गोरक्ष समाचारदाता
दाङ, २७ भदौ । नेपाली कांग्रेस दाङले सार्वजनिक र निजी सम्पत्तिसँगै प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् महामानव वीपी कोइरालाको शालिक तोडफोड गर्ने कार्य लोकतान्त्रिक आचरण हुन नसक्ने बताएको छ ।
नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले बिहिबार विज्ञप्ति जारी गर्दै जेन–जी आन्दोलनका क्रममा दाङमा भएको सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको तोडफोड र आगजनी एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाको शालिक तोड्ने जस्ता गतिविधिले चिन्तित तुल्याएको भन्दै यी कार्य लोकतान्त्रिक आचरणभित्र नपर्ने बताएका हुन् ।
सभापति डाँगीद्वारा विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको तोडफोड र आगजनी तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् महामहानव वीपी कोइरालाको शालिक तोड्ने घट्ना कुनै पनि हालतमा लोकतान्त्रिक आचरण हुन सक्दैनन् ।’ जिल्ला सभापति डाँगीले आन्दोलनबाट सिर्जित वर्तमान परिस्थितिलाई सम्बोधन गर्न सर्वपक्षीय संवाद र संवैधानिक बाटोबाट समाधान खोज्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस दाङले पार्टी सभापति तथा लोकतान्त्रिक आन्दोलनका अगुवा शेरबहादुर देउवालगायतका नेताहरूप्रति भएको भौतिक आक्रमणको घोर भ्रत्र्सना गरेको छ । साथै नेपाली कांग्रेसका केन्द्रीय एवम् पूर्वमन्त्री सदस्य दीपक गिरी, केन्द्रीय सदस्य गेहेन्द्र गिरी, लुम्बिनी प्देशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पार्टीका लुम्बिनी प्रदेश उपसभापति तथा पूर्व प्रदेशमन्त्री राजु खनाल र घोराही–१३ का वडाध्यक्ष डुल्लुराम पोख्रेललगायतका नेताका घरमा आगजनी गरी भौतिक क्षति पु¥याइएको उल्लेख गर्दै पार्टीले यी घटनाप्रति खेद व्यक्त गरेको छ । यी सबै घटनाले पार्टीलाई स्तब्ध एवम् दुःखी बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिल्ला सभापति डाँगीले वर्तमान विषम परिस्थितिमा नेपाली कांग्रेसका सबै तहका साथीहरूलाई अविचलित रही उच्च मनोबलका साथ रहन पार्टीले हार्दिक अपिल गरेका छन् । संयमतापूर्वक र परिपक्व ढङ्गले आफ्नो दायित्व निर्वाह गर्न सबै पक्ष गम्भीर बन्ने कुरामा विश्वास व्यक्त गर्दै पार्टीले दाङका आम जिल्लावासीलाई संयम र धैर्यका साथ रही सामाजिक सद्भावलाई अझ मजबुत बनाउन अपिल गरेका छन् ।
जनभावना अनुसार काम गर्ने दायित्व राजनीतिक दलको रहेको उल्लेख गर्दै नेपाली कांग्रेस दाङले भनेको छ, ‘जनभावनालाई सम्बोधन हुने गरी काम गर्ने र जनतालाई गौरवबोध हुने गरी वातावरण निर्माण गर्ने दिशामा क्रियाशील रहने प्रतिबद्धता जनाएको छ । साथै वर्तमान परिस्थितिको संवेदनशीलतालाई मध्यनजर गर्दै सिर्जित नयाँ परिवेशमा ती मुद्दाहरूलाई सम्बोधन गर्ने गरी नयाँ मार्गचित्रका साथ अगाडि बढ्नुको विकल्प छैन ।’ साथै पार्टीले जेन–जी पुस्ताको शान्तिपूर्ण आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
संवाद र एकताबाट निकास
यसैबिच नेपाली कांग्रेस क्षेत्र नं. २ ले हालैका घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै संयम, संवाद र एकताबाट मुलुकलाई निकास दिलाउने कार्यमा जुट्न आग्रह गरेको छ ।
नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काले बिहिबार विज्ञप्ति जारी गर्दै जेन–जी युवाहरूले सुरु गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै देशलाई अस्थिर दिशातर्फ धकेल्ने कार्य भएका भन्दै संवाद माध्यमबाट निकास निकास दिन आग्रह गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेतृ आरजु राणा र अन्य व्यक्तिमाथि भएको आक्रमण, महामानव वीपी कोइरालाको शालिक तोडफोड जस्ता घटनाप्रति पार्टीले दुःख व्यक्त गर्दै ती सबै घटनाको भ्रत्र्सना गरेको छ । ‘अत्यन्तै कठिन अवस्थामा पनि नेपाली समाजको विशिष्ट चरित्र सामाजिक एकता र सद्भाव हो’, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति खड्काद्वारा विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सबैलाई संयमित, विवेकपूर्ण र एकताबद्ध रहन कांग्रेस हार्दिक आह्वान गर्दछ ।’