हामी फिनिक्स झैँ उठ्नेछौं

उत्तम पौडेल

आज नेपाल ऐतिहासिक मोडमा उभिएको छ । पछिल्ला केही दिनहरुमा युवाहरुद्वारा सुरु भएको आन्दोलन, जसलाई ‘जेन–जी आन्दोलन’ भनेर चिनिन्छ, यसले नेपाली राजनीतिको आधारलाई नै हल्लाइदिएको छ । सुरुवातमा सरकारको दर्जनौँ सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने अकस्मात निर्णयविरुद्धको आक्रोश मात्र देखिएको भए पनि यो आन्दोलन चाँडै व्यापक असन्तुष्टि, बेरोजगारी, भ्रष्टाचार र दशकौँदेखिको असफल नेतृत्वविरुद्धको राष्ट्रिय आन्दोलनमा परिणत भयो ।

जेन–जी पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जन होइन । त्यहाँ उनीहरुको अध्ययन, उद्यमशीलता, सचेतना र आत्मअभिव्यक्तिको संसार छ । आवाज दबाउने काम गरेर नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले आफ्नै नागरिकको शक्ति र सामूहिकतालाई कम आँकलन गर्यो । तर यो आन्दोलन फेसबुक, टिकटक वा इन्स्टाग्रामको मात्र मुद्दा थिएन । यसको पछाडि दशकौँदेखिको राजनीतिकरण, नातावाद, कृपावाद, आसेपासेवाद, भ्रष्टाचार र जवाफदेहिताको अभावले निम्त्याएको गहिरो पीडा थियो । बेरोजगारी, अनिश्चित भविष्य र रोजगारीको खोजीमा परदेश पलायन को स्थितिले समृद्धिको आश्वासन पूरा भएन, र सबैभन्दा ठूलो बोझ युवामाथि आयो ।

त्यसैले यो आन्दोलन लामो समयदेखि दबिएको आक्रोशको विस्फोट बन्यो । जेन–जी ले उठाएको आवाज क्षणिक प्रदर्शन थिएन, यो न्याय र परिवर्तनको चिच्याहट थियो । दुई दिनमै आन्दोलन देशभरि फैलिँदा प्रधानमन्त्रीले राजीनामा दिए । तर मानव मूल्य चुकाइ अति ठूलो रह्यो । दर्जनौँ जीवन गुमे, कैयौँ घाइते भए, र सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति हुन पुग्यो ।

आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संस्थाहरु क्षतिग्रस्त भए । यस्तो विध्वंशले शान्तिपूर्ण आन्दोलनकारीहरुको वास्तविक माग छायामा पर्न गयो कि भन्ने कुरा देखायो । कतिपय घुसपैठ समूहहरुको उपस्थितिले आन्दोलनलाई झन् जटिल बनायो, जसले लोकतान्त्रिक सुधारभन्दा परका एजेन्डा अघि सारेको जस्तो देखिन पुग्यो । यस्ता तत्वहरुले जेन–जी को मुख्य एजेन्डाहरु जस्तै मेरिटोक्रसी,सुशासन जवाफदेहिता, पारदर्शिता र निष्पक्षताको माग लाई बिगार्न खोजेको हो कि भन्ने कुरा देखियो ।

प्रधानमन्त्रीको राजीनामापछि नेपाल राजनीतिक अनिश्चिततामा छ । नयाँ सरकार गठन आवश्यक छ तर चुनौतीपूर्ण पनि छ । यस्तो अवस्थामा नेपाली सेनाका प्रधानसेनापति अघि बढेर विशेषज्ञ, सम्बन्धित सरोकारवालाहरु र जेन–जी का प्रतिनिधिहरुसँग यथासिघ्र संवाद सुरु गरी नयाँ अन्तरिम सरकार गठनगरी अर्को निर्वाचनको तयारी गर्ने अपेक्षा गरिएको छ । तर यो क्षण नाजुक छ । सेनाको भूमिका अस्थायी रहनुपर्छ, जसले लोकतान्त्रिक व्यवस्थालाई पुनःस्थापित गरोस्, स्थायी सैन्य शासनको बाटो नखोलोस् । अन्ततः समाधान संविधानको पालन, प्रतिनिधिहरुबीच संवाद, र जेन–जी का आवाजलाई समावेश गरेर मात्र सम्भव हुनेछ ।

