राधेश्याम उपाध्याय
कुनै कालमा पृथ्वीमा इक्षाकुको वंशमा महाभिष नाम गरेका राजा राज्य गर्दथे । उनले ठूला ठूला यज्ञ यग्ज्ञादिहरु गरेर कृति चलाएका थिए र उनी आफ्नो प्रतापले गर्दा स्वर्गका राजा ईन्द्रसँग बराबरको दूरीमा राख्दथे र स्वर्गमा बस्दथे । कुनै दिन सबै देवता सृष्टिकर्ता ब्रह्माकहाँ धर्म सभामा गएका थिए र उक्त सभामा राजा महाभिषको पनि उपस्थिति थियो । धर्मसभा चल्दै थियो कुनै कारणले भागिरथी गंगा पनि त्यहाँ आइपुगिन् । त्यसैबेला दैव संयोगले तेज गतिको हावा चलेर गंगाको चादर उडाई लग्यो र गंगा अर्धनग्न भइन् । त्यो देखेर सबै देवताहरुले आँखा चिम्ले तर राजा महाभिषले भने मोहित तथा आशक्त भएर गंगालाई नै हेरिरहे । यो देवसभामा मान्य थिएन ।
त्यसैले ब्रह्माजीले राजा महाभिष र गंगालाई श्राप दिनुभयो । राजा महाभिषलाई तिमी यो धर्मसभामा बस्न योग्य छैनौँ युवतीसँग आशक्त भयौँ जाऊ पृथ्वीमा फर्क र अर्को जुनिमा मात्र गंगालाई पाउने छौँ । जब तिमीले भागिरथी गंगालाई क्रोध गरी अपहेलना गर्ने छौ तव मेरो श्रापबाट मुक्ति पाउने छौ र तिम्रो मति सप्रनेछ । गंगाले पनि राजाको रुचि बुझिन् र सोही बमोजिम चिन्तन गरिन् ।
गंगा जब ब्रह्मासँग बिदा भई फर्किँदै थिइन् । बाटामा उनले अष्टवसुहरुलाई पृथ्वीलोकतिर खस्न लागेको देखिन् र दुःखित भई सोध्न लागिन् के पापले गर्दा यस्तो भयो पृथ्वी लोक तिर किन खस्दैछौं ? त्यो सुनेर श्रेष्ठ अष्टवसुहरुले भने हे सति हामीहरुले वशिष्ठमुनिकी नन्दीनी गाई चो¥यौं र वशिष्ठऋषिको तिमीहरु मान्छे भई जाओ भन्ने श्रापले गर्दा पृथ्वीलोकतर्फ झर्दै छौं । हाम्रो रक्षा गर र हामीलाई आफ्नो सन्तान बनाएर उद्घार गर भनेर विन्ति गरे र गंगाले पनि ब्रह्माको वचन पूरा गर्न मानव रुप लिनुपर्ने भएकाले हुन्छ त्यसै गरुँला भनिन् ।
कालान्तरमा हस्तिनापुर राज्यमा राजा प्रतीत राज्य गर्दथे । राजा ज्ञानी विद्वान र तपस्वी थिए । प्रतीतका छोरा सान्तनु भए । कुनै दिन राजा सन्तनु शिकार खेल्न गंगातिर गएका थिए । त्यही मौका छोपेर गंगा सुन्दर रुप लिएर राजासँग गइन् र आकर्षित गर्न लागिन् । राजा पनि मोहित भए दुवैमा कुराकानी भयो । राजाले विवाहको प्रस्ताव राखे गंगाले पनि मैले जहाँ जे गर्दछु त्यसमा प्रतिवाद क्रोध नगर्नु मसँग अप्रिय बोल्ने छैन भन्ने वचनबद्ध बनाएर राजासँग विवाह गरिन् । समय व्यतित हुँदै गयो । राजाका सन्तान हुन लागे जति सन्तान हुन्छन् । गंगाले नदीमा बगाउन लागिन् । किनकि गंगालाई अष्टवसुको उद्धार गर्नुपर्ने थियो । राजा वचन बद्ध थिए । जब आठौँ सन्तान भए । तिनलाई पनि गंगाले नदीमा बगाउन लागिन् । राजा सान्तनुको सिमाको बाँध फुट्यो । उनले आफ्नो सन्तानलाई बगाउन दिएनन् र विरोध गरे ।
