गोरक्ष समाचारदाता
दाङ, २७ भदौ । गत २४ गते दाङमा भएको तोडफोड, लुटपात र आगजनीप्रति नेपाल विद्यार्थी संघ दाङले चिन्तासहित चासो देखाएको छ । नेविसंघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले त्यो दिनको क्षतिको विवरण सङ्कलन गर्ने र क्षतिमा संलग्नलाई सार्वजनिक गर्ने बताएका छन् । गोरक्षसँग कुरा गर्दै अध्यक्ष पोख्रेलले भने, ‘सबै विवरण सङ्कलन गर्दै छौँ, घुसपैठ भएका कारण दाङमा ठुलो क्षति भएको सूचना प्राप्त भएका छन् ।
अध्यक्ष पोख्रेलले दाङको जेन–जी नेतृत्वसँग आफ्नो कुरा भएको र उनीहरू पनि दाङको क्षतिबारे चिन्तित रहेको जानकारी दिए । ‘मैले जेन–जी नेतृत्वसँग कुरा गरे, उहाँहरूले त्यो रूपमा क्षति गर्ने आफूहरूको कुनै योजना नभएको प्रस्ट रूपमा भन्नुभएको छ ।’ जेन–जीले त्यो दिनको क्षतिमा आफूहरूको संलग्नता नभएको कुरा सार्वजनिक गर्न चाहेको नेविसंघ अध्यक्ष पोख्रेलले जानकारी दिए ।
‘मसँगको कुरा अनुसार जेन–जी दाङको नेतृत्व त्यो विण्डाप्रति सन्तुष्ट छैन र तोडफोड, लुटपातमा संलग्नलाई सार्वजनिक गर्ने मुडमा हुनुहुन्छ’, पोख्रेलले भने, ‘हामीसँग पनि प्रशस्त भिडियो छन्, सबैलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउन राज्यलाई सहयोग गर्छौँ ।’ आफूहरूको यो अभियानामा जेन–जीले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।
जेन–जीले अगुवाई गरेको २४ गतेको प्रदर्शनमा दाङमा दिउसो १२ बजेपछि घुसपैठ भएको र अनपेक्षित रूपमा लुटपात तथा आगजनी भएको थियो । ‘जेन–जीले पनि सघाउने जनाएका छन्, हामीसँग पनि भिडियो छ, यो क्षतिका दोषीलाई हामी सार्वजनिक गर्ने र कानूनी कारबाहीका लागि राज्यलाई जानकारी दिने योजनामा छौँ’, पोख्रेलले भने ।