स्वार्थपरक राजनीति र सामाजिक परिवर्तन

विनोद पोख्रेल

सक्षम नेतृत्व भएन भने राष्ट्रले दुःख पाउँछ । हुन त यो कुरो सबै क्षेत्रमा काम लाग्छ । नेतृत्व सबै ठाउँमा सक्षम नै चाहिन्छ । तर अहिले मेरो मनमा उठेको प्रशंग भने राष्ट्रसँग सम्बन्धित भएकोले मैले राष्ट्रले दुःख पाउने कुरा गरेको हुँ । साच्चै भन्ने हो भने धेरै जस्तो राज्य व्यवस्थाको राम्रो वा नराम्रो परिणाम समेत नेतृत्वको क्षमतामा भर पर्ने गर्छ । राजनीतिका पनि आफ्ना मान्यता हुन्छन् । निश्चित अनुशासन हुन्छ । प्रष्ट लक्ष्य हुनुपर्छ र त्यसको लागि प्रतिबद्धता हुनुपर्छ । तर वतृमान नेपालको राजनीतिमा यस्तो केही चाहिँदैन जस्तो देखिन्छ ।

केही समय दुइतिहाईको सरकारको दाबी गरियो । अहिले पनि ठूलो वहुमतको सरकार छ । यत्रो जनादेश पाएको सरकारले आम नेपालीलाई शिक्षा, स्वास्थ्य, पिउने पानीजस्ता आधारभूत आवश्यकताको जिम्मा लिन समेत सक्दैन । यस्ता कुराहरु समेत बजारको जिम्मा लगाएर अलि धेरै ठूला कुरोका सपना देख्ने चरित्र राजनीतिमा घुसेको छ । दुःख त यस कुराको छ कि वैकल्पिक शक्ति भन्ने यहाँ भएको जस्तो नै लाग्दैन । दलका नामहरु जे होऊन् सबै एउटाले जे ग¥यो त्यही अझ बढी गरेर सस्तो लोकप्रियता हत्याउन सकिन्छ भन्ने सोचले ग्रस्त छन् ।

मेले छुट्टाछुट्टै विषय उठान चाहन्न तर जनताको अति सानो आवश्यकता समेतमा सरकारहरुले ध्यान दिन चाहेनन् वा सकेनन् । यो या त राजनीतिक अक्षमता हो या त जनताप्रति जिम्मेवार हुन नसकेको, नजानेको, चनाहेको हो । सबैभन्दा ठूलो अक्षमता त्यसबेला देखिन्छ जब प्रजातन्त्रमा ‘रुल अफ ल’ को अवमूल्यन गरिन्छ । यहाँ बिना नियम वा बिना संविधान सहमतिको नाममा समेत देश चल्यो । तर नियमको जहाँसम्म प्रश्न छ त्यो बनाउने ढिलो गर्ने र बनेको नियमसमेतको निष्पक्ष प्रयोग नुहने कुरा सामान्य भएको छ । नियमहरु आफूले पनि मान्नुपर्छ भन्ने सोच नै नभए जसरी नियम बनाइन्छन् ।

मानौ यिनी नियमहरुको भरमा आफ्नो प्रतिद्वन्द्वीलाई फसाउने र ठेगान लगाउने मात्रै हो । सधैँ आफू नै सत्तामा बस्ने हो र आफू अब कहिल्यै जनता हुन नपर्ने हो । उदाहरणकै रुपमा लिने हो भने अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देजको प्रमुख वर्तमान सरकारमा बस्नेलाई पनि त पर्ने हो । तर त्यस्तो नगर भन्दा विरोधको रुपमा मात्रै बुझेको जस्तो गर्छन् । यति ठूलो परिवर्तनहरु भए नेपालमा । त्यसको एउटा महत्वपूर्ण कारण अभिव्यक्ति स्वतन्त्रताको प्राप्ति पनि हो । अभिव्यक्ति स्वतन्त्रता संविधानले स्वीकार गरेको कुरा पनि हो । तर त्यसैमाथि प्रहार भनौ वा नियन्त्रणको प्रयास भइरहेको छ । त्यो पनि आफूलाई ठूलो परिवर्तनकारी भनेर दाबी गनेहरुबाट ।

जनताले शुद्ध पिउने पानी सजिलोसँग पाउनुपर्छ भन्ने कुरातर्फ ध्यान जानुपर्ने अथवा अभिव्यक्तिमा लगाम लगाउनुपर्छ भन्नेमा जोड दिनुपर्ने कुन चाहिँ विषय वर्तमान सरकारको प्राथमिकतामा हुनुपर्ने हो ?
२०७६ माघ २४ गते