गंगालाई त्यही समयको पर्खाई थियो । गंगाले आफूसँग भएको प्रतिज्ञा राजा तोडेको भन्दै आठौँ छोरा राजालाई जिम्मा लगाइन् र स्वर्ग गइन् । यिनै सान्तनु र गंगाका आठौँ पुत्र देवब्रतपछि गएर भीष्म पितामह भए । देवब्रतले शुक्राचार्यसँग नीति ज्ञान वृहस्पतिसँग शास्त्रादी ज्ञान र परशुरामसँग धनुर्वेद सिके र शास्त्रादीमा परिपूर्ण विद्वान ज्ञानी भए ।
कुनै एक उपरिचर नामका ज्ञानी धार्मिक राजा थिए । उनले तप गरेर चेदिको राज्य पाएका थिए । गिरीका नामकी उनकी रानी थिइन् । कुनै दिन रानीले स्नान गरी शुद्ध भई ऋतुदान मागिन् । तर राजा तुरुन्तै शिकार खेल्न जंगल जानुपर्ने भयो । उनी जंगलतिर लागे ।
जंगलमा उनले रानीको वचन सम्झे र स्खलित भए । स्खलित भएको वीर्य उनले पातमा थापे र कुनै वाजलाई रानीलाई दिनु भनेर दिए । वाजले पनि राजाको आज्ञा अनुसार उक्त वीर्य सहितको पात लिएर रानीकहाँ जाँदै थियो । यमुना नदीमाथि आइपुग्दा अर्को वाजले देख्यो । उसले खाने वस्तु भनेर झम्ट्यो र एकआपसमा लड्न थाले । वीर्य सहितको पात यमुना नदीमा खस्यो । यमुना नदीमा कुनै माछा श्राप पाएर बसेको थियो । उसले वीर्य खायो र गर्भ रहन गयो । मास पूरा हुँदै थियो उक्त माछा माझीको जालमा प¥यो । माझीले घरमा लगेर माछा चिरे र माछाको पेटबाट अति सुन्दर दुई बालबालिका देखे । माझीले ती बालबालिका राजालाई दिए । राजा बसुले माझीलाई बक्सिस दिए र बालक राखे । बालिकालाई भने माझीलाई नै फिर्ता दिए ।
कालान्तरमा ती बालक नै मत्स्यराजा भनेर चिनिन्छन् । बालिकालाई माझीले नै पाले । माछाबाट उत्पति भएर माझीका घरमा पालिएकी भएर बालिका माछाको जस्तो दुर्गन्ध आउने भइन् र उनको नाम समेत मत्स्यगन्धा रहन गयो । मत्स्यगन्धा हुर्कंदै बढ्दै गइन् । घरको सबै काम गर्ने र डुँगाबाट मानिस वारपार गराउने काम समेत गर्न लागिन् । कुनै दिन त्यही बाटो पराशर मुनि नदी तर्न आए । मुनिलाई नदी तार्न मत्स्यगन्धा नै आइन् । मत्स्यगन्धा रुपवती थिइन्, मुनि मोहित भए समागमको प्रस्ताव राखे । मत्स्यगन्धा लजाईन् र यस्तो खुला स्थानमा चारैतिरबाट नदी किनारका मानिसले हेरिरहेका छन् । मलाई लाज लग्दछ कसरी भोग गर्नु हुन्छ भनिन् । मुनि प्रतापी थिए । आफ्ना योगबलले तुरुन्तै कुहिरो उत्पन्न गरी ढाकिदिए र समागमका लागि तयार भए । मत्स्यगन्धा सकसमा परी विन्ति गरिन् । हे मुनि म कन्या छु । पिताका अधिनमा छु । यो कामबाट गर्भ रहन जाला मैले के भन्ने ? लाजबोध भएर बस्नुभन्दा मैले मर्नुपर्ने छ भनिन् । मुनि परासरले मेरो मनोरथ पूर्ण ग¥यौ भने । तिमी कन्या नै रहने छौ । बूढी हुनुपर्ने छैन ।
