तिमी राज्यसँग असन्तुष्ट भयौँ, अनि क्रान्तिको आह्वान ग¥यौँ । राजा र राणाको पर्खालभित्र उनीहरूको रोमाञ्चक खेलका रूपमा सीमित राजनीतिक अभ्यासलाई नागरिकको सरोकार र सहभागिताको विषय हो भनेर स्थापित ग¥र्यौ, भन्यौँ, ‘पुर्पुरोमा लेखिएको भरमा शासन गर्ने दिन गए ।’
किन यस्तो कदम लियौँ ? तिमीले आफैँ व्याख्या ग¥र्यौँ, ‘नेपाल गरिब छ, नेपालीहरूले खान, लाउन र स्वास्थ्य उपचार गर्न पाइरहेका छैनन्, तीनै मलिन अनुहार र कलेटी परेका गरिब नेपालीजनको मुहारमा खुसीको हाँसो ल्याउने प्रयास हो मेरो । म राजनीतिलाई त्यसरी नै बुझ्न सबैमा अपिल गर्दछु ।’ यो महान लक्ष्यमा तिमीलाई सबैले साथ दिए, दरबार बाहेक तर तिमीले भनिरह्यौँ, ‘दरबारलाई पनि साथ लिएर देश बनाउँछु ।’ देश मात्र हैन, दक्षिण एसियामा नै योगदान दिनसक्छ नेपाल जस्तो सानो देशले भनेर दृढ संकल्प लियौँ ।
जनता नै सर्वेसर्वा हो भन्यौँ, जनशक्तिका अगाडि कसैको केही लाग्दैन भन्यौँ । राजा त्रिभुवन भागेर भारत गए, राणा र शैन्यबलमा ज्ञानेन्द्र राजा भए । तर, त्रिभुवन पुनः राजाका रूपमा बहाल भए, ज्ञानेन्द्र विस्थापित भए । यसको कारण तिमीले व्याख्या ग¥र्यौ– त्रिभुवनसँग जनताको साथ थियो, ज्ञानेन्द्रसँग थिएन । जनताको शक्तिमा यत्रो विश्वास राख्यौँ । चुनाबमा बहुदलले हार्दा पनि ‘जनताको निर्णय’ भनी स्वीकार ग¥र्यौँ ।
जीवनभर मूल्यमा आधारित राजनीति प्रतिको दृढता, राष्ट्रियताको चुरो आजीवन समात्ने साहसिक कदम र गरिब नेपालीको मुहारमा हाँसो ल्याउने समाजवादी कार्यक्रमलाई लक्ष्य बनायौँ । आफ्ना उत्तराधिकारीलाई कहिल्यै उत्तेजित गरेनौँ । भन्यौ,– असल मानिसको परिचय बनाएर बहुदलीय व्यवस्थाको पक्षमा जागरण फैलाउ । अझ थप्याँै–एक मुठी माटो लिएर छातिमा टाँस अनि आत्मालाई सोध ।
जे जवाफ पाउँछौँ त्यही गर । तिमी अर्थात् वीपी कोइराला । आज तिम्रो जन्मदिनको अवसरमा तिमीलाई ससम्मान स्मरण गर्दा गहभरी आँसु छन्, मनभरी आक्रोश छन्, मस्तिष्कमा सुदुर भविष्यका लागि योगदान दिने संकल्पको बिउ रोपिएको छ । निर्दोष छोरा÷छोरी पुस्तामाथि राज्य बर्बर भएको छ । १९ जनाको ज्यान लियो सोमवार राज्यले मङ्गलवार थप दुईको । थुप्रै घाइते छन् । अझै के हुने हो ? अन्यौल छ ।
मङ्गलवार त तिम्रै शालिकमा समेत आगलागी गरे केही प्रदर्शनकारीहरूले । यो अवस्थाको कसरी चित्रण गर्ने ? राजनीतिक सुधारको बाटोमा हिँड्नेभन्दा दम्भ वा यथास्थितिमै अलमलिएर समय काट्ने प्रवृत्ति देखिँदैछ । तिमीले जहिल्यै पनि भरोसा अनि ठूलो विश्वास गर्ने तरुणहरूको आवाज घन्किरहेका छन् तर त्यो आवाज राज्यको अगाडिको अरण्यरोदनमा मात्र सीमित भइरहेको छ ।
समयले अवसरका प्रचुर क्षितिज झुल्काइदिएको छ । ती क्षितिजतर्फको यात्रा नै उज्यालोतर्फको यात्रा हो । तरुण त्यही उज्यालोको यात्रा तय गर्न चाहन्छन् । तर, राज्यको नेतृत्वले बुझेन । अर्कोथरी यो असन्तुष्टिलाई उपयोग गर्ने क्षणिक आनन्द लिने मनोविज्ञाका साथ प्रस्तुत भए । उज्यालोमासँगै हिँड्ने क्षमता राखेनन्, यात्राको गति मिलेन । आवश्यक वातावरण बनाउन सकेन । यसले मन दुःखाएका तरुण सडकमा आए । उनीहरूलाई सुन्ने, सम्बोधन गर्ने र उल्लासका साथ त्यही पुस्तासँग हाँसो सहितको यात्रा थाल्ने अवसरका रुपमा यो प्रदर्शनीलाई लिन सकिन्थ्यो । तर, राज्य दम्भीको हातमा रहेछ, यथास्थितिवादी सोचले ग्रसित अवसरको प्रतिक्षामा मात्र उभिएछन् । स्वार्थको रोटी सेक्ने त सधैँ यस्तै नै हुन् ।
