सुशीला कार्की प्रधानमन्त्री नियुक्त : प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन, फागुन २१ मा निर्वाचन हुने

गोरक्ष समाचारदाता
दाङ, २८ भदौ । जेन–जी समूहको विद्रोहपछि उत्पन्न सङ्क्रमणकालको अन्त्य गर्दै नयाँ रोडम्याप बनेको छ । लगातारको छलफलपछि शीतलनिवासमा शुक्रवार बेलुका भएको सहमति अनुसार अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको ४२औँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएकी छिन् भने नवगठित मन्त्रिपरिषद्को सिफारिसमा संसद् विघटन भएको छ । उनलाई शुक्रवार राति नै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदको शपथप्रहण गराएका थिए । नवनियुक्त कार्की नेपालको इतिहासमा प्रथम महिला सरकार प्रमुख बनेकी छन् । कार्कीलाई राष्ट्रपति पौडेलले संविधानको धारा ६१ मा टेकेर प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

मन्त्रिपरिषद्को पहिलो बैठकले संसद्को निर्वाचनका लागि फागुन २१ गतेको मिति सिफारिस गरेको छ । राष्ट्रपति पौडेल र जेन–जी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबिच कसको सिफारिसमा संसद् भङ्ग गर्ने भन्नेबारे कुरा मिल्न नसकेपछि शीतलनिवासमा जारी वार्ता लम्बिएको थियो । कानून व्यवसायीहरूको मिश्रित सुझाव र जेन–जी समूहका प्रतिनिधिहरूको चेतनावनीसहितको दबाबका बिच तत्काल संसद् भङ्ग गर्न राष्ट्रपति तयार भएका हुन् । त्यसपछि संसद्बाट नयाँ प्रधानमन्त्री खोज्ने विकल्पाबाट पछि हटेर राष्ट्रपति पौडेलले कार्कीलाई ‘म तपाईँलाई प्रधानमन्त्री नियुक्त गर्छु र प्रधानमन्त्री भएपछि पहिलो मन्त्रिपरिषद् बैठकबाटै संसद् विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउनू’ भनेका थिए ।

सरकार प्रमुखका रूपमा प्रस्तावित कार्की र आन्दोलनरत जेन–जीका प्रतिनिधिहरू संसद् विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहे पनि यो कुरामा आएर मिलनविन्दु फेला परेको हो । राजनीतिक दलहरूले पनि यही संसद् भित्रबाट कार्कीलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोज्न राष्ट्रपति पौडेललाई सुझाव दिएका थिए । दुवै पक्ष आआफ्नो अडानमा कायम रहेपछि राष्ट्रपति कार्यालयमा बिहिबार राति र शुक्रवार बिहानसम्म चलेको वार्ता निष्कर्षविहीन टुङ्गिएको थियो । दिउँसोसमेत कुनै सहमतिको छाँट नदेखिएपछि प्रधानसेनापति अशोकराज सिग्देलले सङ्कटकाल लगाउनुपर्ने अवस्थासमेत आउनसक्ने चेतावनी दिएका थिए ।

साँझसम्म सरकार नबने उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन सङ्कटकाल लगाउनुपर्ने भन्दै उनले कार्कीसमेतलाई ब्रिफिङ गरेका थिए । त्यसमा राजनीतिक दलका कतिपय शीर्ष नेताहरूले समेत सहमति जनाएका थिए तर दोस्रो तहका नेताहरूको भने सङ्कटकालको पक्षमा सहमति थिएन । उनीहरूले त्यस्तो अवस्था आए सडकमा उत्रिने प्रधानसेनापति सिग्देललाई जवाफ दिएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीका नेताहरूले जेन–जी आन्दोलनको म्यान्डेट अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकार प्रमुख बनाउन सहमति जनाएका थिए ।

दलहरूले जेन–जी आन्दोलनको मर्म अनुसार नयाँ सरकार गठनका लागि सहयोग गर्न पार्टी तयार रहेको सन्देश दिँदै आएका थिए । नवनियुक्त प्रधानमन्त्री कार्की २०७४ असारदेखि २०७४ जेठसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीस भएकी थिइन् । सर्वोच्च अदालतको इतिहासमा पनि उनी पहिलो महिला प्रधानन्यायाधीश बनेकी हुन् ।

को हुन् सुशीला कार्की

नवनियक्त प्रधानमन्त्री सुशीला कार्की यस अघि नेपालकै पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी छिन् । अब उनले पहिलो महिला प्रधानमन्त्रीको रूपमा अर्को कीर्तिमान थप्न सफल भइन् । विराटनगर हरेक परिवर्तनमा राजनीतिक आन्दोलन, विचारको नेतृत्व गरी देशको दिशा निर्धारण गर्दै आएको छ । विराटनगरको परिचय थप फराकिलो बनेको छ, ‘प्रधानमन्त्री जन्माउने सहर’ को रूपमा ।

२००७ सालमा विराटनगरमा जन्मिएकी कार्कीले स्थानीय महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट बिए पास गरेर भारतको बनारसस्थित हिन्दु विश्वविद्यालयबाट राजनीतिकशास्त्रमा स्नातकोत्तर गरिन् । वनारसबट फर्किएपछि उनले त्रिभुवन विश्वविद्यालबाट कानूनमा स्नातक गरिन् । वकालतबाट सुरु भएको उनको यात्रा प्रधानन्यायाधीशसम्म पुग्यो । सेवा निवृत्तपछि उनको यात्रा रोकिएन, पहिलो महिला प्रधानमन्त्रीको रूपमा बढेको छ ।

२०७३ असार २७ मा नेपालकै पहिलो महिला प्रधानन्यायाधीश बनेकी उनले ११ महिनामै ऐतिहासिक मुद्दाहरूमा फैसला गरेकी थिइन् । उनी न्यायाधीश भएका बखत तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई पदमुक्त गर्ने फैसला गरेकी थिइन् । तत्कालीन सूचना तथा सञ्चार मन्त्री जेपी गुप्तालाई भ्रष्टाचार मुद्दामा जेल पठाउने फैसला पनि उनैले गरेकी थिइन् ।

यस्ता धेरै ऐतिहासिक कदमहरूले उनलाई निडर न्यायाधीशको रूपमा स्थापित गरेको थियो । खास गरी भ्रष्टाचारविरुद्ध निरन्तर संलग्न रहेकी उनी आज देशकै प्रथम महिला कार्यकारी पदमा पुगेकी छिन् । कार्यकारी नेतृत्व सम्हालेसँगै उनले न्याय प्रणालीमा देखाएको इमानदारी, भ्रष्टाचारविरुद्धको साहस र राष्ट्रप्रतिको समर्पणलाई नयाँ कीर्तिमानमा रूपान्तरित गर्दै इतिहासमै स्थायी छाप छाड्ने अवसर पाएकी छिन् ।