालाको फोटो टाँस गरेका छन् । घोराहीस्थित वीपी चोकमा कांग्रेस सभापति शंकरप्रसाद डाँगीसहितका नेता कार्यकर्ता उपस्थित भई सरसफाइ गर्नुका साथै वीपीको तस्विर टाँस गरेका हुन् । यसैगरी तुलसीपुरमा पनि स्वतःस्फूर्त रूपमा जुटेका नेता कार्यकर्ताले सरसफाइ गरेका थिए ।
सामान्य बन्दै जनजीवन
यसैबिच जेन–जीहरूको आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण अशान्त बनेको दाङको जनजीवन सामान्य अवस्थामा फर्किन थालेको छ । सोमवारदेखि सुरु भएको आन्दोलनले उग्ररूप लिँदा मङ्गलवार जिल्लाका विभिन्न स्थानमा तोडफोड र आगजनी हुँदा अशान्त बनेको थियो ।
सरकारी कार्यालय, पार्टी कार्यालसँगै नेताका घर तथा व्यावसायिक भवनमा तोडफोडसँगै आगजनी हुँदा जिल्ला प्रशासन कार्यालयले मङ्गलवार साँझ ६ बजेदेखि कफ्र्यु आदेश जारी गरेको थियो । कप्mर्युसँगै जिल्लाका चार स्थानीय तहमा कफ्र्यु आदेशसँगै प्रशासनले आवातजावात गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक गर्न प्रतिबन्ध लगाएको थियो । यो क्रम बिहिबारसम्म जारी रहे पनि जिल्लाको अवस्था सहज बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्युलाई हटाएर शुक्रवारदेखि दिउँसोमा निषेधाज्ञा जारी गरेको थियो । जिल्लाको जनजीवन सामान्य बन्दै गएपछि साँझ ५ बजेदेखि बिहान पाँच बजेसम्म मात्र कफ्र्र्यु आदेश भएको छ ।