क्रान्तिहरु विनाशकारी भए पनि तिनीहरु रुपान्तरणकारी हुन सक्छन् भन्ने कुरा इतिहासले देखाएको छ । असली क्रान्तिले पुराना भइसकेका प्रणालीलाई भत्काएर नयाँ सम्भावनाका ढोका खोल्छन् । यसै अर्थमा, नेपालको जेन–जी क्रान्ति फिनिक्सको मिथकसँग मेल खान्छ । प्राचीन मिश्रको कथाअनुसार फिनिक्स आगोमा नष्ट भएर फेरि आफ्नै खरानीबाट झनै शक्तिशाली, बुद्धिमान र चम्किलो भएर जन्मिन्छ । फिनिक्सको प्रतीक आजको नेपालको स्थितिसँग गहिरो मेल खान्छ । टुटेको विश्वास, व्याप्त भ्रष्टाचार र राजनीतिक अनिश्चितता पक्कै पनि पीडादायी छ, तर यही नयाँ उत्साहसहित उठ्ने अवसर पनि उत्तिकै छ ।

क्रिस्टेन रोडर्जले भनेकी छिन् ः ‘फिनिक्स झैँ, तिमी आफ्नो खरानीबाट झनै शक्तिशाली, बुद्धिमान र सामथ्र्यवान् भएर उठ्नेछौ ।’ यो भनाइ केवल काव्यात्मक होइन, मार्गदर्शक पनि हो । यसले क्रान्ति अन्त्य होइन, नयाँ अध्यायको सुरुवात हो भन्ने कुरा सम्झाउँछ । अघिल्लो सरकारको असफलता केवल प्रशासनिक थिएन; त्यो नैतिक असफलता थियो । सरकारले आफ्ना युवाहरुको आकांक्षा बुझ्न सकेन, जसले राष्ट्रलाई ठूलो योगदान दिएका छन् । नेपालमा भएको जेन–जी क्रान्ति त्यसैले केवल राजनीतिक घटना मात्र होइन; यो नैतिक जागरण पनि हो ।

अब यही अवसर हो भ्रष्टाचार, हरेक ठाउँमा राजनीतिकरण, नातावाद, कृपावाद, आसेपासेवाद जस्ता विकृत कुराहरुको चक्र तोडी क्षमतावान युवाहरुलाई अवसर प्रदान गर्दै समावेशी, अग्रगामी र लोकतान्त्रिक नेपालको निर्माण गर्ने । नेपालले यसअघि पनि यसरी पुनर्जन्म लिएको थियो । राजतन्त्रको खरानीबाट गणतन्त्र जन्मिएको थियो । आज पनि चुनौती उस्तै छ, पीडालाई प्रगतिमा, निराशालाई दृढतामा, र विनाशलाई पुनर्जन्ममा बदल्ने यो सुनौलो अवसर हो ।

जेन–जी आन्दोलनको खरानीभित्र एउटा बलियो, बुद्धिमान र एकताबद्ध नेपालको सम्भावना छ । प्रधानमन्त्रीको राजीनामा र राजनीतिक फेरबदल प्रारम्भ मात्रै हुन् । अहिले महत्त्वपूर्ण कुरा के हो भने, नेपाल यस क्षणबाट कसरी उठ्छ ? फेरि अस्थिरताको चक्रमा डुब्छ कि फिनिक्स झैँ नवीन शक्ति र दृष्टिसहित उदाउँछ ? विकल्प हाम्रो हातमा छ । यो जिम्मेवारी जेन–जी युवाहरु,राम्रो छबी भएका युवा नेताहरु, नागरिक समाज र हरेक नेपालीले साझा रुपमा वहन गर्नुपर्छ । त्यसैले हामी समान लक्ष्यमा प्रतिबद्ध नेपाली जनता बनेर एकताबद्ध भइ उठौं तर राष्ट्रका विभाजित टुक्रा भएर होइन । मर्यादा,न्याय र प्रगतिलाई पुनःअर्जन गर्ने दृढ संकल्पसहित अघि बढौं । फिनिक्स चरा झैँ, नेपाल फेरि उठ्नेछ, र यसपटक गौरवको शिखरमा पक्कै उड्ने छ ।

(उपप्राध्यापक पौडेल नेपाल संस्कृत विश्वविद्यालय, बाल्मीकि क्याम्पस, अंग्रेजी विभागमा कार्यरत छन्) ।