-मनोज पौडेल
मुटु छिया–छिया भएको छ। आँखाबाट निन्द्रा हराएको छ। दिमागमा एक अशान्त चिच्याहट, एक अनुत्तरित प्रश्न र असह्य वेदना लिएर म बसिरहेको छु। हामीले हिजो देखेका दृश्य, सुनेका आवाज र बगेको रगतले हाम्रो राष्ट्रिय चेतनामा एउटा स्थायी घाउ खोपिदिएको छ। २३ भाद्र २०८२, यो मिति अब नेपाली हृदयमा सधैंका लागि चोटको रूपमा बाँचिरहनेछ।
त्यो दिन सडकमा उत्रिएका १३ देखि २८ वर्षका हजारौं युवा कक्षाकोठा, क्याम्पस र घरका आँगनबाट भविष्य सुरक्षित गर्न आएका थिए। उनीहरूको हातमा किताब, कापी, मोबाइल र रंगीन पोस्टर थियो। हृदयमा देशप्रतिको अथाह प्रेम थियो, आँखामा उज्यालो नेपाल देख्ने सपना थियो। उनीहरूको माग साधारण थियो—शिक्षा, रोजगारी, अवसरमा समानता, भ्रष्टाचारको अन्त्य र सुशासन। तर उनीहरूको सपनालाई राज्यले गोलिले छेड्ने प्रयास गर्र्यो।
शान्तिपूर्ण प्रदर्शन नियन्त्रणको नाममा नरसंहारमा बदलियो। प्रहरीले अश्रुग्यास र फोहोरा मात्र प्रयोग गरेन, विद्यार्थीहरूको छाती र टाउकोमै लक्षित गरेर गोली चलायो। सडकमा ढलेका किशोर–किशोरीहरूको स्कुल ड्रेस रगतले भिज्यो, किताब र नोटबुक रगतमा लथालिङ्ग भए। त्यो दृश्य कुनै युद्धभूमि थिएन, तर आफ्नै सरकारले आफ्नै भविष्यको हत्या गरेको क्षण थियो। त्यो पीडा शब्दमा उतार्नै नसकिने साझा घाउमा बदलिएको थियो।
तर घटनाक्रम त्यत्तिमै रोकिन सकेन। हिजोको नरसंहारले युवाहरूको आत्मा दग्ध बनाएको थियो। सहपाठी, साथी वा छिमेकी ढलेको दृश्यले हृदय भत्काएको थियो। त्यो पीडा आक्रोशमा परिणत भयो र दोस्रो दिन आन्दोलन अझ ठूलो र तातो स्वरूपमै सडकमा आयो। यसपटक भिडमा अनुशासनभन्दा आक्रोश हावी भयो। भिड नियन्त्रण गर्ने संयन्त्र नहुँदा स्वतःस्फूर्त आन्दोलन अराजक दिशामा मोडियो। सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, पशुपतिनाथजस्ता राष्ट्रिय सम्पदामा तोडफोड मात्र भएन, आगजनीसमेत भयो। नेताहरूको घरमा आगो लगाइयो, उनीहरूलाई कुटपिट गरियो, देशका विभिन्न ठाउँमा लुटपाट भएको खबर आयो। भ्रष्टाचारविरुद्ध सुरु भएको आन्दोलन आफैं लुटपाटमा मिसिनु दुःखद थियो, तर त्यो हिजोको रगतले दग्ध आक्रोश र नियन्त्रणको अभावकै परिणाम थियो।
यथार्थ के हो भने—यी सबै अराजक गतिविधि आन्दोलनको मूल आत्मा थिएनन्। स्वतःस्फूर्त आन्दोलनमा अराजक तत्व मिसिनु स्वाभाविक थियो, अनि हिजोको रगतले थिचिएको पीडाले विवेकलाई ओझेल पारेको थियो। तर आन्दोलनको माग अझै शुद्ध थियो, बलिदान अझै सच्चा थियो। यही बलिदान र दबाबले अन्ततः सरकारलाई झुक्न बाध्य बनायो। जवाफदेही प्रक्रिया सुरु भयो, राजनीतिक परिवर्तनको बाटो खोलियो। त्यसैले यो आन्दोलन सफल भयो। युवाको बलिदान र आक्रोशले देशलाई फेरि जगाएको छ। आज हामी सबैसँग एउटा चाहना र अपेक्षा छ—अब बन्ने सरकार यस्तै रगतको मूल्यलाई बुझ्ने सरकार बनोस्।
यो आन्दोलनले देखायो कि हाम्रो युवा पुस्ता कति बहादुर छ र हाम्रो राज्य कति निर्दयी हुन सक्छ। यसले हामीलाई सम्झायो न्याय नभएसम्म दण्डहीनताको संस्कृतिलाई अन्त्य गर्न सकिँदैन।
म शाहदत प्राप्त सबै युवालाई श्रद्धाञ्जली अर्पण गर्दछु, पीडित परिवारलाई गहिरो समवेदना र घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। तर श्रद्धाञ्जली मात्र पर्याप्त छैन, हामीले न्याय सुनिश्चित गर्नुपर्छ। यो दिनलाई अब हामीले न्याय र परिवर्तनको आधार बनाउनुपर्छ।
हामीले बुझ्यौं भविष्य हामी आफैंले बनाउन सक्छौं, यदि हामी सचेत भएर उठ्छौं भने। अब हामीले संकल्प लिनुपर्छ कि कुनै पनि सरकार, कुनै पनि सत्ता हाम्रा युवाको जीवनभन्दा माथि छैन। अबको नेपाल सपनाको नेपाल होस्, अबको सरकार जनताको सरकार होस्, अबको प्रणाली न्याय र सुशासनमा टेकेको प्रणाली होस्। सबैलाई नयाँ नेपाल निर्माणको शुभकामना।