यो मत्स्य दुर्गन्ध सबै हटेर जाने छ । एक योवन भरी वास्ना आउने सुगन्धित हुने छौ भन्ने वरादान दिए । आफ्नो मनोकामना पूरा गरी मुनि आफ्नो गन्तव्य स्थानतर्फ गए । तत्काल कन्याबाट व्यासको जन्म हुन्छ र आमा मेरो आवश्यक परेकोबेला मलाई सम्झनु होला, म आउनेछु भनेर सालनालैसँग जंगलतर्फ लाग्छन् । तिनै व्यासले हिन्दू सनात धर्मको वेदलाई चार भागमा विभाजन गरेकाले व्यासलाई कृष्ण द्वैपायन पनि भनिन्छ । मुनि परासरका वरदानले मत्स्यगन्धा कन्या नै रहन्छिन्, सुगन्धित हुन्छिन् । व्यासकी आमा सत्यवती कहलिन्छिन् ।
केही समयपछि राजा सन्तनुको भेट सत्यवतीसँग हुन्छ । सत्यवतीसँग मोहित हुन्छन र विवाहको प्रस्ताव लिएर सत्यवतीका बाबु दास पति (जो मानिसलाई नदी तार्ने र माछा मारेर जीविका चलाउने काम गर्दथे)सँग गए । दुवैबीच कुराकानी भयो । दासपतिले आफ्नो छोरीको छोरा नातिले राजगद्दी पाउने भए छोरी दिने नत्र नदिने प्रस्ताव राखे ।
यस्तो अचम्मको प्रस्ताव सुनेर राजा चकित र चिन्तित भएर घर फर्के । राजा चिन्ताले ग्रस्त भई दुब्लाउँदै गए । बाबु चिन्तित भई दुब्लाउँदै गएको छोरा देबव्रतले देखि कारण पत्ता लगाई तत्काल दासपति सामू गए । छोरी आफ्नो बाबुलाई दिन माग गरे । दासपतिले देवब्रतलाई पनि आफ्नो उही कुरा भने । मेरो नाति राजा हुन पाउने भए मात्र छोरी दिन्छु भने । यस्तो दासपतिको कुरा र उता बाबुको अवस्था देखेर देवब्रतले तत्काल भने मैले विवाह गर्ने छैन । राज्यभोग गर्ने छैन म ब्रह्मचारी नै बस्नेछु । तिम्रो नाति नै राजा हुनेछ भन्ने प्रतिज्ञा गरे । देवब्रतबाट भीष्म प्रतिज्ञा गरेकाले उनि भीष्म नामबाट प्रख्यात भए । यसरी सन्तनुसँग सत्यवती (मत्स्यगन्धा)को विवाह भयो । राजा सन्तनु खुशी भएर छोरालाई धेरै आशीष दिए । इच्छा मृत्युको वरदान दिए । उनको नाम संसारमा प्रख्यात भयो । गंगाको छोरा भएकाले उनलाई गाङ्गेय पनि भन्न लागियो । राजा सन्तनु र सत्यवतीका दुई सन्तान भए । चित्राङ्गद र विचित्रवीर्य । केही वर्षपछि राजा सन्तनुको मृत्यु भयो र भीष्मले आफ्नो प्रतिज्ञा वमोजिम सत्यवतीको जेठो छोरा चित्राङ्गदलाई राजा बनाई आफू संरक्षक भई बसे । केही वर्षपछि राजा चित्राङ्गदको चित्रागद् गन्धर्वसँगको युद्घमा मृत्यु भयो । त्यसपछि सानै भए पनि उनका भाई विचित्रवीर्य राजा बनाइयो ।
त्यसै समयमा काँशीराज राजाले आफ्ना तीन छोरी अम्बा, अम्बिका, अम्बालिकाको विवाहका लागि स्वयम्बरको आयोजना गर्दछन् । पृथ्वीका सबै राजालाई खबर गर्दछन् । त्यो खवर हस्तिनापुरमा पनि आउँछ ।
क्रमशः ...