आत्महत्याको डर लाग्दो तथ्याङ्क,दुई महिना नबित्दै ४३ आत्महत्या

निता चौधरी
तुलसीपुर, २५ भदौ । दाङमा चालु आर्थिक वर्षको दुई महिना नबित्दै ४३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२÷०८३ को दुई महिना नबित्दै ४३ जनाले आत्महत्या गरेका हुन् ।

साउन महिनामा २९ जना र भदौ महिनाको २२ गते आइतवारसम्म १४ जना गरी ४३ जनाले आत्महत्या गरेका छन् । सोही अवधिमा जिल्लामा महिलाभन्दा धेरै पुरुषले आत्महत्या गरेका छन् । जसमा २८ जना पुरुष र १५ जना महिला रहेका छन् । उनीहरू ३६ जना झुन्डिएर र सात जना विष सेवन गरेर आत्महत्या गरेका थिए । जातिगत आधारमा ब्राह्मण तथा क्षेत्री समुदायका १० जना, २४ जना जनजाति र नौ जना दलित समुदायका नागरिक रहेको प्रहरीसँग तथ्याङ्क छ ।

आर्थिक वर्ष ०८१÷०८२ मा एक सय २३ पुरुष र ९९ जना महिला गरी दुई सय २२ जनाले आत्महत्या गरेका थिए । यसैगरी आर्थिक वर्ष ०८०÷०८१ मा एक सय २२ पुरुष र ८७ महिला गरी दुई सय नौ जना र आर्थिक वर्ष ०७९÷०८० मा एक सय २२ पुरुष र ९८ महिला गरी दुई सय २० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष ०७९÷०८० देखि चालु आर्थिक वर्षको हालसम्म सबैभन्दा धेरै झुन्डिएर पाँच सय ५७ जना, विष सेवन गरेर एक सय सय ३० जना, भिरबाट तथा पानीमा हाम फालेर चार जना, घाँटी रेटेर एक जना, हतियार प्रयोग गरी दुई जना गरी छ सय ९४ जनाले आत्महत्या गरेका हुन् । सोही अवधिमा महिनाका आधारमा आत्महत्या गर्नेमा साउन महिनामा ९१, भदौमा ७३, असोजमा ४१, कात्तिकमा ५५, मङ्सिरमा ४२, पसमा ५०, माघमा ५५, फागुनमा ४५, चैतमा ४३, वैशाखमा ५०, जेठमा ८७ र असारमा ४९ जना रहेका छन् ।

प्रहरीको तथ्याङ्क अनुसार वारका आधारमा सबैभन्दा धेरै सोमवार एक सय २६ जना र कम शनिवार ७४ जनाले आत्महत्या गरेका छन् । आइतवार ९६ जना, मङ्गलवार एक सय २ जना, बुधवार एक सय आठ जना, बिहिबार ९३ जना र शुक्रवार ९२ जनाले आत्महत्या गरेका थिए । समयका आधारमा बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्मको समयमा सबैभन्दा धेरैले आत्महत्या गर्ने गरेका छन् ।

सोही समयमा आर्थिक वर्ष ०७९÷०८० देखि चालु आर्थिक वर्षको हालसम्म आत्महत्या गर्नेमा दुई सय २५ जना रहेका छन् । मध्याह्न १२ देखि साँझ ६ बजेसम्म एक सय १८ जना, साँझ ६ बजेदेखि राति १२ बजेसम्म एक सय ५८ जना र रातको १२ बजेदेखि बिहान ६ बजेसम्म एक सय २७ जना गरी छ सय ९४ जनाले आत्महत्या गरेको प्रहरीले समय विभाजन गरेको छ ।

यसैगरी पेसाका आधारमा कृषि पेसामा रहेका नागरिक बढी मात्रामा आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । कृषि पेसा गर्ने दुई सय ८८, गृहणी एक सय ७२, वैदेशिक रोजगारका कारण १२, बेरोजगार १४, चालक सहचालक एक, ज्यामी, मजदुरी ५९, विद्यार्थी एक सय १३, व्यापारी छ र कर्मचारी दुई जनाले आत्महत्या गरका थिए । पेसाका आधारमा गरिबीले नै धेरै आत्महत्या गर्ने गरेको स्पष्ट देखाउँछ । गरिबीलाई घटाउन नसक्दा आत्महत्या न्यूनीकरणमा समस्या देखिएको प्रहरीको तथ्यमङ्कमा उल्लेख छ ।

उमेरका आधारमा किशोरावस्थादेखि युवा अवस्थाका व्यक्तिले धेरै आमहत्या गरेका छन् । १६ वर्षमुनिका ४५ जना, १६ देखि २५ वर्षका एक सय ७५ जना, २६ देखि ३५ वर्षका एक सय छ जना, ३६ देखि ६० वर्षका एक सय ५८ जना र ६० देखि माथिका ९० जनाले आत्महत्या गरको प्रहरीसँग तथ्याङ्क छ ।

किन हुन्छ आत्महत्या ?

प्रहरीका अनुसार गरिबीका कारण बढ्दो महत्वाकाङ्क्षा र आफ्नो आयस्रोतको तालमेल मिलाउन नसक्नु, प्रेममा धोका, असफलता, मनोरोग, सोचेको जस्तो नहुनु जस्ता आत्महत्याका कारण रहेका छन् । यसैगरी लागूऔषध दुव्र्यसनी, दीर्घ रोग, पारिवारिक कलह, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी वा अन्य कारणले झैझगडा गर्नेलगायतका विविध कारणले आत्महत्याका घटना हुने गरेका छन् ।

आत्महत्या रोकथामका लागि सचेतना

आत्महत्या रोकथामका लागि जिल्ला प्रहरी कार्यालय दाङले प्रयास नगरेको भने होइन । आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अनुरूप गाउँ गाउँमा पुगेर आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आत्महत्याको प्रयास गरेका मानिसलाई मनोपरामर्श दिने र उपचारमा सहजीकरण गर्दै आएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले यति गर्दा पनि अर्थात् प्रहरीले चालेको कदमले मात्रै आत्महत्या न्यूनीकरणमा सफलता प्राप्त गर्न नसकेको देखिन्छ । आत्महत्या न्यूनीकरणमा प्रहरीको एक्लैले मात्रै पुग्दैन । यसमा घरपरिवारको निगरानी, सरकारले ल्याउने विभिन्न आत्महत्या न्यूनीकरणका उपायका कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ ।