एकै दिनमा तीन दर्जन बढी कार्यालय र घरमा आगजनी

मङ्गलवारको जेन–जी प्रदर्शन

गोरक्ष समाचारदाता

दाङ, २६ भदौ । जेनजीको प्रदर्शनका क्रममा दाङमा एकै दिन तीन दर्जन बढी सरकारी कार्यालय र नेताका घरमा तोडफोड र आगजनी हुँदा लाखौको क्षति भएको छ । जिल्लाका घोराही, तुलसीपुर र लमही क्षेत्रका करिब दुई दर्जन सरकारी कार्यालय, नौ वटा वडा कार्यालय, करिब डेढ दर्जन पार्टी कार्यालय र नेताका घरमा तोडफोड र आगजनी भएको थियो ।

जिल्लाभर भएको तोडफोड र आगजनीको यकिन तथ्याङ्क र क्षतिको वितवरण सङ्कलन नभए पनि घोराही र तुलसीपुरमा अधिकांश सरकारी कार्यालय पूर्णरूपमा नष्ट भएका छन् । घोराहीमा रहेका जिल्ला समन्वय समिति, भूमि सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, घोराही उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, सडक डिभिजन कार्यालय, सडक पूर्वाधार कार्यालय, जिल्ला भूमि आयोगलयलगायतका कार्यालय जलेर नष्ट भएका छन् । आगजनीका कारण विभिन्न कार्यालयमा रहेका चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधन समेत जलेका छन् ।

यसैगरी घोराही उपमहानगरपालिका वडा नं. ५, ७, १०, १४, १५ र १८ को कार्यालय पनि जलेका छन् । आगजनीका कारण घोराही उपमहानगरपालिका, मालपोत र नापी कार्यालयमा भएका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । नापी कार्यालय दाङका प्रमुख पुरन चौधरीका अनुसार तोडफोड र आगजनीका कारण सम्पूर्ण कागजातसँगै एउटा गाडी चलेर नष्ट भएको छ । ‘तोडफोड र आगजनीका कारण कार्यालयमा केही पनि बचेको छैन । सबै कागजात जलेर खरानी भएका छन्’, कार्यालय प्रमुख चौधरीले भने, ‘यसले ठुलो क्षति गरेको छ ।’

प्रदर्शनका क्रममा कार्यालयसँगै गाडीमा तोडफोड गर्दा विकास निर्माणको कार्यमा असर गर्ने भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दीपेन्द्रबहादुर विष्टले बताएका छन् । कार्यालय प्रमुख विष्टका अनुसार सडक डिभिजन कार्यालयको भवनसँगै टिप्पर, साइडका लागि प्रयोग गर्ने गाडी र मोटरसाइकल तोडफोड गर्नुका साथै जलाइएका छन् ।

सरकारी कार्यालयसँगै घोराहीमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी गरी तीन वटा पार्टी कार्यालयसँगै माला इन होटेल र लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य राजु खनालको घरमा तोडफोडसँगै सामग्री जलाएर नष्ट गराइएको छ । यसैगरी तुलसीपुरमा उच्च अदालत, लोक सेवा आयोगको कार्यालय, तुलसीपुर उपमहानगरपालिका, इलाका प्रशासनलगायत आठ वटा कार्यालयमा तोडफोडसँगै आगजनी भएको थियो । जसमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ र १८ को कार्यालय र विभिन्न पार्टीका छ जना नेताको घरमा तोडफोड भएको थियो ।

प्रदर्शनकारीले बबई गाउँपालिका वडा नं. ५ को कार्यालय आगजनी गरेका थिए । यसैगरी प्रदर्शनकारीले लमही नगरपालिकामा तोडफोडसँगै लमहीको रातोडाँडामा रहेका लुम्बिनी प्रदेश भौतिक पूर्वाधार र स्वास्थ्यमन्त्रीको क्वाटर र नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको कार्यालयमा समेत तोडफोड गरेका छन् । तुलसीपुर अन्तर्गत एमाले महासचिव शंकर पोख्रेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी, कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, एमाले नेता कोमल वली र हिराचन्द्र केसीको घरमा तोडफोड गरेका छन् ।

सडकको फोहर सेनाले हटायो

जेनजीहरूको आन्दोलनका क्रममा सडकमा भएका फोहर सेनाले हटाएको छ । घोराही बजारका विभिन्न स्थानमा आगजनीका कारण भएको फोहर नेपाली सेनाले बुधवार बिहान हटाएको हो । प्रदर्शनकारीको समूहले जिल्ला समन्वय समिति, दाङ जिल्ला अदालत, नापी कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, घोराही उपमहानगरपालिका वडा नं. १५ को कार्यालयमा तोडफोडसँगै आगजनी गरेका थिए ।

आगजनीका कारण सडकमा फोहर भएर हिड्न समस्या हुने भएपछि सेनाको टोलीले सडकबाट फोहर हटाएको थियो । सुरक्षाका लागि घोराही, तुलसीपुर र लमहीलगायतका क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।