धनपतीको खुद नाफा १५ लाख बढी

गोरक्ष समाचारदाता
दाङ,२१ भदौ । घोराही उपमहानगरपालिका–१५ सरस्वती टोलमा रहेको धनपती बचत ऋण सहकारी संस्था लिमिटेडले गतआर्थिक बर्षमा खुद नाफा १५ लाख बढी गरेको छ । शनिवार घोराहीमा भएको सहकारी सस्थाको १५ औं बार्षिक साधारणसभामा सहकारी सस्थाका अध्यक्ष बल्लु शर्माले आर्थिक बर्ष २०८१÷०८२ मा सहकारीले खुद नाफा १५ लाख ३२ हजार पाँच सय ५ रुपैया गरेको जानकारी गराएका हुन ।

सहकारीका अध्यक्ष शर्माका अनुसार संस्थाले ७९ लाख ४७ हजार तीन सय ४८ रुपैया कुल आम्दानी गरेको छ भने पाँच करोड १७ लाख ३२ हजार ९६ रुपैया ऋण लगानी गरेको छ । कुल शेयर ६५ लाख दुइ हजार दुइ सय रुपैया रहेको सहकारीको चार करोड ९५ लाख ३६ हजार पाँच रुपैया निक्षेप रहेको छ । पाँच सय २९ जना पुरुष र चार सय ३९ जना महिला गरेर नौ सय ६८ जना शेयर सदस्य रहेको सहकारीले एक बर्षको अवधिमा ६१ लाख ४४ हजार चार सय एक रुपैया खर्च गरेको छ ।

सहकारी सस्थाका अध्यक्ष बब्लु शर्माको अध्यक्षतामा भएको साधारणसभामा बोल्दै घोराही उपमहानगरपालिका सहकारी प्रवद्र्धन शाखा प्रमुख प्रेम केसीले सहकारीको मापदण्ड पालना गरेर काम गर्नुपर्ने बताए । प्रमुख प्रशिक्षण समेत रहेका केसीले सहकारी सस्थामा सुधार गर्दै शेयर सदस्यको हितका लागि काम गर्नका लागि राष्ट्रिय सहकारी प्राधिकरणले जारी गरेको निर्णय अनिवार्य रुपमा पालना गर्नुपर्ने बताए ।

जिल्ला सहकारी संघका सचिव इन्द्रबहादुर बुढाथोकीले फजुल खर्चबाट सहकारी सस्थालाई बचाउने गरि गतिविधि सञ्चालन गर्नुपर्ने बताए । सहकारीको अहिलेसम्मको अवस्था सन्तोषजनक रहेको भन्दै बचतकर्ताको लगानीलाई सुरक्षित गर्दै सहकारी सस्थामा लाग्न आग्रह गरेका थिए । साधारणसभामा सस्थाका उपाध्यक्ष खगेश्वर पौडेलले सहकारी शिक्षासम्वन्धी प्रशिक्षण दिएका थिए । बार्षिक साधारणसभामा बोल्ने अन्य बक्ताहरुले सहकारी सस्थाले लगानीकर्ताको बचतलाई सुरक्षित गर्ने गरि लगानी गर्नुपर्ने, समान उद्देश्यका एकभन्दा बढी सहकारी सस्थामा सदस्य नहुने र शेयर सदस्यहरुले सहकारी सस्थाले गर्ने गतिविधिलाई ख्याल गर्नुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय सहकारी बैंकका प्रवन्धक प्रदीप भट्राइले प्रशिक्षण मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा सस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष बब्लु शर्मा, सांगठनिक प्र्रतिवेदन सचिव मधुसुदन भट्राई, आर्थिक प्रतिवदेन कोषाध्यक्ष बसन्त पोखेल, लेखा सुपरीवेक्षणको प्रतिवेदन लेखा सुपरिवेक्षण समिति संयोजक कुमार केसी, ऋण उपसमितिको प्रतिवेदन संयोजक कृष्णकुमार न्यौपाने र शिक्षा उपसमितिको प्रतिवेदन संयोजक उषा सुवेदीले प्रस्तुत गरेर छलफल भएको थियो । साधारणसभामा उत्कृष्ठ दैनिक बचतकर्ता हिरा भण्डारी पौडेल, मासिक बचत कर्ता माधवप्रसाद अधिकारी, बाल बचतकर्ता नियन्ता चौधरी, जेष्ठ बचतकर्ता मालवती शर्मा, असली ऋणी मनोजकुमार कशोधन र फरक क्षमताका नियमित बचतकर्ता दिन महमदलाई सम्मान सम्मान गरिएको थियो । लेखा सुपरिवेक्षण समिति सदस्य नारायण पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मधुसुदन भट्राईले गरेका थिए ।