गोरक्ष समाचारदाता
दाङ, २६ भदौ । दाङको तुलसीपुर कारागारबाट भागेका दुई सय ५३ जना कैदीबन्दीमध्ये ४९ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । जेनजी आन्दोलनका क्रममा मङ्गलवार र बुधवार कारागारबाट भागेका कैदीबन्दीमध्ये ४९ जना पक्राउ परेका छ्न ।
कारागारको ‘ख’ ब्लकबाट मङ्गलवार एक सय २४ जना र बुधवार बिहान ‘क’ र ‘ख’ ब्लकबाट थप ८९ जना कैदीबन्दी भागेका थिए । नेपाली सेना, नेपाल प्रहरीलगायतको सहयोगमा बुधवार बिहान भागेका ४० जना कैदीलाई नियन्त्रणमा लिइएको तुलसीपुर कारागारका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिएका छन् । कारागार प्रमुख सेजुवालका अनुसार भागेका थप एक सय ६४ जना कैदीबन्दीको खोजी कार्य भइरहेको छ ।
मङ्गलवार साँझ साढे ५ बजेतिर मूलगेट तोडेर तुलसीपुर कारागारको ‘ख’ ब्लकबाट एक सय २४ जना कैदीबन्दी भागेका थिए । तुलसीपुर कारागारमा चार सय ६९ कैदीबन्दी बस्दै आएका थिए । अहिले कारागारमा दुई सय ५६ जना कैदीबन्दी रहेका छन् । तुलसीपुर कारागारमा रहेका तीन वटा ब्लकमध्ये ‘ग’ मा भने महिला कैदीबन्दी रहेकाले शान्त रहेको कारागार प्रमुख सेजुवालले जानकारी दिएका छन् ।