गोरक्ष समाचारदाता
दाङ, २७ भदौ । जेन–जी पुस्ताले गरेको आन्दोलन पछि उत्पन्न वातावरण नियन्त्रणमा लिनका लागि दाङमा कफ्र्यु लागेको समयमा पनि अत्यावश्यक सामग्री आयात निर्यात भइरहेको छ ।
जिल्लामा अत्यावश्यक सामग्री आयात निर्यातमा नरोकिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । ‘कफ्र्युको समयमा अत्यावश्यक सामग्री आयात निर्यात गर्न सहज व्यवस्था मिलाइएको छ’, उनले भने, ‘यसबारे निजी क्षेलाई जानकारी दिएका छौँ ।’ औषधी, अक्सिजन, सञ्चार, पोट्रोलिय पर्दाथ, ग्यास, तरकारी, दुध, फलफूल, पानी, खाद्यान्नलगायका सामग्री सहज रूपमा आयात निर्यात भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
अत्यावश्यक सामग्रीको कुनै समस्या नरहेको समेत बताइएको छ । नागरिकलाई अत्यावश्यक सामग्री खरिद गर्न बिहानको समय मिलाइएको उनले बताए । ‘नागरिकलाई अत्यावश्यक सामग्री खरिद गर्नका लागि बिहान ९ बजेसम्मको समय दिएको छ’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने । नागरिकलाई के कसरी सहज वातावरण बनाउने भन्नेबारे सुरक्षा अवस्था हरेर निर्णय गरिने उनले बताए । ‘हामी नागरिकलाई सहज बनाउने प्रयासमा रहेका छौँ’ उनले भने ।
कफ्र्यु लागेको समयमा दुध सङ्कलन र वितरण कार्यमा समस्या नभएको दुध सङ्कलन तथा व्यवसायी बताउँछन् । गढवा गाउँपालिकामा रहेको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाले किसानबाट दुध सङ्कलन गर्ने र बजार पठाउने काम भइरहेको जनाएको छ । ‘किसानबाट दुध सङ्कलन र वितरणको काम भइरहेको छ’, सहकारी संस्थाका बजार व्यवस्थापन कैलाश चौधरीले भने । दुध ल्याउने किसानलाई सहज रूपमै आउन दिएको उनको भनाइ छ ।
सहकारी संस्थाले किसानबाट सङ्कलन गरेको दुध केही स्थानीय स्तरमा वितरण भइरहेको छ, अरू बुटवल पठाइएको उनले बताए । बिहिबार मात्रै एक हजार दुई सय ७० लिटर दुध बुटवल पठाइएको र ३० लिटर स्थानीय बजारमा बिक्री भएको चौधरीले बताए । सहकारीमार्फत् दुई दिनमा एक हजार तीन सय लिटर दुध सङ्कलन गरिएको थियो ।