वीपी, आज तिम्रो जन्मजयन्तीका अवसरमा एउटा नयाँ भावनाले जन्म लिएको छ । देशका सबैको खुसीका लागि प्रयत्नशील हुने, उनीहरूलाई परिवारकै सदस्य ठान्ने । सबै सँगसँगै रहेर उत्पादनशील, सिर्जनशील कार्यमा लाग्ने । सामाजिक न्यायका लागि सम्झौताहिन प्रयत्न गर्ने अनि हार्दिकता सहितको समाज निर्माणको अभियानमा जोडिने ।
अनि आत्मनिर्भर समाज बनाउने । आत्मनिर्भर भन्नुको मतलब आर्थिक सहजता वा उपलब्धता मात्र हैन । सबै अवसरको उपलब्धता हो । पढ्न, लेख्न, रोजगार पाउन, स्वास्थ्योपचार पाउन, अध्ययन–अनुसन्धान गर्न सबै कुरामा आत्मनिर्भर हुने कुरा नै अबको हाम्रो लक्ष्य हो, जसका लागि तिमिले आफ्ना अनुयायीहरूलाई जीवनभर दिक्षित गरिराख्याँै ।
तरुणलाई सिर्जनशील बाटोमा लाग्ने वातावरणका लागि थियो इन्टरनेट प्लेटफर्मको सहज उपलब्धता । राष्ट्रप्रति गौरव गर्नका लागि थियो भ्रष्टाचार अन्त्यको माग । अब कोही भ्रष्ट नबनोस् भन्ने महान चाहनाको प्रतिविम्ब थियो भ्रष्टलाई कारबाही गर्ने कुरा । राज्य कसैको स्वार्थशिद्ध गर्ने भाँडो मात्र नबनोस्, यो पवित्र चाहना थियो । ठूलाबडाका परिवारका सदस्यमात्र लाभान्वित नहोउन् भन्ने अर्को आवाज थियो, समानता र सदाचारको अभ्यास गर्ने समाज निर्माण गर्नका लागि ।
आज तीनै तरुणमाथि बन्दुक ताकिएको छ । तीनै तरुणलाई भविष्य ठानेर र उनीहरूकै लागि आफ्ना सबै प्रयत्नलाई केन्द्रित गर्ने वीपीको जयन्तीको पूर्वसन्ध्यामा भएको यो नरसंहारबाट कसको चित्त नदुख्ला र ! तर, आज भदौ २४, चित्त दुखाएर बस्ने दिन होइन, नवीन भावनाको जन्म भएको छ, यो भावनालाई परिपक्व बनाएर, लोकतान्त्रिक जगमा उभिएर नयाँ परिवेश निर्माणका लागि त्यसलाई एजेन्डा बनाउने दिन हो ।
शासकमात्र हैन शासकीय स्वरूपका बारेमा समेत निर्मम समीक्षा गर्दै त्यो नयाँ भावनालाई परिपक्व योजनामा रुपान्तरण गर्ने दिन हो । आफ्नो देशलाई आफैँ गर्व गर्न सक्ने बनाउन्, समुन्नतिको मार्गमा हिँडाउन र वेथिति–भ्रष्टाचाररहित समाजको निर्माणको अपेक्षा राखेर सरकारलाई खबरदारी गर्न सडकमा आएका सबै जेन–जीहरूप्रति सम्मान छ । सहिदप्रति ससम्मान श्रद्धाञ्जली, घाइतेप्रति स्वास्थ्यलाभको कामना ।
सत्ताशीनहरूले तत्काल संसदको बैठक बोलाएर जेन–जी पुस्ता सहित सबै नागरिकको विश्वास जित्ने गरी नयाँ सरकार निर्माण र शासकीय संरचनाप्रतिको पुनर्विचार गर्नका लागि विलम्ब नगरून् । लोकतान्त्रिक विधिमार्फत् सबैखाले परिवर्तन सम्भव छ भन्ने कुरा नेपालले पटक–पटक स्थापित गरेको छ । फेरि पनि लोकतान्त्रिक जगमा उभिएर निकासको बाटो खोजौँ, विलम्ब भयो भने नयाँ पुस्ताप्रति अविश्वास र थप क्षतिको आमन्त्रण गरेको मात्र ठहरिने छ । वीपीले भनेझैँ एक मुठी माटो छातिमा टाँसेर निर्णय लिन शासकहरूले विलम्ब नगरून् ।
वीपीको स्मरण गर्दै, तिम्रो चाहना अनुसारको समाज बनाउने अभियानका अभियन्तामाथि भएको नरसंहारप्रति दुःख व्यक्त गर्दै, कलिला ठिटाहरूको रगत खेर जान नदिने संकल्प गरौँ । जेन–जीहरूको पवित्र अभियानलाई कुनै राजनीतिक स्वार्थी समूहले ‘हाइज्याक’ नगरोस्, हामी पनि सचेत बनौँ, साथ दिऔँ । जेन–जीहरूले नयाँ सभ्यता स्थापित गरुन्, अराजकता र उदण्डतालाई पूर्ण रूपमा निसेध गरुन् । जय नयाँ पुस्ता, जय नेपाल ।