गोरक्ष समाचारदाता
दाङ, १९ भदौ । निजामती कर्मचारी देशका स्थायी सरकारसँगै जनताका सेवक भएको कार्यक्रमका सहभागीले बताएका छन । नेपाल निजामती कर्मचारी युनियनको ३५ औं स्थापना दिवसका अवसरमा बिहीबार घोराहीमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरूले कर्मचारी देशका स्थायी सरकार भएकाले जनतालाई सहज रुपमा सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका रहनेमा जोड दिएका हुन ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले कर्मचारी स्थायी सरकार भएको भन्दै सरकारका नीति नियमलाई पालना गर्दै जनतालाई छिटो र छरितो रूपमा सेवा प्रवाहमा ध्यानदिन आग्रह गरेका छन् । जनतामा पछिल्लो समय कर्मचारी, जनप्रतिनिधि र राजनीतिक नेतृत्वप्रति वितृष्णा बढेको भन्दै त्यसलाई कम गर्नका लागि कर्मचारीको महत्वपूर्ण भूमिका हुने भन्दै सभापति डाँगीले भने,‘जनताको चाहना राज्यले प्रदान गर्ने सेवा सुविधा सहजै प्राप्त हुन भन्ने हो । त्यसका लागि राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ । कर्मचारीले विशेष रुपमा ध्यान दिनुपर्छ।’

कार्यक्रमका प्रमुख अतिथि रहेका सभापति डाँगीले वर्तमान उपलब्धि प्राप्त गर्नका लागि राजनीतिक नेतृत्वसँगै कर्मचारी तन्त्रको महत्वपूर्ण भूमिका रहेकाले त्यसलाई बचाउनका लागि पनि कर्मचारीले नागरिकमैत्री भूमिका खेलन आवश्यक रहेको बताएका हुन । नेपाली कांग्रेस कर्मचारीहरुकै पक्षमा विगतदेखि रहेको भन्दै जिल्लामा पर्ने समस्या समाधानका लागि सधै साथ, सहयोग र सहकार्य रहने बताए ।
नेपाल निजामती कर्मचारी युनियन दाङका अध्यक्ष शरद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले सुशासन कायम गर्दै भ्रष्टाचार मुक्त सेवा बनाउनका लागि कर्मचारीको महत्वपूर्ण भूमिका हुने बताए ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले युनियनमा आबद्ध कर्मचारीलाई पेशागत हकहितसँगै नागरिकले दुःख नपाउने गरी सेवाग्राही मैत्री सेवा प्रवाहमा ध्यानदिनुपर्ने बताए । कर्मचारीले आफ्नो व्यक्तिगत व्यवहार,पोशाक र आचरणमा ख्याल गर्दै सेवामैत्री व्यवहार गर्न सकेमा कर्मचारीलाई हेर्ने नागरिकको दृष्टिकोणमा परिवर्तन आउने र त्यसले कर्मचारीको शिर उच्चो बनाउन भूमिका खेल्ने बताएका थिए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष बामदेव शर्मा, नेपाल निजामति कर्मचारी युनियनकी केन्द्रीय सदस्या सरस्वती रेग्मी, अधिकारिक ट्रेड युनियन दाङका अध्यक्ष यमनारायण सापकोटा, नेपाल निजामति कर्मचारी युनियन दाङका सस्थापक अध्यक्ष तुलसी गिरी, सेवा निवृत कर्मचारीकातर्फबाट युनियन दाङका सल्लाहकार किशोर आचार्यलगायतले मन्तव्य व्यक्त गर्दै कर्मचारीलाई पेसागत हकहितसँगै जनताको सेवालाई प्राथमिकतामा राख्दै काम गर्न आग्ह गरेका थिए ।
नेपाल निजामती कर्मचारी युनियनको आयोजना तथा रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा सेवानिवृत्त कर्मचारीहरूलाई सम्मान गरिएको थियो भने अन्य जिल्लाबाट सरुवा भएर दाङ आउनुभएका कर्मचारीलाई स्वागत गरिएको थियो । नेपाल निजामति कर्मचारी युनियन दाङका उपाध्यक्ष गायत्री थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बाशु खनालले गरेका थिए ।