प्रकृति पनि गजवको छ । कसैलाई केको चाक छ कसैलाई केको । केही म जस्ता पनि छन् । धेरै कुरामा चाख राख्न खोज्ने तर पूर्ण केहीमा पनि हुन नसक्ने । फेरि अर्को तर्क पनि छ । पूर्णता भनेको के हो ? यसको सीमा पनि कहिल्यै निर्धारण हुने छैन । बरु मैले पूर्णता पाएजस्तो लाग्छ ।

मैले राजनीतिमा जहिल्यैदेखि चाख राखेँ त्यतिबेलादेखि देश कसैको विर्ता होइन कसैको अधिनायकवादले मानव समाजको कल्याण गर्दैन । केही भौतिक विकास होला तर कुण्ठायुक्त जीवन बाँच्न व्यक्ति वाध्य हुन्छ । मौका र वातावरण पाउने हो भने आफ्नो बारेमा र आफ्नो वरिपरिको बारेमा स्वतन्त्र व्यक्तिले जति न त अरु कसैले सोच्न नै सक्छ न त गर्न सक्छ । त्यसकारण व्यक्ति स्वतन्त्र र सषम गर्नुपर्छ । तर सामाजिकलगायतका अनुशासनहरु नाघ्नु हुँदैन । अन्यथा त्यो स्वच्छन्दता हुन्छ । त्यस्तै समाज परिवर्तनशील छ । यो विभिन्न कारणले सबै पक्षमा परिवर्तित हुन्छ । यसलाई आफ्नो कल्पना र आफ्नो स्वार्थ अनसार परिवर्तन हुन नदिनेहरु पनि मासिन्छन् र चाँडो परिवर्तन गराउन खोज्नेहरुले पनि दुर्घटना नै ल्याउँछन् । तर परिवर्तनलाई सहज रुपमा लिन सक्नुपर्छ भन्ने सोच आज पनि छ ।

राजनीतिक व्यवस्था भनौँ अथवा राज्य सञ्चालन व्यवस्थाको हकमा समाज जति सचेत हुन्छ त्यति नै धेरै सहभागिताको दाबी गर्छ । त्यस कारण सहभागितालाई स्वीकार गर्नुपर्छ । यसको लागि व्यक्ति र विचार दुवैको सहभागिता आवशयक हुन्छ । राज्य सञ्चालन गर्नेको निश्चित लक्ष्य हुनुपर्छ । त्यो प्राप्त गर्न पनि सबैको सहभागिता नै आवश्यक पर्छ । त्यसकारण बहुलवादी, वहुदलीय प्रजातान्त्रिक व्यवस्था वर्तमान युगमा आवश्यक छ भन्ने मान्यताको भरमा सोच बन्यो । यो यथावत छ । त्यो मान्यताकै आधारमा राज्य व्यवस्था स्थापित पनि भएकै हो । मेरो राजनीतिक सोचको सीमा वा भनौ पूर्णता यही हो । त्यही भएर मैले मेरो सोचले पूर्णता भएको अनुभव गरेको छु । विकृति भिœयाउने, आफ्ना व्यक्तिगत महत्वकांक्षा र स्वार्थहरुमा सीमित हुने, अझ भनौँ सत्ता प्राप्त गर्ना साथ तानाशाह बन्ने विकारयुक्त भावनाले गरिने गल्तीहरुबारे मलाई कुनै सरोकार छैन । अहिले यस्तै भावना र यस्तै सोचको बोलवाला छ । त्यही कारणले देश दूरावस्थामा छ । यो पनि मैले स्वीकार गर्छु । ड्राइभर असक्षम भयो भने दुर्घटना निश्चित छ, यो पनि सर्वमान्य कुरा हो । तर मैले जे सोचेको हुँ त्यो पुगेको हो । धानेर खान नसक्नेहरुले न त आफूलाई बचाउन सक्छन् न त देशलाई व्यवस्थित गर्न सक्छन् ।

त्यसकारण थोरै आश त्यो पनि कोही राम्रो नेतृत्व आउला भन्ने आश र धेरै निरपेक्षतामै म बाँचेको छु । त्यसैले मलाई अरुजस्तो चिन्ता छैन । समाजको अन्य पक्षमा आएको परिवर्तनले बरु केही कुरामा अलि गम्भीर बनाउँछ । खास गरेर समाज टुक्राउने वा सामाजिक सद्भाव बिगार्ने गतिविधिहरु बढेको देख्दा केही पीडा महशुस हुन्छ ।
२०७६ माघ २५ गते