विद्यालय तहदेखि नै खेल पूर्वाधार आवश्यक

गोरक्ष समाचारदाता
दाङ, २० भदौ । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले खेलकुद क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादनका लागि विद्यालय तहदेखि नै खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

नेपाल हाप्किडो संघको आयोजनामा दाङको घोराही उपमहानगरपालिका–१० अम्राईस्थितमा भएको ‘स्कुल टु वल्र्ड च्याम्पियनसिप’ कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष आचार्यले स्वास्थ्य,अनुशासन र पहिचानसँग जोडिएको खेलकुद क्षेत्रको विकासका लागि विद्यालय तहदेखि नै ध्यानदिनुपर्ने बताए । मदन भण्डारी स्पोर्ट एकेडेमीका अध्यक्ष समेत रहेका परिषदका अध्यक्ष आचार्यले भने,‘खेललाई तल्लो तहदेखि नै लगानी र प्राथमिकता दिइयो भने प्रतिभावान खेलाडी उत्पादन गर्न सकिन्छ । त्यसले खेलाडीको नाम र पहिचानसँगै अन्तराष्ट्रियस्तरमा नेपालको नाम बढाउने काम गर्नेछ ।’

हाप्किडो संघले सुरु गरेको स्कुल टु वल्र्ड च्याम्पियनसिप कार्यक्रम स–साना भर्खर खेल क्षेत्रमा लागेका खेलाडीलाई अघि बढाउनका लागि महत्वपूर्ण कार्यक्रम भएको भन्दै उनले यस्ता प्रतियोगिताले खेलाडीलाई अघि बढ्न हौसल्ला प्रदान गर्ने बताए । खेलकुदमा अघि बढ्नका लागि शिक्षा महत्वपूर्ण हुने भएकाले शिक्षालाई नछोड्न समेत आग्रह गरे । उनले भने,‘खेलले स्वास्थ्य बनाउनका साथै पढाइमा सहयोग गर्ने गर्दछ ।

त्यसैले खेलकुदका लागि शिक्षालाई छोड्ने होइन, शिक्षा र खेलकुदसँगसँगै अघि बढाउनुपर्छ ।’ अहिले विद्यालय वा डोजाङमा खेल्दै गरेका साना खेलाडी जिल्ला, प्रदेश, राष्ट्र हुँदै भविष्यमा अन्तर्राष्ट्रियस्तरमा खेल्ने खेलाडी बन्न सक्ने भएकाले निरन्तर रुपमा खेलकुदका क्षेत्रमा लाग्नुपर्ने बताए । नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीले दाङबाट सुरुभएको स्कुल टु वल्र्ड च्याम्पियनसिप कार्यक्रमलाई देशका सातवटै प्रदेशमा सञ्चालन गरिने बताउनुभयो । खेलाडीहरुलाई नयाँ कुराका जानकारीसँगै मोर्टिभेशन गर्न आवश्यक रहेको भन्दै स्कुल टु च्याम्पियनसिप कार्यक्रमले शिक्षासँगै खेलकुदलाई अघि बढाउन सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले खेलकुदले शारीरिक र मानसिक विकासका साथै अनुशासन सिकाउने भन्दै खेलाडीलाई खेलकुदसँगै शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गरेका थिए । कार्यक्रममा दाङ जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख राकेश परिवार, दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवं बयलडाँडा चौतारी क्लबका अध्यक्ष नारायणप्रसाद भुसाललगायतले मन्तव्य गरेका थिए । दाङ जिल्ला हाप्किडो संघका सचिव विशाल थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गरेकी थिइन । कार्यक्रमा जिल्लाका विभिन्न डोजाङका खेलाडीहरुको सहभागीता रहेको थियो ।